कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रदेश २ का विमानस्थलको साझा समस्या : रिफयुलिङ सुविधा छैन, जहाज थपिँदैन

अजित तिवारी

जनकपुर — प्रदेश २ मा तीन वटा विमानस्थल, सबैमा यात्रुको चाप उस्तै । समस्या पनि साझा– इन्धन डिपो छैन, जहाज थपिँदैन । हो, तीन वटै विमानस्थलमा रिफयुलिङको सुविधा नहुँदा यात्रुको चापअनुसार थप जहाजको उडान रोकिएको छ ।

प्रदेश २ का विमानस्थलको साझा समस्या : रिफयुलिङ सुविधा छैन, जहाज थपिँदैन

यात्रुको बढ्दो चाप धान्न जहाजको उडान थप्न तयार विमान कम्पनीहरू भने हवाई इन्धन डिपो नभएको भन्दै तर्किने गरेका छन् ।

राजविराज, जनकपुर र सिमरामा विमानस्थल हवाई डिपोविहीन हुँदा त्यसको मार यात्रुले खेप्न बाध्य छन् । सीमित उडान हुँदा यात्रुले सस्तो दरको टिकटबाट वञ्चित छन् । एयरलायन्स कम्पनीले त्यही निहुँमा ठूला जहाज थप्न मानिरहेका छैनन् ।


यात्रुको बढदो चाप खेपिरहेको जनकपुर विमानस्थलले हवाई इन्धन डिपो नभएकै कारण विमानको दैनिक उडान थप्न सकेको छैन । काठमाडौंबाट जनकपुरको हवाई दूरी बढीमा २५ मिनेटको रहेकाले काठमाडौंमा फयुलिङ गरिँदा ओहोरदोहोर गर्न पुगिरहेको छ । सिमरा विमानस्थलको दूरी पनि काठमाडौंबाट नजिकै छ । राजविराज विमानस्थलको समस्यामा पनि त्यही हो ।


प्रादेशिक राजधानी भएपछि जनकपुरबाट हवाई यात्रुको चाप बढेको छ । यहाँबाट बुद्ध एयरले दैनिक दुई वटा र यती एयरलायन्सले एक वटा उडान गरिरहेका छन् । यात्रुले भरिभराउ हुने जनकपुर–काठमाडौं दैनिक उडान हुने तीन वटा विमान सेवा अपुग छ । नागरिक उड्डयन कार्यालय जनकपुरका प्रमुख सन्तोष ढकालले हवाई इन्धन डिपोको आवश्यकता रहे पनि त्यो स्थापना गर्ने निकाय नेपाल आयल निगम रहेकाले पहल भइरहेको बताए ।


‘जनकपुर विमानस्थलबाटै रिफयुलिङ हुनु राम्रो हो । निगमले डिपो स्थापना गर्ने भएकाले हामीले पहल गरिरहेका छौं,’ ढकालले कान्तिपुरसँग भने, ‘जनकपुरबाट हवाई यात्रुको चाप बढेको छ । रात्रिकालीन उडानका लागि पनि तयारी भइरहेको छ । त्यसैले हवाई इन्धन डिपो यहाँ आवश्यक छ ।’


जनकपुर विमानस्थलको प्रवेशद्वारकै दक्षिण छेउमा रहेको गुठीको जग्गामा नेपाल आयल निगमले हवाई इन्धन डिपो स्थापना गर्ने तयारी थालेको थियो । दुई वर्षअघि जनकपुर विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गर्ने निगमको प्रयास भने अहिले सेलाएको छ । जनकपुर विमानस्थलमा रात्रिकालीन उडानका लागि बत्ती जडानको काम थालिएको छ । विमानस्थल प्रमुख ढकालका अनुसार दुई महिनाभित्रै जनकपुरबाट रात्रिकालीन उडान सुरु हुने बताए ।


बुद्ध एयर जनकपुरका प्रबन्धक विजय सिंहले जनकपुर विमानस्थलमा हवाई इन्धन डिपो नहुँदा यात्रुलाई समस्या परिरहेको बताए । उनले बुद्ध एयरका तर्फबाट प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई विमानस्थलमा रिफयुलिङको बन्दोबस्त मिलाउन पत्र नै लेखेका छन् । सिंहका अनुसार रिफयुलिङको सुविधा नहुँदा विमान सेवा थप्न र ठूला जहाजबाट सेवा दिन समस्या परेको छ । ‘रिफयुलिङको सुविधा नहुँदा जनकपुर विमानस्थलबाट यात्रुको चापअनुसार सेवा थप्न सकिएको छैन,’ बुद्ध एयरका प्रबन्धक सिंहले भने, ‘विमानस्थलमै रिफयुलिङको सुविधा हुँदा विमानको उडान थपिने र भाडा दर पनि सहज हुनेछ ।’


प्रदेश २ कै राजविराज विमानस्थलबाट साताको दुई दिन मात्र श्रीएयरलाइन्सले उडान भरिरहेको छ । राजविराज विमानस्थलमा इन्धन टयांकर (बाउजर) को सुविधा भए बुद्ध एयरले एटीआर विमानको सेवा थप्न तयार रहेको सिंहले बताए । झापाको भद्रपुर विमानस्थलमा निगमले हवाई इन्धनका लागि बाउजरको सुविधा दिएको छ ।


‘राजविराज विमानस्थलमा अनेकौं सम्भाव्यता रहे पनि रिफयुलिङको सुविधा नहुँदा जहाज सेवा थप्न सकिएको छैन,’ सिंहले भने, ‘रिफयुलिङको सेवा ल्याए मार्चदेखि नै बुद्ध एयरले राजविराज विमानस्थलबाट उडान थाल्नेछ ।’


रिफयुलिङको सुविधा भए अरू सेक्टरजस्तै जनकपुरबाट पनि हवाई दरमा सहुलियत हुने एयरलायन्सहरूको दाबी छ । सिमरा विमानस्थलमा पनि हवाई इन्धन डिपो नहुँदा जहाजको दैनिक उडान थप्न नसकिएको उनीहरूको बाध्यता छ । उद्योगी–व्यवसायीले सिमरा विमानस्थलबाट दैनिक उडान थप्न आग्रह गरे पनि इन्धनको सुविधा नहुँदा समस्या परिरहेको एयरलायन्स कम्पनीको भनाइ छ ।


नागरिक उड्डयन कार्यालय जनकपुर सिमरा र राजविराजलाई बुद्ध एयरले पत्र नै लेखेर रिफयुलिङको बन्दोबस्त मिलाउन आग्रह गरेको छ । जनकपुर कार्यालयका प्रमुख ढकालले विमानस्थलमै रिफयुलिङको सुविधाका लागि नेपाल आयल निगमसित कुराकानी गर्ने बताए ।

प्रकाशित : पुस २८, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?