त्रिभुवन विमानस्थल बुटिक बन्दै

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाम सुन्ने अधिकांशले फोहोर शौचालय, अव्यवस्थित पार्किङ, टयाक्सीद्वारा यात्रु तानातान, भीडभाड, फोहोरमैलाले कुरूपलगायतका नकारात्मक दृश्य सम्झिन्छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । तस्बिर : कान्तिपुर

अबको केही महिनापछि विमानस्थलमा यस्तो भद्रगोल सायद देखिने छैन । बरु यो विश्वकै पहिलो बुटिक विमानस्थलका रूपमा परिणत हुनेछ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नामले चिनिँदै आएको यो स्थलको नाम सम्भवन काठमाडौं बुटिक इन्टरनेसनल एयरपोर्ट हुनेछ ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै तयारी पूरा गरिसकेको दाबी गरेको छ । ‘झन्डै नौ महिनाअघिदेखि थालिएको तयारीबारे पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘हामी वैशाख १ गते घोषणा गर्दै छौं ।’ केही समयअघि प्रधानमन्त्री केपी ओलीले यसबारे एउटा टेलिभिजन कार्यक्रममार्फत सार्वजनिक पनि गरिसकेका छन् ।

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय फोहोर भएको, धाराको टुटी भाँच्चिएको देखिने छैन । विमानस्थललाई बुटिकमा बदल्न त्यहाँ राखिएका मार्बल हटाई तेलिया इँटा र पुराना ढुंगा राखिने भएका छन् । स्टिलका कमसल धारामा नेपालीपन झल्किने पित्तल र तामाका टुटीले विस्थापित हुनेछन् । ब्यागेज टयाग, बोर्डिङ पास नेपाली कागजबाट बनाइएका हुनेछन् ।

अध्यागमन, भन्सार र एयरलाइन्सका काउन्टरमा प्राचीन काष्ठकला झल्किने डिजाइन राखिनेछ । सबै होर्डिङ बोर्ड, ब्यानर, सूचनापाटी हटाई थिम्याटिक पेन्टिङ, विशिष्ट कलाकौशल झल्किने धातु, काष्ठ तथा ढुंगाका मूर्ति राखिने भएका छन् । यो काम विज्ञ क्युरेटरको मद्दतमा हुनेछ । अनि आकर्षक बत्तीबाट तीनमा प्रकाश पारिनेछ ।

यात्रुहरूलाई सहजीकरण गर्न नेपाली राष्ट्रिय पोसाक (दौरा–सुरुवाल वा ढाकाको सारी) मा सजिएका युवायुवती हुनेछन् । बुटिकमा बदल्ने अभियानअन्तर्गत टर्मिनल भवन अघिल्तिरको पार्किङलाई तल्लो स्थानमा सारिसकिएको छ । अहिलेको पार्किङ क्षेत्रमा प्राचीन मूर्ति, पानीको फाउन्टेन र फुलबारी बनाइने भएको छ । यात्रुको बिदाइ अब तल्लो गेटबाट गरिने भएको छ । यात्रु आगमन र बहिर्गमनमा नेपाली ग्रिन टी उपलब्ध गराइनेछ ।

‘यो संसारकै पहिलो अन्तर्राष्ट्रिय बुटिक विमानस्थल हुनेछ,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कान्तिपुरसँग भने, ‘नेपाललाई विश्वमा चिनाउने यो अर्काे प्रतीक बनाउँदै छौं ।’ बुटिक भन्नाले खासमा नेपालको परम्परा, संस्कृति झल्काउने गरी सौन्दर्यीकरणको कार्य हो । ‘संसारभरका अधिकांश विशाल विमानस्थलमा स्टिल या कंक्रिट हाबी हुन्छ,’ जोशीले भने, ‘हाम्रो विमानस्थलको भित्री भाग पनि नेपाली शैलीको भएकाले बुटिक विमानस्थलमा बदल्न सजिलो छ ।’

पर्यटन मन्त्रालयले भित्री भागका पोस्टर र विज्ञापन निकालेर नेपाली पहिरन, वेशभूषा, जनजीवन, खानपान झल्किने कलाकृति राख्ने जनाएको छ । यसका लागि १५ करोड बजेट अनुमान गरिएको जनाउँदै जोशीले नागरिक उड्डयन प्राधिकरणले यसको तयारी गरिरहेको बताए ।

एसियाली विकास बैंकको आर्थिक सहयोग लिई २०४५ सालमा निर्माण सकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खेतबारीमा हुने गरा शैलीमा बनाइएको छ । काठमाडौं आसपासका खेतका गराबाट प्रभावित भई यसको डिजाइन दुई जना जर्मन र जापानी इन्जिनियरहरूले गरेका थिए ।

अन्तर्राष्ट्रिय टर्मिमल भवनमा हरिसिद्धि इँटा कारखानाले उत्पादन गरेका नेपाली शैलीका राता प्राचीन तेलिया इँटा र काठको वास्तुकला प्रयोग गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संस्थाले पुरस्कृत गरिसकेको यो विमानस्थल देख्नेबित्तिकै अहिले पनि पर्यटकहरू मोहित हुन्छन् ।

प्रकाशित : पुस २६, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्

माघ १५ देखि क्यान इन्फोटेक

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी माघ १५ देखि २० सम्म सूचना प्रविधि मेला क्यान इन्फोटेक हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले इन्फोटेक आयोजना गर्न लागेको हो ।

‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको उक्त मेला (इन्फोटेक) छ दिनसम्म चल्नेछ । सन् १९९२ मा स्थापना भएको क्यान महासंघले स्थापनाको तीन वर्षपछि (सन् १९९५) देखि मेला आयोजना गर्दै आएको छ ।

भृकुटीमण्डपमा सञ्चालन हुने इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गर्ने प्रयास गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नयाँनयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनमा राखिने जनाइएको छ । मेलालाई विशेष बनाउन नयाँनयाँ स्किम पनि ल्याएको छ । मेलामा प्रत्येक तीन–तीन घण्टामा चिट्ठामार्फत अवलोकनकर्तालाई पुरस्कार प्रदान गरिने र एक जनालाई प्रत्येक दिन बम्पर पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

मेलामा कुनै पनि पुराना इलेक्ट्रोनिक सामान लगेर अवलोकनकर्ताले आकर्षक गिफ्ट या अर्को सामानमा छुटसमेत प्राप्त गर्न सक्ने जनाइएको छ । नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिनेछ । सूचना प्रविधिको क्षेत्रमा करियर बनाउन प्राविधिक विषय अध्ययनरत विद्यार्थीले मेलास्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ती बायोडाटालाई आईटी कम्पनीहरूमा पठाइदिनेछ र रोजगारीका लागि आवश्यक सहजीकरण गरिदिने जनाइएको छ ।

काठमाडौं बाहिर प्रदेश १ को विराटनगरमा पुस १९ देखि २३, प्रदेश २ को वीरगन्जमा पुस २७ देखि ३०, प्रदेश ३ को चितवनमा माघ २५ देखि २९, गण्डकी प्रदेशको पोखरामा फागुन २४ देखि २८, प्रदेश ५ को बुटवलमा फागुन ३ देखि ७ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २४ देखि २८ सम्म प्रादेशिक इन्फोटेक आयोजना गरिएको संघको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : पुस २६, २०७५ ०८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्