१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

माडीमा संस्कृतिसहित घरबास

घरबासमा तीन वर्षमा १० हजार पर्यटक
रमेशकुमार पौडेल

चितवन — माडी शिवद्वारामा सोरठी, मारुनी, सालेजो पस्किएर स्थानीयले पर्यटक रमाउने व्यवस्था मिलाएका छन् । ‘भर्खर थाल नाच पनि देखाउन थालेका छौं । पञ्चे बाजाको तालमा हत्केलामा थाल राखेर फनफनी नचाउने यो नाच पनि म्याग्दीको हो,’ पर्यटक लक्षित होमस्टे सञ्चालका ठिलबहादुर पुन मगरले भने । 

माडीमा संस्कृतिसहित घरबास

आफ्नो समुदायका गीत र नाचहरू उनीहरूले लगभग बिर्सेका थिए । १० दिन तालिम लिएर बजाउन नाच्न सिकेको उनले बताए ।


पर्यटनको राम्रो विकास भइनसकेको माडीमा चितवन निकुञ्जको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको सक्रियतामा शिवद्वारामा होमस्टे खुलेको हो । २०७२ सालमा सुरु भएको होमस्टेमा त्यसयता १० हजार १ सय पर्यटक आएका छन् ।


‘माडी विकट ठाउँ हो । होमस्टे बनाउन सुरु गर्दा नै भूकम्प आयो । के होला कसो होला भन्ने चिन्ता थियो तर अहिले त बास बस्न आउने पाहुनाको चापले हामी निकै खुसी छौं,’ होमस्टे सञ्चालक समितिका अध्यक्ष मनबहादुर पुन मगरले भने । शिवद्वारामा म्याग्दीबाट आएर बसेका पुन मगर समुदायका घरहरू छन् । त्यहाँ ११ होमस्टेमा सात वटा पुन मगरका, दुईवटा नेवार र एउटा राई समुदायको होमस्टे छ ।


होमस्टेमा बस्दा स्थानीय समुदायले आफ्नै भान्सामा पकाएको खाने कुरा खान दिन्छन् । ‘बस्ने बासहरू राम्रै तयार गरेका छौं । खाना पनि हामीले मिठो बनाउने प्रयास गरेका हुन्छौं । होटलको खाने बानी परेकाहरूलाई केही नमिले जस्तो लाग्ला पनि तर हाम्रो खान्की र सत्कारमा माया मिसिएको हुन्छ, जुन होटलमा हुँदैन,’ अध्यक्ष मनबहादुरले भने । खाना खाएपछि सांस्कृतिक कार्यक्रम हेर्न पाइन्छ ।


चितवन निकुञ्ज र सोमेश्वर पहाडले घेरिए पनि माडीमा पर्यटन विस्तार हुन सकेको छैन । सदरमुकाम भरतपुरबाट ५० किलोमिटर दक्षिणमा रहेको माडी पुग्न चितवन निकुञ्जको १० किलोमिटर जंगल छिचोल्नुपर्छ । दर्जनौं खहरे खोलाहरू तर्नुपर्छ । त्यसैले यहाँ सडक, बिजुली, टेलिफोनजस्ता पूर्वाधारहरू पर्याप्त छैनन् । वन्यजन्तुले निकै सताउने माडीमा पर्यटनबाट हुने लाभ भने पुग्न सकेको छैन ।


‘यो अयोध्यापुरी वन्यजन्तुबाट धेरै पीडित क्षेत्र हो । मान्छे मरेका छन्, अंगभंग भएको छ, बालीनाली नोक्सान भएको छ । होमस्टे भएको गाउँ पनि हात्ती, गैंडा, बाघ बँदेलले दु:ख दिने ठाउँ हो,’ अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा भण्डारीले भने । निकुञ्ज भएको ठाउँमा दु:ख मात्रै हुँदैन, पर्यटक डुलाएर आम्दानी लिन सकिन्छ भन्ने सन्देश दिन होमस्टे सञ्चालन गरेको उनले बताए ।


गएको असोजयता ट्राभल एजेन्सीमार्फत बुक नै गरेर माडी होमस्टेमा विदेशी पर्यटकका १० समूह आए । समूहमा चारदेखि १२ जनासम्म थिए । तीन वर्षमा हजारको हाराहारीमा विदेशी पर्यटक घुम्न आएर यहाँ बसेको अध्यक्ष मनबहादुर पुन मगरले जानकारी दिए । निकुञ्ज आडैको जंगलले उनीहरूलाई लोभ्याएको छ । शुल्क तिरेरै पर्यटकहरू निकुञ्ज घुम्न जाने गरेका छन् । माडीमा माछा पालन फस्टाएको छ ।


‘माछा पालन हेर्न आउने समूहहरू यहीँ बास बस्न आउँछन् । लामो समयका तालिमहरू पनि चल्ने गरेका छन् । यहाँ बैकुण्ठे ताल छ, सोमेश्वरगढी जस्तो ऐतिहासिक ठाउँ छ । घुम्ने ठाउँहरू धेरै नै छन्,’ अध्यक्ष पुन मगरले भने । ११ वटा घरमा दुई–दुई कोठाका होमस्टे छन् । एउटा कोठामा दुई वा तीन जना सुत्न बस्न सक्छन् । ४४ देखि ६६ जना अटाउने भए पनि कहिलेकाहीँ ठाउँ नभएर फर्काउनुपरेको छ ।


‘असार, साउन र भदौबाहेक कुनै दिन कोठा खाली छैनन्,’ अध्यक्ष पुन गगरले भने । एउटा घरले औसतमा वर्षको चार लाख रुपैयाँको हाराहारीमा आम्दानी गरेको उनले जानकारी दिए । बिजुलीको भरपर्दो व्यवस्था नभएको माडीमा सोलारबाट बत्ती बाल्नुका साथै पंखा चलाउने र पानी तान्ने, तताउनेसम्मको सुविधा दिएर होमस्टे सञ्चालन गरेको उनले बताए ।

प्रकाशित : पुस १९, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?