कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मौज्दात सकियो, मल आएन

शंकर आचार्य

पर्सा — कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जमा युरिया मलको मौज्दात सकिएको छ । भारतको विशाखापट्टनम् बन्दरगाहमा मल अड्किएको महिना दिनभन्दा बढी भइसकेको छ । 

कार्यालय प्रमुख अजयकुमार श्रीवास्तवले गत बुधबारदेखि युरिया मलको मौज्दात सकिएको बताए । हाल साल्ट ट्रेडिङ कर्पोरेसनको युरिया मलको मौज्दातले किसानको माग धानिरहेकाले कम्पनीमा चर्को दबाब नपरे पनि छिट्टै मल नआए समस्या हुन सक्ने उनले बताए ।

गत महिना बंगालको खाडीमा आएको सामुद्रिक चक्रवातका कारण कम्पनीको २५ हजार टन युरिया भारतको विशाखापट्टनम् बन्दरगाहमा आएर थन्किएको छ । ग्लोबल टेन्डरबाट भारतकै आईपीएल कम्पनीले उक्त मल कम्पनीलाई आपूर्ति गर्न तेस्रो मुलुकबाट आयात गरी ल्याएको हो ।

विशाखापट्टनम् बन्दरगाहमा चक्रवातको प्रभाव घटेर बन्दरगाह सुचारु भए पनि पछि सिर्सिया सुक्खा बन्दरगाह वीरगन्जको जामका समस्याले उक्त मल लिएर रेल्वे र्‍याक विशाखापट्टनमबाट हिँड्नै नपाएको श्रीवास्तवले बताए ।

‘सुरुमा विशाखापट्टनम्मा अवरोध भयो, पछि वीरगन्जमा सुक्खा बन्दरगाहमा जामको समस्या भयो,’ उनले भने, ‘हाल विशाखापट्टनम्मा चाडपर्वको मौसम छ, त्यहाँ माघे संक्रान्तिकै दिन पोङल नामक स्थानीय पर्वको कारण मजदुरहरू बिदामा गएकाले रेलमा मल लोड हुन सकेको छैन ।’

हाल रौतहट क्षेत्रबाट किसानहरू मल खोज्दै आइरहेको उनले बताए । युरिया नभए पनि कम्पनी क्षेत्रीय कार्यालयमा हाल १ हजार ६ सय टन डीएपी मल मौज्दात रहेको छ । गहँु बालीका लागि भने उक्त मल आवश्यक छैन । त्यसैगरी पाँच सय टन पोटास मल पनि मौज्दात छ ।

प्रकाशित : माघ २, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?