कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले समयमा उखुको मूल्य नतोक्दा किसानले उखु काट्न पाएनन्

रौतहटका किसान सस्तोमा बेच्दै
देवनारायण साह

मोरङ — सरकारले समयमा उखुको मूल्य नतोक्दा किसानले उखु काट्न पाएका छैनन् । उखु काट्न भएको ढिलाइले खेतमै उखु फुल्न थालेको छ । उखु फुलेपछि तौल कम हुने भएकाले किसान चिन्तित भएका छन् । 

सरकारले समयमा उखुको मूल्य नतोक्दा किसानले उखु काट्न पाएनन्

सुनसरीको देवानगन्ज गाउँपालिका ५ का कृषक सुबोधकुमार यादवले सरकारले उखुको मूल्य समयमै नतोकेकाले तीन बिघा जग्गामा लगाएको उखु काट्न नपाएको गुनासो पोखे । ‘समयमा उखु काट्न नपाउँदा यस वर्ष घाटा हुने निश्चित छ,’ उनले भने, ‘समयमै उखु काट्न नपाउँदा खेतमै फुल्न थालेकाले तौल कम हुन्छ ।’


उनले तीन बिघामध्ये डेढ बिघामा ‘सीओ ०२३८’ र डेढ बिघामा ‘सीओएस ८८२३०’ प्रजातिको उखु लगाएको बताए । ‘यसपालि खेतमा राम्रो उखु सप्रेकोले राम्रो मूल्य पाउने आशा थियो,’ उनले भने, ‘सरकारले मूल्य तोक्न गरेको ढिलाइले घाटा लाग्ने भयो ।’


उनी जस्तै देवानगन्ज २ का सबुल अन्सारीले पनि साढे ४ बिघामा लगाएको उखु काट्न ढिलाइ भएको गुनासो पोखे । ‘प्रतिकट्ठा ५०/६० क्विन्टल उखु फल्ने जात यस वर्ष लगाएकाले राम्रो आम्दानी हुने आशा थियो,’ उनले भने, ‘मैले प्रतिबिघा ४० हजार वार्षिक बुझाउने गरी खेत भाडामा लिएर उखु लगाएको छु ।’ उखु काट्न जति धेरै ढिलाइ हुन्छ त्यति नै धेरै घाटा लाग्ने उनले गुनासो पोखे ।


उनले मंसिर अन्तिमबाट उखु काट्न सुरु गर्नुपर्ने हो तर आधा पुस बितिसक्दा पनि सरकारले मूल्य नतोक्दा उखु काट्न सुरु गर्न नसकेको बताए । उनीहरू जस्तै प्रदेश १ का सुनसरी, मोरङ, झापाका किसान उखु काट्न नपाएर छटपटी रहेका छन् । किसानलाई समयमै उखु बेचेर ऋण तिर्नुका साथै अर्को सिजनको उखु खेतीमा समेत असर पर्ने चिन्ताले पिरोलेको छ ।


यहाँ किसानहरूले सुनसरीको बर्जु गाउँपालिका ५ स्थित इस्टर्न सुगर मिल्समा उखु बिक्री गर्दै आएको छ । मिल्सका प्रमुख उखु प्रबन्धक सुरेशप्रसाद मेहताले सरकारले कात्तिकमै उखुको मूल्य तोकेर मंसिरदेखि मिल सञ्चालन हुनुपर्नेमा आधा पुस बित्न लाग्दा पनि मूल्य नतोकेको बताए ।


‘सरकारले समयमा उखुको मूल्य नतोक्दा कृषकलाई घाटा लाग्छ,’ उनले भने, ‘कृषकले उखु

नकाट्दा मिल पनि सञ्चालन हुन पाएको छैन ।’ मिल सञ्चालनका लागि तयारी अवस्थामा रहेको तर सरकारले उखुको मूल्य नतोकेकाले सञ्चालन गर्न नपाएको उनले बताए । मिलमा दैनिक ३० हजार क्विन्टल र एक सिजनमा ३० लाख क्विन्टल उखु क्रसिङको क्षमता रहेको छ ।


‘गत वर्ष पाकिस्तानबाट आयात भएको चिनीले मिलमा उत्पादन भएको चिनी बिक्री हुन नसकेकाले पनि समस्या भएको छ,’ उनले भने, ‘मिलमा अहिले पनि गत वर्ष उत्पादन भएको तीन हजार टन चिनी बिक्री हुन बाँकी नै रहेको छ ।’ चिनी गोदाम खाली नभएकाले यस वर्ष उत्पादन गरेर राख्ने ठाउँसमेत अभाव रहेको मेहताले बताए ।


उनले विराटनगर देवानगन्ज सडकमा हालेको ग्रोभेल ठेक्केदारले ग्रेडिङ नगरिदिएकाले पनि मिल सञ्चालनमा समस्या हुने भएको बताए । सडकमा उखु लोड भएको सवारी चल्न सक्ने अवस्था नरहेको उनले बताए । सरकारले गत वर्षप्रति क्विन्टल ५ सय ३१ रुपैयाँ उखुको मूल्य तोकेको थियो । इस्टर्न सुगर मिल्सले किसानलाई मिल घाटामा गएको भन्दै प्रतिक्विन्टल ५ सय १ रुपैयाँमा मात्रै खरिद गरेको थियो । मिल्सले यस वर्ष पनि उखु कम मूल्यमा बिक्री गर्न कृषकसँग पहल गरिरहेको छ ।


उखु काट्ने समयमा मिल्सका सञ्चालकद्वय हितेश गोल्छा र विशाल अग्रवालले कृषक प्रतिनिधिसँग वार्ता गरेर सस्तोमा उखु बिक्री गर्न आग्रह गर्दै आएका छन् । उनीहरूले कृषकलाई प्रतिक्विन्टल ३ सय ८५ रुपैयाँमा उखु बिक्री गर्न आग्रह गरेका थिए तर कृषकहरूले गत वर्ष सरकारले तोकेको ५ सय ३१ रुपैयाँभन्दा कम मूल्यमा उखु नबेच्ने अडान लिएको छ ।


‘मोरङ र सुनसरी २ जिल्लाका २ हजार १ सय कृषकले गत वर्ष मिल्सलाई ११

लाख ७८ हजार क्विन्टल उखु बिक्री गरेका थियौं,’ कोसी उखु उत्पादक संघका

अध्यक्ष शिवलाल चौधरीले भने, ‘यस वर्ष २ हजार ४ सय कृषकले गरेको उखु खेतीबाट १५ लाख क्विन्टल उत्पादन हुने भएको छ ।’


सस्तोमा बेच्दै

शिव पुरी (रौतहट)

घरखर्च टार्न कठिन भएपछि वृन्दावनस्थित हरसाहाका किसान सुकदेव साह मिठ्ठा (सक्खर) उद्योगमा उखु बिक्री गर्न सोमबार सुन्दरपुर पुगे । त्यहाँ एक दर्जन सख्खर उत्पादन गर्ने मिल छन् । गरुडा चिनी मिल सञ्चालन नभएपछि किसान छटपिटएर खाडसारी (साना उद्योग) लाई उखु बिक्री गर्न बाध्य भएका हुन् । मंसिरमै सञ्चालन हुनुपर्नेमा मूल्य निर्धारणमा कुरा नमिले पछि अझै मिल बन्द छ । किसानको खेतमा भने उखु सुक्न थालेको छ ।


‘यो बेला मिल नचले कहिले चल्छ ?’ साहले भने, ‘खेतमा उखु सुक्न थालिसक्यो । मूल्य कहिले तोक्ने हो । घरको गर्जो टार्न समस्या भएको छ ।’ चिनी मिलको भरपर्दा समस्या हुने भन्दै उनले सुन्दरपुरमा रहेको खाडसारीमा उखु बिक्री गर्ने निधो गरे ।


साह जस्तै धेरै किसानको समस्या उस्तै छ । मिल सञ्चालन हुनुपर्ने समय एक महिना बढी हँुदा किसानको खेतको उखु सुक्न थालेको हो । किसानले प्रतिक्विन्टल ५ सय ३१ रुपैयाँमा बिक्नुपर्ने माग अघि सारेपछि सहमति हुन सकेको छैन । यसको प्रत्यक्ष मारमा किसान परेका छन् ।

उखुलाई नगदेबालीका रूपमा लिइन्छ । पछिल्लो समय गरुडा चिनी मिलले भुक्तानी उधारो राखेपछि किसानलाई समस्या पर्दै आएको छ । उनीहरू अहिले ३ सय रुपैयाँ प्रतिक्विन्टलमा मिठ्ठा उद्योगलाई उखु बेच्न बाध्य छन । खाडसारीले दिने भुक्तानीबाट उखुको लगानी उठ्न नसकेको किसानको गुनासो छ ।


गरुडा चिनी मिल मंसिरमै डोंगा पूजा गरी सञ्चालन हुनुपथ्र्यो । पुसमा पूजा गरिए पनि सञ्चालन हुन सकेको छैन । सञ्चालनको समय एक महिना ढिला हुँदा किसान छटपिटएका छन् । उखु उत्पादक किसान संघका अध्यक्ष अशोक यादवले मिल सञ्चालन नहुँदा किसानलाई समस्या परेको बताए । ‘चाँडै मूल्य तोकेर मिल सञ्चालन गर्नुस् भनेका हौं,’ उनले भने, ‘उद्योग सञ्चालकहरू चुप छन् ।


सहमतिकै कारण किसानले सास्ती भोग्नुपरेको छ ।’ गरुडा चिनी मिल ०५० मा मिल्सको स्थापना भएको हो । छिमेकी बारा, पर्सा, सर्लाही र रौतहटका किसानको उखु क्रसिङ गर्ने मिल्सको उदेश्य रहेको छ । पछिल्लो समय सोचेजस्तो क्रसिङ गर्न सकेको छैन । सुरुका वर्षमा २५ लाखभन्दा

बढी क्विन्टल उखु क्रसिङ गरेको थियो ।


मिलले नयाँ र पुरानो गरी झन्डै १५ करोड रुपैयाँ किसानको भुक्तानी गरेको छैन । किसानले उखु बिक्री गरे बापत गत वर्षको डेढ करोड र त्योभन्दा अगाडिको साढे १३ करोड मिलले भुक्तानी दिन बाँकी राखेको संघले जनायो ।


जिल्लामा करिब १० हजार बिघा जमिनमा किसानले उखु खेती गरेका छन् । ६ हजार उखु खेतीमा निर्भर छन् । मिसले यो वर्ष करिब २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको जनायो । उद्योग सञ्चालनका लागी सम्पूर्ण कार्य पूरा गरे पनि उखु खरिद प्रक्रियाको दररेट तय हुन नसकेकाले सञ्चालनमा ढिला हुन गएको मिलका जीएम पीके झाले बताए ।

प्रकाशित : पुस १८, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?