२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बगैंचा हेर्नेको लर्काे 

फस्टाउँदै ‘कृषि पर्यटन’

धनकुटा — भुइँ छुने गरी लटरम्म फलेका छन् फलफूल । तीसँगै फोटो खिच्ने र बोटैबाट टिपेर फल खानुको मजा लिनेको धुइरो छ । कृषकले बगैंचाका रूख बिरुवा स्याहार्ने र त्यसबाट गतिलो आम्दानी हात पार्नु त छँदै छ । अझ आफ्नै बगैंचा अवलोकन गर्न आउनेको लर्कोे देख्दा कृषक उत्साही छन् । 

बगैंचा हेर्नेको लर्काे 

धनकुटा नगरपालिका ४ स्कुलडाँडाका कृषक राजकुमार तामाङको बगैंचा नियाल्नेको दिनहुँ भीड लाग्छ । उनको बगैंचामा सुन्तला, एभोकाडो, अम्बालगायतका मौसमअनुसारका फलफूलका बोट भुइँ छुने गरी नुहिएका छन् । तीमध्ये यतिबेला सबैभन्दा बढी आकर्षण एभोकाडोमा छ । यसको एउटै बोटबाट डेढ लाखभन्दा बढी आम्दानी गरेको उनले बताए । बजार पुग्नु पर्दैन ।


अवलोकनमा आउने पर्यटक र व्यवसायीले किनेर लैजाने गर्दा बोटैबाट मनग्ये आम्दानी हात पार्ने गरेको उनको भनाइ छ । ‘पछिल्लो समय बगैंचा हेर्न आउनेको संख्या बढदै गएको छ,’ उनले भने, ‘बोटैमा किनबेच हुने भएकाले बजार पुर्‍याउनै पर्दैन ।’ ३५ वर्ष पहिले बाबुले रोपिदिएको एभोकाडोको एउटै बोटबाट डेढ लाखभन्दा बढी हात पारेका छन् । उनको बगैंचा नियाल्न जिल्लास्थित जनप्रतिनिधि, प्रशासक, कृषि क्षेत्रमा अवलोकन भ्रमण समूहदेखि सर्वसाधारण जान्छन् । साढे तीन रोपनी क्षेत्रफलमा उनले रहर लाग्दो गरी खेती गर्दै आएका छन् ।


कास्की, चितवन, स्याङजादेखि पूर्वका विभिन्न जिल्लाबाट उनको बगैंचा हेर्न दर्जनौं समूह पुग्ने गरेको बताए । यसैगरी धनकुटा नगरपालिका ३ पात्लेका कृषक गोपाल वाग्लेको बगैंचामा पनि दर्जनौं प्रकारका फलफूल छन् । उनको बगैंचा नियाल्न आउनेको कमी छैन । किबी, एभोकाडो, सुन्तला, अम्बालगायत दर्जनभन्दा बढी फलफूल उनका बगैंचामा छन् ।


एभोकाडो, सुन्तला, कागती, रुद्राक्षलगायत नर्सरी व्यवसायलाई समेत अँगाल्दै आएका वाग्ले जिल्लाकै सफल कृषकको सूचीमा दरिएका छन् । ‘बगैंचा हेर्नकै लागि आउनेको चहलपहल देख्दा उत्साह जाग्छ,’ उनले भने, ‘अवलोकनमा आउनेले बगैंचाबाटै किनेर लाँदा आम्दानी पनि राम्रै छ ।’


धनकुटा ६ कचिडेका पुरुषोत्तम पोखरेलको बगैंचा नियाल्न पनि कृषक समूह पुग्ने गरेका छन् । उनी एभोकाडो खेतीका अग्रज कृषक हुन् । जिल्लामा भएको एभोकाडो महोत्सवमा प्रथम स्थान हात पारेका पोखरेलको उक्त फलको सयभन्दा बढी बोट छन् । उनले पनि बोटैमा आउने समूहलाई तीन लाखभन्दा बढीको एभोकाडो बिक्री गरेका छन् ।


धनकुटा ३ सिप्तिङका अर्का कृषक जितेन्द्र राईको भिरालो जमिनमा लगाएको सुन्तलालगायत फलफूलको बगैंचा उत्तिकै आकर्षक छ । त्यहाँ पनि महिनामा दर्जनौं समूह अवलोकनका लागि जाने गर्छन् । जिल्लाको मौनाबुधुकका सुन्तला कृषक हर्क चेम्जोङको बगैंचा नियाल्न आउने पनि प्रसस्तै छन् । सुन्तला बगानबाट यस वर्ष १२ लाख आम्दानी गरेको बताए । उनले करिब ४० रोपनी क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट सोचअनुसारको आम्दानी हात पारेको बताए ।


कतिपयले बोटैबाट टिपेर फलफूल खाने चाहनाले पनि बगैंचामा पुगेको बताए । धेरैजसोले सिकाइका रूपमा सफल कृषकको बगैंचा हेर्न आएको बताएका छन् ।


चितवनको रत्ननगरका कृषक श्याम गौतमले धनकुटाका विभिन्न कृषकका बगैंचा अवलोकन गरेको बताए । सुन्तला र

एभोकाडो खेतीबारे चर्चा सुनेर उनी कृषकसँग भेटघाट र बगैंचा अवलोकनमा आएको बताउँछन् । धनकुटाका कृषकले गरेको सफलताले आफूले अनुकरणीय रूपमा लिएको उनले बताए ।


विराटनगरका टीकादत्त राईले कृषकको फलफूल बगैंचाको आकर्षणले लोभ्याएको जनाए । पछिल्लो समय जिल्लामा कृषि पर्यटनको हवात्तै विकास भएको कृषि विज्ञ जीवन राईको तर्क छ । ‘एग्रो टुरिजम फस्टाउँदै गएको छ,’ उनले भने, ‘एकातर्फ कृषकले राम्रो आम्दानी गर्न पाएका छन् भने अर्कोतर्फ अवलोकनकर्ताले कृषि खेतीको सफलताबारे सिक्न पाएका छन् ।’


पाख्रिबास कृषि अनुसन्धान केन्द्र, सुन्तला जात अनुसन्धान पारिपात्ले, हिले तथा पाख्रिबास क्षेत्रका चिया बगान पनि अवलोकनको मुख्य केन्द्र हुन् । ती स्थानमा वर्षमा सयौंको संख्यामा आन्तरिक तथा बाहय पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् ।

प्रकाशित : पुस ३०, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?