कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तर्राष्ट्रिय विमानस्थल बुटिक हुँदै

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाम सुन्ने अधिकांशले फोहोर शौचालय, अव्यवस्थित पार्किङ, ट्याक्सीद्वारा यात्रु तानातान, भीडभाड, फोहोरमैलाले कुरूप लगायतका नकारात्मक दृश्य सम्झिन्छन् । अबको केही महिनापछि विमानस्थलमा यस्तो भद्रगोल सायद देखिने छैन । बरु यो विश्वकै पहिलो बुटिक विमानस्थलका रूपमा परिणत हुनेछ ।

अन्तर्राष्ट्रिय विमानस्थल बुटिक हुँदै

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नामले चिनिँदै आएको यो स्थलको नाम सम्भवन काठमाडौं बुटिक इन्टरनेसनल एयरपोर्ट हुनेछ ।


यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै तयारी पूरा गरिसकेको दाबी गरेको छ । ‘झन्डै नौ महिनाअघिदेखि थालिएको तयारीबारे पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘हामी वैशाख १ गते घोषणा गर्दै छौं ।’ केही समयअघि प्रधानमन्त्री केपी ओलीले यसबारे एउटा टेलिभिजन कार्यक्रममार्फत सार्वजनिक पनि गरिसकेका छन् ।


अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय फोहोर भएको, धाराको टुटी भाँच्चिएको देखिने छैन । विमानस्थललाई बुटिकमा बदल्न त्यहाँ राखिएका मार्बल हटाई तेलिया इँटा र पुराना ढुंगा राखिने भएका छन् । स्टिलका कमसल धारामा नेपालीपन झल्किने पित्तल र तामाका टुटीले विस्थापित हुनेछन् । ब्यागेज टयाग, बोर्डिङ पास नेपाली कागजबाट बनाइएका हुनेछन् । अध्यागमन, भन्सार र एयरलाइन्सका काउन्टरमा प्राचीन काष्ठकला झल्किने डिजाइन राखिनेछ । सबै होर्डिङ बोर्ड, ब्यानर, सूचनापाटी हटाई थिम्याटिक पेन्टिङ, विशिष्ट कलाकौशल झल्किने धातु, काष्ठ तथा ढुंगाका मूर्ति राखिने भएका छन् । यो काम विज्ञ क्युरेटरको मद्दतमा हुनेछ । अनि आकर्षक बत्तीबाट तीनमा प्रकाश पारिनेछ ।


विमानस्थलबाट आउजाउ गर्ने यात्रु र तिनका आफन्तजनले होहल्ला होइन हल्का र मधुर आवाजमा नेपाली धुन गुन्जिएको सुन्नेछन् । ‘नेपाललाई विदेशी पर्यटकहरूको आर्कषक गन्तव्य बनाउने उद्देश्यले सरकारले काठमाडौंमा रहेको मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने लागेको हो,’ यस अभियानमा संलग्न नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कान्तिपुरसँग भने ।


यात्रुहरूलाई सहजीकरण गर्न नेपाली राष्ट्रिय पोसाक (दौरा–सुरुवाल वा ढाकाको सारी) मा सजिएका युवायुवती हुनेछन् । बुटिकमा बदल्ने अभियानअन्तर्गत टर्मिनल भवन अघिल्तिरको पार्किङलाई तल्लो स्थानमा सारिसकिएको छ । अहिलेको पार्किङ क्षेत्रमा प्राचीन मूर्ति, पानीको फाउन्टेन र फुलबारी बनाइने भएको छ । यात्रुको बिदाई अब तल्लो गेटबाट गरिने भएको छ । यात्रु आगमन र बहिर्गमनमा नेपाली ग्रिन टी उपलब्ध गराइनेछ ।


‘यो संसारकै पहिलो अन्तर्राष्ट्रिय बुटिक विमानस्थल हुनेछ,’ जोशीले भने, ‘नेपाललाई विश्वमा चिनाउने यो अर्काे प्रतीक बनाउँदै छौं ।’ बुटिक भन्नाले खासमा नेपालको परम्परा, संस्कृति झल्काउने गरी सौन्दर्यीकरणको कार्य हो । ‘संसारभरका अधिकांश विशाल विमानस्थलमा स्टिल या कंक्रिट हाबी हुन्छ,’ जोशीले भने, ‘हाम्रो विमानस्थलको भित्री भाग पनि नेपाली शैलीको भएकाले बुटिक विमानस्थलमा बदल्न सजिलो छ ।’ पर्यटन मन्त्रालयले भित्री भागका पोस्टर र विज्ञापन निकालेर नेपाली पहिरन, वेशभूषा, जनजीवन, खानपान झल्किने कलाकृति राख्ने जनाएको छ । यसका लागि १५ करोड बजेट अनुमान गरिएको जनाउँदै जोशीले नागरिक उड्डयन प्राधिकरणले यसको तयारी गरिरहेको बताए ।


एसियाली विकास बैंकको आर्थिक सहयोग लिई २०४५ सालमा निर्माण सकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खेतबारीमा हुने गरा शैलीमा बनाइएको छ । काठमाडौं आसपासका खेतका गराबाट प्रभावित भई यसको डिजाइन दुई जना जर्मन र जापानी इन्जिनियरहरूले गरेका थिए । अन्तर्राष्ट्रिय टर्मिमल भवनमा हरिसिद्धि इँटा कारखानाले उत्पादन गरेका नेपाली शैलीका राता प्राचीन तेलिया इँटा र काठको वास्तुकला प्रयोग गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संस्थाले पुरस्कृत गरिसकेको यो विमानस्थल देख्ने बित्तिकै अहिले पनि पर्यटकहरू मोहित हुन्छन् ।


सीईओ जोशीका अनुसार यसको नाम संशोधन मन्त्रिपरिषद्मार्फत गराइनेछ । बुटिकको कार्य सकिएलगत्तै पर्यटन बोर्डले सीएनएन, बीबीसीमा यसको विज्ञापन बनाई प्रचार गर्ने जिम्मा लिइसकेको छ । त्यसैगरी जापान, चीन, अमेरिका, बेलायत, जर्मनी, रसिया, सिंगापुर र भारतका प्रमुख दैनिक पत्रिकामा विज्ञापन पनि गर्ने जिम्मा मन्त्रालयले बोर्डलाई नै दिइसकेको छ ।


प्रकाशित : पुस २२, २०७५ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?