१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

५ महिनामा ३२ करोड ५० लाख रुपैयाँको सुन्तला आयात

अफ्रिकादेखि भारतीय सुन्तला आयात
भारतीय सस्तो
राजु चौधरी

काठमाडौँ — पछिल्लो ५ महिनामा ६६ लाख २९ हजार किलो सुन्तला आयात भएको छ । उक्त सुन्तला खरिदमा ३२ करोड ५० लाख रुपैयाँ बिदेसिएको भन्सार विभागले जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा परिमाण र रकम दुवै दोब्बरले बढी हो । 

५ महिनामा ३२ करोड ५० लाख रुपैयाँको सुन्तला आयात

तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ को पहिलो ५ महिनामा ३२ लाख २ हजार किलो आयात भएको थियो । उक्त सुन्तला किन्न १५ करोड ३७ लाख रुपैयाँ बाहिरिएको थियो । कृषि विभागका अनुसार ५ महिनामा मुख्यत: चाडबाडलाई लक्षित आयात भएको हो । ‘दसैं, तिहार र छठमा स्वदेशी उत्पादन हुँदैन,’ कृषि विभागका वरिष्ठ बागबानी अधिकृत नारायण काफ्लेले भने, ‘पहिलो ५ महिनामा चाडपर्व पर्ने हुँदा आयातकै भर परेको हो ।’

उनका अनुसार सुन्तला उत्पदन मंसिरदेखि पुसको अन्तिमसम्म हुन्छ । माग भने भदौदेखि हुन्छ । जसले गर्दा आयात बढेको उनको दाबी छ । ‘फलफूल खानेबानी पनि बढदै गएको देखिन्छ,’ उनले भने, ‘माग बढेपश्चात् आायात बढ्नु स्वाभाविक हो ।’

फलफूल विकास निर्देशनालयले तयार पारेको प्रतिवेदनअनुसार बागबानी विकास कार्यक्रमअन्तर्गत सुन्तला बगैंचा सुदृढीकरण कार्यक्रम जिल्ला कृषि विकास कार्यालय कास्की, पर्वत, म्याग्दी, स्याङजा, लमजुङ, पर्वत, तनहुँ, धादिङ र गोर्खा गरी १३ जिल्लामा सञ्चालन हुन्छ । कार्यक्रमको मुख्य उद्देश्य सुन्तलाको उत्पादन, उत्पादन क्षेत्रफल बढाउनु, रोजगारी बढाई आयात प्रतिस्थापन गर्नु हो । सुन्तलाको क्षेत्रफल र उत्पादन बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने बर्सेनि बढ्दै गएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै ५७ करोड ९४ लाख रुपैयाँ बराबारको १० करोड ८० लाख ६५ हजार किलो आयात भएको थियो । सुन्तला भारत, नामिबिया, थाइल्यान्डबाट आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा सबैभन्दा बढी भारतबाट ६६ लाख २८ करोड ३ सय ९४ किलो आयात भएको उल्लेख छ । उक्त सुन्तला खरिदमा ३२ करो ४८ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ ।

नामिबिया (साउथ अफ्रिका) बाट २५ हजार रुपैयाँको ५ सय ६० किलो, थाइल्यान्डबाट २ लाख १३ हजार रुपैयाँको ४ सय ४० किलो आयात भएको तथ्यांकमा उल्लेख छ । गत वर्षको ५ महिनामा भने भारत र थाइल्यान्डबाट मात्रै आयात भयो । भारतबाट १५ करोड ३५ लाख रुपैयाँको आयात भएको थियो भने १२ हजार रुपैयाँको निर्यात भएको जनाएको छ ।

आयात बर्सेनि बढे पनि सुन्तलाको उत्पादनशील क्षेत्र र उत्पादन बढ्दै गएको कृषि विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/७१ मा २५ हजार ४ सय ९७ हेक्टर (उत्पादनशील क्षेत्रफल) मा २ लाख २४ हजार ३ सय ५७ टन उत्पादन भएको थियो । आर्थिक वर्ष २०७३/७४ सम्म आइपुग्दा क्षेत्रफल बढेर ४६ हजार ३ सय २८ हेक्टर पुगेको छ । उक्त क्षेत्रफलमा २ लाख ३९ हजार ७ सय ७३ टन उत्पादन भएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

वरिष्ठ बागबानी अधिकृत काफ्लेका अनुसार २०७४/७५ मा उत्पादन र क्षेत्रफलमा थप वृद्धि भएको छ । ‘सुन्तला उत्पादन हुने क्षेत्रफल र उत्पादन बर्सेनि बढेको छ । मागअनुसार उत्पादन गर्न सकिन्छ,’ उनले भने । उनका अनुसार सुन्तला मध्य पहाडी क्षेत्रमा उत्पादन हुँदा ढुवानीमा कुनै समस्या हुँदैन । पर्याप्त मात्रामा उत्पादन गर्न सकिन्छ । विभागका अनुसार हाल पछौटे सुन्तला (मंसिर–पुस) मा मात्रै उत्पादन हुन्छ । उत्पादन बढाउन मध्यम (कात्तिक–मंसिर) र अगौटे (भदौ–असोज) मा पनि उत्पादन गर्न अध्ययन भइरहेको काफ्लेले बताए ।

कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले सुन्तलाको उत्पादन बढाउन विभिन्न कार्यक्रम गर्दै आएको दाबी गरे । त्यसका लागि चालु आर्थिक वर्षमा दुई वटा कार्यविधि बनाएको दाबी उनले गरे ।

‘सुन्तलाको गुणस्तरीय उत्पादन तथा उत्पादकत्व वृद्धि, फलफूल उपभोक्तास्तर बढाई सर्वसाधारणको पोषण अवस्थामा सुधार गर्ने, सम्भाव्य फलफूलमा आत्मनिर्भर/आयात प्रतिस्थापन कार्यविधि तयार पारेका छौं,’ उनले भने, ‘यसले सुन्तला तथा फलफूलको उत्पादन तथा उत्पादकत्वमा केही सुधार हुनेछ ।’ जसअनुसार निजी तथा सार्वजनिक जग्गामा फलफूलका बिरुवा रोप्ने कार्यक्रमसमेत रहेको बताए ।

किसानले भाउ पाएनन्

काफ्लेका अनुसार भारतीय सुन्तला सस्तो हुँदा स्वदेशी किसानले भाउ पाएन । ‘भारतीय सुन्तला व्यापारीहरूले प्रतिकिलो ४५ रुपैयाँमा भित्र्याए । सस्तोमा भित्रिएपछि किसानले ४५ रुपैयाँ पनि पाएनन् । किसानले बिक्री गरेनन् । मंसिरको अन्तिमसम्म स्वदेशी बिकेन,’ उनले भने, ‘अहिले किसानले न्यूनतम मूल्य ६० रुपैयाँ पाएका छन् । उपभोक्ताले भने करिब १ सय २० रुपैयाँ तिरेका छन् ।’


प्रकाशित : पुस १८, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?