कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हजारौं क्विन्टल सेतकचिनी सड्दै, ऋणमा डुबेको व्यवसायीको गुनासो

(हुम्ला) — जिल्लाका जडीबुटी व्यसायीले स्थानीयसँग संकलन गरेका ठूलो परिमाणको सेतकचिनी (खिरौला) सड्ने अवस्थामा पुगेको छ । स्थानीय किसानबाट खरिद गरेर पनि जिल्ला बाहिर लैजाने छुट पुर्जी नपाउँदा व्यवसायीले संकलन गरेको ठूलो परिमाणको सेतकचिनी सड्ने अवस्थामा पुगेको हो । 

हजारौं क्विन्टल सेतकचिनी सड्दै, ऋणमा डुबेको व्यवसायीको गुनासो

डिभिजन वन कार्यालयका अनुसार सेतकचिनी जिल्ला बाहिर लैजाने छुट पुर्जीका लागि व्यवसायीले १० हजार क्विन्टलभन्दा बढीको माग गरेका छन् । कानुनी जटिलताका कारण जिल्लाबाट बाहिर लैजान पाँच सय क्विन्टलभन्दा बढीको छुट पुर्जी दिन नसकिने अवस्था रहेको कार्यालयले जनाएको छ । पाँच सयमध्ये पनि तीन सय राष्ट्रिय वनबाट संकलन गरेको र दुई सय सामुदायिक वनबाट संकलन गरेका व्यवसायीलाई मात्र दिन सकिने व्यवस्था छ । छुट पुर्जीका लागि माग गर्ने व्यवसायीमध्ये हालसम्म प्रतिव्यवसायी १ सय ५० किलोग्रामका दरले दुई सय व्यवसायीलाई तीन सय क्विन्टलको मात्र छुट पुर्जी दिइएको छ ।


वनको स्रोत सर्भेक्षण (ईआईए) नभएका जडीबुटीका लागि कार्ययोजनाअनुसार पाँच सय क्विन्टलभन्दा बढी जिल्ला बाहिर लैजाने अनुमति नभएको अधिकारीको भनाइ छ । ‘ईआईए नभएका हरेक जडीबुटीको निश्चित परिमाण तोकिएको हुन्छ,’ कार्यालय प्रमुख तोयानाथ पौडेलले भने, ‘वन ऐन र नियमावलीअनुसार तोकिएको निश्चित परिमाणभन्दा बढीको छुट पुर्जी दिन सकिँदैन ।’ बढी आवश्यक भए वनको स्रोत सर्भेक्षण (एआईई) गर्नका लागि सम्बन्धित व्यवसायी वा उद्योगीले वन मन्त्रालयमा नै पहल गर्नुपर्ने उनको भनाइ छ ।


स्थानीय किसानबाट खरिद गरी पाँच सय क्विन्टल जम्मा पारेका सिमकोट गाउँपालिका ५ का व्यवसायी लालु रोकायाले आफू ऋणमा डुबेको बताए । बिक्री गर्न जिल्ला बाहिर लैजाने छुट पुर्जी पाउने आसले बैंकबाट ऋण लिएर स्थानीय किसानबाट संकलन गरेको सेतकचिनी गोदाममै थन्क्याएको उनको भनाइ छ । ‘बिक्री गर्न नपाउँदा ऋणको ब्याज मात्र तिर्न पनि समस्या भएको छ,’ उनले भने ।


जिल्लामा व्यवसायीले पाँच सयदेखि दुई हजार क्विन्टलसम्म सेतकचिनी जम्मा गरेको डिभिजन वन कार्यालयका रेन्जर लोकजंग शाहीले बताए । उनका अनुसार जिल्लामा फार्म दर्ता गराएर व्यवसाय सुरु गरेका १ सय ४७ व्यवसायी छन् । सबै व्यवसायीसँग कम्तीमा पाँच सय र बढीमा दुई हजार क्विन्टल सेतकचिनी मौज्दात छ । बिक्रीका लागि लैजान नपाउँदा व्यवसायी मर्कामा परेका छन् ।


सेतकचिनी गत वर्षदेखि जिल्लामा खरिद बिक्री गर्न थालिएको हो । यो जडीबुटी चीन जान थालेपछि व्यवसायीले अन्य जडीबुटी छोडेर सेतकचिनी खरिद बिक्री गर्न थालेका हुन् । व्यवसायीले संकलन गर्न थालेपछि स्थानीय किसानले आफ्नो खेतबारीमा र राष्ट्रिय तथा सामुदायिक वनबाट संकलन गरी व्यवसायीलाई बिक्री गर्ने गरेका छन् । विगत वर्ष जडीबुटी व्यवसायीले जटामसी, कुटकी, अत्तिसजस्ता जडीबुटी खरिद बिक्री गर्ने गरेकामा गत वर्षदेखि सबै व्यवसायी सेतकचिनीमा लागेका छन् ।

यो पनि पढौं : सेतकचिनी निकासीमा डेढ दर्जनविरुद्ध उजुरी

ठूलो परिमाणमा सेतक चिनी अलपत्र

सेतक चिनी पकाउन वन सखाप, दुर्लभ वन्यजन्तु संकटमा

सहजै संकलन गर्न सकिने यो जडीबुटी स्थानीय किसानले आफ्ना घरका छतछतमा सुकाएका छन् । जिल्ला बाहिर लैजाने छुट पुर्जी नपाएपछि व्यवसायीले स्थानीय किसानबाट खरिद गर्न छोडेका छन् । व्यवसायीले खरिद गर्न छोडेपछि संकलन गरेका स्थानीय किसान पनि मर्कामा परेका छन् । संकलन गरिसकेका सेतकचिनी बिक्री हुन नसके घरमै सड्ने उनीहरूको चिन्ता छ ।


वन ऐन तथा नियमावलीअनुसार ईआईए नभएका कारण पाँच सय क्विन्टलभन्दा बढीको छुट पुर्जी नपाउँदा व्यवसायीको गत वर्ष मात्रै ठूलो परिमाणमा जटामसी सडेर खेर गएको थियो । चंखेली गाउँपालिकाको पुमा गाउँका रामचन्द्र बुढाले आफ्नो गाउँका छवि बुढाको एक हजार क्विन्टल बढी जटामसी गाउँमै सडेको बताए । सिमकोट गाउँपालिका १ दोजामा गाउँ निवासी इन्द्र लामाको पनि हजार क्विन्टलभन्दा बढी जटामसी गोदामै सडेको छ । गत वर्ष जटामसी सडाएका जिल्लाका १ सय ४७ व्यवसायी यो वर्ष सेतकचिनी पनि सडाउन बाध्य छन् ।


सिमकोट गाउँपालिकाको डाडाफया गाउँको एउटा घरमा सुकाउँदै गरिएको सेतकचिनी । तस्बिर : जयबहादुर रोकाया /कान्तिपुर


प्रकाशित : माघ १, २०७५ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?