१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काभ्रेका इँटाभट्टा असारसम्म खुला

काभ्रे — नगरसभाको आफ्नै निर्णय उल्टयाउँदै नमोबुद्ध नगरपालिकाले मापदण्डविपरीत सञ्चालित इँटाभट्टा १ सिजनका लागि सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) र नेपाल सरकार वातावरणीय मापदण्ड पूरा नगरेको भन्दै नवीकरण नगर्ने र हटाउने निर्णय गरेको नगरपालिकाले व्यवसायीकै ‘माग’ अनुसार असारसम्म सञ्चालन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।


०७४ साउन १२ को कार्यपालिकाले गरेको कुनै पनि उद्योग नवीकरण नगर्ने र सञ्चालन गर्न नदिने निर्णय ०७५ वैशाख १३ को नगरसभाले अनुमोदन गरेको थियो । जिल्ला समन्वय समितिको रोहवरमा ८ वटै उद्योगका प्रतिनिधिले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।


‘हामीले पटक–पटक सचेत गराउँदा गराउँदै अटेर गरेर पार्नुभएको इँटा एकपटक पोल्न दिने सहमति गर्न बाध्य भयौं,’ नगरप्रमुख टंकप्रसाद (टीपी) शर्माले भने, ‘अर्को वर्ष वडा नं २ र ३ मा भएका इँटा उद्योग विस्थापन गर्न उद्योगीहरू सहमति हुनुभएको छ ।’ सर्तअनुसार व्यवसायीहरूले नगरभित्रै उद्योग स्थानान्तरण गर्न चाहेमा वातावरणीय मापदण्ड पूरा गर्नुपर्नेछ ।


नगरको स्वीकृत कार्यक्रममा रहेको सोती करिडोर विस्तारका क्रममा मापदण्डभित्र रहेका संरचना हटाउन पनि व्यवसायी सहमत भएको उल्लेख छ । उद्योगीहरूले भूकम्पपीडित लाभग्राहीहरूका लागि उद्योगले तोकेको मूल्यमा ३ रुपैयाँ प्रतिगोटा सहुलियत दिएर ६ हजारसम्म इँटा उपलब्ध गराउने पनि सहमति गरेका छन् ।


आफ्नो करोडौं लगानी डुब्ने भन्दै व्यवसायीहरू एक पटकको लागि भए पनि इँटा पोल्न पाउनुपर्ने लबिङमा थिए । कार्यपालिकामा रहेका केही वडा अध्यक्षलगायत पदाधिकारीलाई ‘प्रभाव’ मा पारेर उद्योगीहरू आफू अनुकूलको निर्णय गराउन सफल भएका हुन् । नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गराउन नगरप्रमुख निरीह देखिएका छन् ।


वडा अध्यक्षलगायत कार्यपालिका सदस्यहरूको असहयोगका कारण नगरसभाबाट पारित निर्णय असफल भएको हो । नगर कार्यपालिकाको निर्णयविरुद्ध वडा अध्यक्षहरूले अनुमति दिँदै आएका थिए । मापदण्ड विपरीत रहेका ती उद्योगमा कांग्रेस तथा नेकपाका नेताहरूको लगानी र संरक्षण पाइएको छ । नगर कार्यपालिकाले इँटा उद्योग दर्ता तथा नवीकरण नगर्ने निर्णय नगरेपनि कार्यपालिका सदस्य रहने वडा अध्यक्षले नै त्यस्ता उद्योगलाई जग्गा उपलब्ध गराएका छन् ।


नमोबुद्ध नगरपालिकाको केन्द्र भकुन्डेबेंसी रहेको वडा नं २ र ३ मा सञ्चालित कुनै पनि इँटा उद्योगले मापदण्ड पूरा गरेका छैनन् । उद्योग दर्ता गर्ने समयमा राखेका १७ सर्तमध्ये कुनै पनि पालना भएको छैन । यहाँ सञ्चालित ८ मध्ये कुनै पनि उद्योगले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) र नेपाल सरकार वातावरणीय मापदण्ड पूर्ण रूपमा पालना नगरेको वातावरण विभागको अध्ययन प्रतिवेदनले देखाएको छ ।


नमोबुद्ध नगरपालिकाले कोटेश्वरस्थित एभरेस्ट कन्सल्टेन्सी एन्ड रिसर्च सेन्टरमार्फत गरेको वायुको गुणस्तर अध्ययन प्रतिवेदनले ९७ प्रतिशत प्रदूषण इँताभट्टाले, २ प्रतिशत सवारी साधनले र १ प्रतिशत अन्य कारणले भएको देखाएको छ । प्रदूषण बढेर जनस्वास्थ्य, कृषि र उत्पादनसमेतमा असर परेको भन्दै गत वर्ष विभिन्न ३३ वटा संस्थाले नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाएका थिए ।

प्रकाशित : पुस २९, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?