२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

दूरसञ्चार प्राधिकरण : वरिष्ठलाई मन्त्रालय तानेर कनिष्टलाई जिम्मेवारी

मन्त्री र सचिव मेरो काम गर्ने तौरतरिकासँग सहज भएनन् : आनन्दराज खनाल
२० वर्षदेखि प्राधिकरणमा काम गरें, म पनि योग्य हुँ : पुरुषोत्तम खनाल
विजय तिमल्सिना

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाललाई मन्त्रालय तानेर प्रशासन तथा अनुमतिपत्र शाखा प्रमुख पुरुषोत्तम खनाललाई निमित्तको जिम्मेवारी दिएको छ ।

प्राधिकरणका कर्मचारीहरूको विनियमावलीले अध्यक्षको अनुपस्थितिमा तत्काल कार्यालयमा हाजिर रहेको वरिष्ठ कर्मचारीले निमित्त प्रमुख भई प्राधिकरणको दैनिक कार्यसञ्चालन गर्ने व्यवस्था छ । प्राधिकरण अध्यक्ष दिगम्बर झाले पुस ११ गते राजीनामा दिएपछि आनन्दराज खनाल स्वत: प्राधिकरणका निमित्त भएका थिए ।

मन्त्री र सचिव आफ्नो काम गर्ने तरिकासँग असहज भएकाले आफूलाई मन्त्रालय तानिएको आनन्दराज खनालले बताए । राजस्व लक्ष्य पूरा गर्न अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयले असार अन्तिममा प्राधिकरणको ३ अर्ब रुपैयाँ सरकारी खातामा जम्मा गर्न दिएको निर्देशन आफूले नमानेको उनले बताए ।

‘म निमित्त हुँदा असार अन्तिममा प्राधिकरणको खातामा रहेको तीन अर्ब रकम सरकारी कोषमा जम्मा गर्न मन्त्रालयबाट लिखित निर्देशन आएको थियो,’ उनले भने, ‘बोर्ड बैठकबाट निर्णय नभएको विषयमा आफ्नो अधिकार नभएको भन्दै मैले जम्मा गर्न मानिनँ ।’ उनले बजेटमार्फत सरकारले इन्टरनेटमा १३ प्रतिशत सेवा शुल्क लिने विषयमा पनि आफूले असहमति राखेको बताए ।

‘मन्त्री र सचिवसहित इन्टरनेट सेवा प्रदायकहरूसँगको छलफलमा मैले ब्रोडब्यान्ड नीति विपरीत हुने गरी सरकारले इन्टरनेटमा कर लगाएको भन्दै असहमति राखेको थिएँ,’ उनले भने, ‘त्यसैले उहाँहरूलाई मसँग सहज भएन होला ।’ ब्रोडब्यान्ड नीतिले २०१८ सम्ममा प्रारम्भिक ब्रोडब्यान्डको दस्तुर ५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।

इन्टरनेट सस्तो पार्ने लक्ष्य पूरा गर्नुपर्ने वर्षमा सरकारले इन्टरनेटमा कर बढाएर महँगो बनाएको छ । ‘म कानुनभन्दा बाहिर गएर मन्त्री र सचिवको आदेश मान्ने व्यक्ति होइन । मेरो लागि कानुन र प्रक्रिया महत्त्वपूर्ण कुरा हो,’ उनले भने, ‘कसैलाई फाइदा हुने र नहुने काम म गर्दिनँ ।’

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले आइतबार आनन्दराज खनाललाई सञ्चार विज्ञका रूपमा मन्त्रालयमा हाजिर हुन पत्र पठाएका थिए । मन्त्रालयले बुधबार पुरुषोत्तम खनाललाई अध्यक्षले गर्दै आएको आर्थिक र प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी तोकेर निमित्तको रूपमा काम गर्न पत्र पठाएको छ ।

२० वर्षदेखि प्राधिकरणमा कार्यरत रहेकाले आफू निमित्तका लागि अयोग्य नभएको पुरुषोत्तम खनालले बताएका छन् । ‘म र आनन्द सर एकै दिन वरिष्ठ निर्देशकमा बढुवा भएका हौं,’ उनले भने, ‘उहाँलाई मन्त्रालयमा विज्ञको जिम्मेवारी दिइएको छ र मलाई निमित्त तोकिएको छ ।’

आफूलाई दिइएको निमित्तको जिम्मेवारी अध्यक्ष नियुक्त नहुञ्जेलका लागि भएकाले यो ठूलो विषय नभएको उनले बताए । मन्त्रालय तानिएका आनन्दराज खनालले आफूले नियमित रूपमा मन्त्रालय गएर हाजिर गरेको भए पनि कुनै जिम्मेवारी नतोकिएको बताए । ‘मन्त्रालयमा सञ्चार विज्ञको रूपमा बोलाइए पनि कुनै जिम्मेवारी दिइएको छैन,’ उनले भने ।

यसअघि प्राधिकरणमा अध्यक्षको पद रिक्त हुँदा आनन्दराज खनालले नै निमित्तको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । उनले २०६३ सालमा ३ महिना, २०६५ सालमा एक महिना, २०६९ मा दुई वर्ष र यो वर्ष असारदेखि भदौसम्म निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

सरकारले तत्कालीन अध्यक्ष दिगम्बर झालाई बर्खास्त गर्ने निर्णय गरेपछि उनैलाई दैनिक कार्यसञ्चालन गर्ने जिम्मेवारी दिइएको थियो । सरकारले आफैंले बर्खास्त गरेको झालाई पुन: भदौ २१ मा प्राधिकरण अध्यक्ष नियुक्त गरेको थियो ।

प्रकाशित : पुस १९, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?