कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अमेरिकी इतिहासकै लामो ‘सटडाउन’

एजेन्सीहरू

काठमाडौँ — अमेरिकी संसद् र राष्ट्रपतिबीच मेक्सिको सिमानामा पर्खाल लगाउने विषयलाई लिएर मतभेद जारी छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्खालका लागि ५ अर्ब ६० करोड अमेरिकी डलर (करिब ६ खर्ब २७ अर्ब रुपैयाँ) मागेका थिए ।

विपक्षी पार्टीले ट्रम्प प्रशासनको मागमा आपत्ति जनायो । माग पूरा नभएसम्म ट्रम्पले कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने अड्डी कसेपछि सरकारी कामकाज आशिंक रूपमा रोकिएको छ ।


अति महत्त्वपूर्ण विभाग (सामाजिक सुरक्षा, फेडेरल जेल आदि) का कर्मचारी भने काममा आइरहेका छन् । उनीहरूलाई तलब दिइएको छैन । गभरमेन्ट सटडाउन (सरकारी गतिरोध) हुँदा अमेरिकाका ८ लाख संघीय कर्मचारी र करारतर्फका लाखौं कर्मचारीको तलब रोकिएको छ । अमेरिकी इतिहासमा यो सबैभन्दा लामो सटडाउन बनेको छ । यसअघि सन् १९९५/९६ मा बिल क्लिन्टनको पालमा सर्वाधिक तीन हप्ता गभरमेन्ट सटडाउन भएको थियो । ट्रम्प कार्यकालको यो दोस्रो सटडाउन चाहिँ शनिबारदेखि चौथो हप्तामा उक्लिएको छ ।


ट्रम्प र संसद्बीच राम्रो संवाद भइरहेको छैन । उनी कुनै हालतमा आफ्नो माग पूरा गरिछोड्ने बताइरहेका छन् । त्यसका लागि कंग्रेस (द्विसदनात्मक संसद्) लाई बाइपास गरी संकटकाल घोषणा गर्नसमेत आफू तयार रहेको उनको भनाइ छ । ट्रम्पको हठ हेर्दा सटडाउन समाप्त हुने कुनै छाँट देखिँदैन । यसले अमेरिकी अर्थतन्त्रमा त संकट ल्याएको छ नै विश्व अर्थतन्त्रमै प्रभाव पर्ने विश्लेषण गरिएको छ ।


ट्रम्पले पछिल्लो पटक प्रतिनिधिसभा सदस्य नान्सी पेलोसीसँग वार्ता गरेका थिए । पेलोसीले गतिरोध अन्त्य भएर सरकार सुचारु नै भए पनि ‘ट्रम्पको पर्खाल’ लाई बजेट नदिने बताएकी थिइन् । ट्रम्प रिसले चुर हुँदै टेबुलमा मुठी बजारेर बाहिर निस्किएको सिनेट माइनोरिटी लिडर चक स्कुमरले सञ्चार माध्यमलाई बताएका थिए । ह्वाइट हाउसले भने त्यस्तो केही नभएको दाबी गरेको छ ।


उक्त भेटपश्चात् ट्रम्पले चक र नान्सीसँगको भेट सयमको बर्बादी भन्दै ट्वीट गरेका थिए । ‘एक महिनापछि मैले तुरुन्त कामकाज सुचारु गरें भने के हुनेवाला छ ?’ ट्रम्पले आफ्नै भनाइ उद्रृत गर्दै ट्वीट गरेका थिए, ‘‘पर्खाल वा स्टिलको तारबार समाविष्ट सीमा सुरक्षा नीति स्वीकृत गर्छौं ?’ भनेर सोध्दा नान्सीले ‘नो’ भनिन् । मैले पनि बाई–बाई भनेँ ।’ एकताका उनले आफ्नै पैसाले पर्खाल लगाउने समेत भन्न भ्याएका थिए ।


यो अमेरिकी सरकारको २१ औं सटडाउन हो । सन् १९७४ मा प्रशासन र संसद्बीच बजेट विनियोजनलाई लिएर विवाद भएपछि पहिलो पटक गभरमेन्ट सटडाउन भएको थियो । यसअघिका सटडाउन औसतमा ८ दिन लामा हुने गरेका थिए । सन् २०१८, फेब्रुअरीमा सिनेट सदस्य रन्ड पलका कारण नौ घण्टा सटडाउन भएको थियो । सिनेटको खर्च विधेयक पारित गर्नुअघि उनले विरोध जनाएपछि सरकारी कामकाज ठप्प भएको थियो ।


सटडाउन लम्बिँदै जाँदा त्यसको प्रभाव थप स्पष्ट देखिन थालेको बिजनेस इनसाइडर अनलाइनले जनाएको छ । अनलाइनका अनुसार विमानस्थल र उडान सुरक्षामा समस्या देखिएको छ । राष्ट्रिय निकुञ्जका वन्यजन्तुको विनाश हुन थालेको छ भने त्यहा फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको छ । न्यून आय भएका नागरिकले पाउने ऋण सहायता अवरुद्ध भएको छ । खाद्य निरीक्षण रोकिएकाले विषादीयुक्त खाना बजारमा पुगेको छ । यसले महामारी ल्याउन सक्ने आशंका गरिएको छ ।


यो सटडाउनले देशभरका सबै निकायको कामकाजमा भने अवरोध ल्याएको छैन । रक्षा र ऊर्जालगायत कतिपय विभागले पेस गरेको फन्ड बिल संसद्ले सेप्टेम्बरमै पारित गरिदिएको थियो । कृषि, वाणिज्य, न्याय, यातायात, आवास तथा सहरी विकास जस्ता कतिपय विभाग भने बन्द छन् । ४ लाख २० हजार कर्मचारीलाई ‘महत्त्वपूर्ण’ मानिएकाले उनीहरू बन्दमा पनि कार्यालय आइरहेका छन् ।

प्रकाशित : पुस २९, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?