इलाममा लगानी सम्मेलन शुक्रबार

इलाम — लगानीकर्तालाई आकर्षण गर्ने उद्देश्यले आउँदो शुक्रबार सदरमुकाममा हुने लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

देशभरका लगानीकर्तालाई आकर्षित गर्न इलाम नगरपालिकाले सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनकै अवसर पारेर नगरपालिकाले प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखेको छ । प्रमुख प्रतिपक्षी दललगायतले कार्यक्रमको विरोध गरिरहे पनि नगरपालिकाले सम्मेलनलाई सफल पार्ने तयारी गरेको छ ।

सम्मेलन गौतम बुद्ध सभागृहमा हुनेछ । नगरपालिकाले गत वैशाखदेखि निरन्तर मनाउँदै आएको सदरमुकाम स्थापनाको दुई सय वर्षगाँठको सन्दर्भ पारेर लगानी सम्मेलन गर्न लागेको हो ।


इलाम उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ केन्द्र र प्रदेशले सघाउने यस कार्यक्रममा मुलुकका प्रतिष्ठित उद्येगी सहभागी हुने नगरपालिकाको अपेक्षा छ । ‘लगानीका लागि आवश्यक सुरक्षाको प्रत्याभूति हुनेछ,’ नगर प्रमुख महेश बस्नेतले भने, ‘लगानीका लागि आवश्यक नीतिसमेत तय भइसकेको छ ।’ सम्मेलनलाई सफल पार्न विभिन्न समिति र उपसमिति क्रियाशील छन् ।


कृषि, जडीबुटी, पर्यटन, शिक्षा र स्वास्थ्यको अथाह सम्भावना भएको भन्दै नगरपालिकाले लगानीकर्तालाई आश्वस्त पार्ने कोसिस गरेको छ । समग्र जिल्लाकै हितमा भनिएको सम्मेलनमा प्रधानमन्त्री ओलीलाई नागरिक सम्मान गर्न सान्दर्भिक देखिएको नगर प्रमुख बस्नेतको दाबी छ ।


‘राजनीतिक परिवर्तनमा उनले खेलेको भूमिकासँगै संविधान निर्माण र समृद्धिको अभियान नेतृत्व गरेकाले नगरबासीले सम्मान गर्न चाहेका हुन्,’ प्रमुख बस्नेतले भने । यसअघि गएको कात्तिक २५ गते गर्ने भनिए पनि प्रधानमन्त्री अनुपस्थित हुने भएकाले स्थगित गरेको थियो ।


नेपाली कांग्रेस जिल्ला कार्य समितिले विज्ञप्ति निकाल्दै समन्वय नगरी एक लौटी रूपमा नगरपालिकाले औचित्यहीन ढंगले सम्मेलन र नागरिक सम्मान गर्न लागेको आरोप लगाएको छ । मुलुकमा बलात्कार, हत्या, भ्रष्टचार मौलाएको अवस्थामा कार्यकारी प्रधानमन्त्रीलाई नागरिक सम्मान दिनु समग्र इलामेको आस्था र प्रतिष्ठामा आँच आउने विषय भएको विज्ञप्तिमा उल्लेख छ ।


कृषिमा अब्बल मानिएको यो जिल्लामा उत्पादित कच्चा पदार्थको प्रयोग बढाएर स्थानीय स्थानमा रोजगारी सिर्जना गर्दै आर्थिक वृद्धिमा लाग्नुपर्ने आवाज उठिरहेको अवस्थामा यो सम्मेलनको आयोजना गर्नु आवश्यक रहेको नगरपालिकाको भनाइ छ । नगर सभाबाट सर्वसम्मत पारित विषय भएकाले विरोध आउँदा सम्मेलन प्रभावित नहुने प्रमुख बस्नेतको तर्क छ ।


धेरै जाडो र गर्मी नहुने उपयुक्त हावापानी र भूगोल भएकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गरेर पर्यटनसमेत प्रवद्र्धन गर्न सकिने नगरपालिकाको बुझाइ छ । त्यस्तै मुलुककै पुरानो चिया बगानसहित विभिन्न पर्यटकीय सम्भावनाका क्षेत्र भएकाले पर्यटनमा लगानी बढाउन पनि सम्मेलन फलदायी हुने नगरपालिकाको बुझाइ छ ।


सम्मेलनलाई केन्द्रित गर्दै राजधानी काठमाडौं र प्रदेश राजधानी विराटनगरमा पनि उद्योगीहरूसँग भेला र छलफल गरेको थियो ।

प्रकाशित : पुस १९, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?