दूरसञ्चार प्राधिकरणमा सञ्चारमन्त्रीको छड्के, २४ घण्टाभित्र विवरण पेश गर्न निर्देशन

विजय तिमल्सिना

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणमा बुधबार अनुगमन गरेका छन् । विभागीय मन्त्रीका हिसालबे प्राधिकरण कार्यालय अनुगमनका लागि पुगेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

दूरसञ्चार प्राधिकरणमा सञ्चारमन्त्रीको छड्के, २४ घण्टाभित्र विवरण पेश गर्न निर्देशन

सवा १० बजे प्राधिकरण कार्यालय पुगेका मन्त्री बाँस्कोटाले छुट्टाछुट्टै विभाग पुगेर प्रगति विवरण माग गरेका थिए । प्राधिकरण अन्तर्गत सञ्चालित विभिन्न परियोजनाको प्रगतिबारे आफूले चासो राखेको र २४ घण्टाभित्र प्रगति विवरण उपलब्ध गराउन निर्देशन दिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।


दुई वर्षमा काम सक्ने गरी अप्टिकल फाइबर विस्तारको लागि यूटीएल र स्मार्ट टेलिकम प्रालिलाई प्राधिकरणले जिम्मा दिएको थियो । उक्त परियोजनाको काम सुरु नभएकोको विषयमा पनि मन्त्री बाँस्कोटाले चासो राख्दै प्रगति विवरण पेश गर्न निर्देशन दिएका थिए ।


यस्तै, ग्रामीण दूरसञ्चार कोषअन्तर्गत प्राधिकरणले सञ्चालन गरेको परियोजनाको काम समयमै नसकिएको विषयमा पनि २४ घण्टाभित्र विवरण पेश गर्न निर्देशन दिएको बाँस्कोटाले बताए ।


प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले मन्त्री बाँस्कोटाले कर्मचारीको हाजिरीसहित प्राधिकरणको वर्तमान अवस्थाबारे अनुगमन गरेको जानकारी दिए ।


‘ग्रामीण दूरसञ्चार कोष, फ्रिक्वेन्सी, लाइसेन्सजस्ता विषयमा सोधपुछ गर्नुभयो र विवरण उपलब्ध गराउन निर्देशन दिनु भएको छ,’ उनले भने,‘मन्त्रीले सबै शाखा र विभागमा पुगेर सोधपुछ गर्नुभएको थियो ।’

प्रकाशित : पुस २६, २०७५ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?