२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बीउ उत्पादनमा आत्मनिर्भर

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क घोचेखोलाका गणेश बञ्जाडे व्यावसायिक तरकारी खेतीको सुरुवात गर्ने जिल्लामै पहिलो किसान हुन् । उनी अगुवा तरकारी किसानका रूपमा चिनिन्छन् ।

चार वर्षयता बीउ उत्पादक कृषकका रूपमा परिचय थपिएको छ । तरकारी र खाद्यान्न बालीको बीउ उत्पादन गरेर जिल्ला बाहिर बिक्री गरिरहेका छन् ।


बजारको एग्रोभेट पसल र कृषि कार्यालयले वितरण गरेको बीउले उत्पादनमा कमी आएकाले किसानले उत्पादन गर्न थालेका हुन् । ‘तरकारीको बीउ बजारबाट किनेर लग्यो, कहिलेकाहीँ फल लाग्दैन र उत्पादन घटेपछि घाटा भयो,’ जिल्ला बीउ उत्पादन संघका सचिव रहेका उनले भने, ‘थोरै जग्गामा धेरै उत्पादन गर्न आफैंले बीउ उत्पादन गरेपछि ढुक्क छौं । खेती पनि फस्टाएको छ ।’


बीउ उच्च गुणस्तरको भएको र उत्पादनमा टेवा पुगेको उनले बताए । बजारको भरले भएन । राम्रो बीउ परेका बेला बाली राम्रो भयो । नराम्रो बीउ पर्दा बारी खेर गयो । त्यसैले आफैंले उत्पादन र खेती गरेको बञ्जाडेले बताए । जिल्लाका ६ वटौ स्थानीय तहका ७० कृषक समुहले बिउ उत्पादन गर्छन् । बीउका लागि छुट्टै खेती गरिन्छ ।


मकै, गहँु, सीमी, मुला, केराउ उत्पादन भएको छ । समूहले उत्पादन गरेको बीउ संघमा जम्मा गरिन्छ । संघले सुपादेउराली एग्रो कल्चर रिसर्च एन्ड सिडलाई दिन्छ । एग्रोले जिल्ला र बाहिर पठाउने गर्छ । यस वर्ष मनकामना तीन जातको मकैको बीउ ४३ टन जिल्ला बाहिर र ३२ टन जिल्लामै खपत भयो । सिमीको बीउ चार क्विन्टल बुटवल, चार क्विन्टल नेपालगन्ज पुर्‍याए । ५ क्विन्टल जिल्लामै खपत भयो । गहुँको २० क्विन्टल उत्पादन भयो । यस वर्ष खुमल चार जातको धानको बीउ १४ हजार किलो उत्पादन भयो । दररेट कायम गरेर बिक्री भइरहेको उनले बताए ।


मौसमी तथा बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । उनीहरूले बीउ उत्पादनबाट राम्रो आम्दानी गर्न थालेका छन् । हावापानी, माटो मिल्दो बीउ भएकाले उत्पादनमा वृद्धि भएको बञ्जाडेले बताए । सबै बालीको बीउ उत्पादन गरेर जिल्लालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको उनले बताए ।


सुपादेउराली सिडका प्रबन्धक एवं बिक्रेता युवराज पौडेलले जिल्लामा उत्पादन भएको बीउ नै धेरैले खरिद गर्ने बताए । तराईको माटो र हावापानीमा उत्पादन भएको बीउ पहाडमा त्यति मेल खाँदैन । उनी जिल्ला बाहिरका एग्रोभेट पसललाई बीउ पठाइदिने गर्छन् । जिल्ला र बाहिरबाट उत्पादित बीउको माग उच्च रहेको उनले बताए । ‘फोन गरेरै व्यापारी र जिल्ला बाहिरका किसानले बीउको माग गर्छन्,’ उनले भने ।


छत्रदेव गाउँपालिका ९, चौहाका भोलानाथ र उमा बञ्जाडेले ४ वर्षदेखि दुई रोपनी बारीमा सीमीको बीउ उत्पादन गरिरहेका छन् । त्यसबाट वर्षमा तीन लाख रुपैयाँ आम्दानी गर्छन् । ‘बजारबाट सीमीको बीउ किनेर खेती गरेको कोसा लागेनन् र बोट भुइँमै थेचारियो,’ उमाले भनिन्, ‘त्यसपछि आफैं बीउ उत्पादनतिर लाग्यौं । माग थेगिनसक्नु छ । जति बीउ उत्पादन गरे पनि बिक्री नहोला भन्ने छैन ।’ बीउका लागि बारी छुट्टै छ । अब हरेक बालीको बीउ उत्पादन गर्ने सोचमा रहेको उनले बताए ।


बीउबाट राम्रो आम्दानी भएपछि विदेशमा रहेका पति भोलानाथले घरमा झिकाएर पति–पत्नी मिलेरै खेती किसानमा लागेका छन् । बीउ उत्पदान गर्न श्रीबहुउद्देश्यीय मिश्रित कृषक समूह गठन भएको छ । समूहमा आबद्ध २४ कृषकमध्ये छ जना पुरुष छन । समूहकी अध्यक्षसमेत रहेकी बञ्जाडेले मकैको बीउ २८ क्विन्टल, गहुँ २८ सय किलो, धान एक टन र सिमी ५ सय ५० किलो बिक्री भएको बताइन् । २४ घरपरिवारमा वर्षमा ५० देखि तीन लाख रुपैयाँ आम्दानी भएपछि स्वरोजगार उन्मुख भएका छन ।

प्रकाशित : पुस २९, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?