कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

निगममा एक क्याप्टेनले ४ जहाज उडाउनुपर्ने बाध्यता, पालो मिचेर कनिष्ठ क्याप्टेनलाई एयरबस तालिममा

कञ्चन अधिकारी

काठमाडौँ — सुन्दा अचम्म लाग्छ । एकजना क्याप्टेनले ४ वटा जहाज कसरी उडाउन सक्छन् ? हो, सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगममा भने यस्तै हालत छ । चीनबाट ल्याइएका वाई १२ ई सिरिजका चारवटा जहाज अहिले एकजना पाइलटले मात्रै उडाउँछन् । उडाउने क्याप्टेन हुन् आङनुरी शेर्पा । शेर्पाले एकैपटक ४ वटा जहाज उडाउने भने होइनन् । उनले पालैपालो गरेर निगमका यी सिरिजका जहाज उडाइरहेका छन् ।

निगममा एक क्याप्टेनले ४ जहाज उडाउनुपर्ने बाध्यता, पालो मिचेर कनिष्ठ क्याप्टेनलाई एयरबस तालिममा

हुन त यी ४ जहाज उडाउन ४ क्याप्टेन छन् तर दुई जना बिरामी र एकजना एयसबस-३२० जहाजको तालिम लिन इन्डोनेसिया गएपछि क्याप्टेन शेर्पाले ४ वटा जहाज उडाउने जिम्मा पाएका छन् । वरिष्ठ क्याप्टेनहरू निपेन्द्र भट्टराई र सञ्जयबादे श्रेष्ठ केही दिनदेखि बिरामी बिदामा रहेका छन् भने क्याप्टेन उद्धव घिमिरे भने ‘ए३२०’ जहाज उडानको तालिम लिन इन्डोनेसिया गएका छन् । निगम स्रोतका अनुसार अपरेसन डाइक्टर रवीन्द्रकुमार (आरके) शेरचनको सिफारिसमा निगम अध्यक्ष मदन खरेलले घिमिरेलाई सिनियर क्याप्टेनको पालो मिचेर तालिमका लागि इन्डोनेसिया पठाएका हुन् । भट्टराई र श्रेष्ठ नवौं तहका हुन् भने घिमिरे सातौं तहका हुन् ।


तिनलाई साथ दिन सातजना कोपाइलट छन् । उनलाई साथ दिने कोपाइलटहरू प्रचण्ड खड्का, राकेश काफ्ले, विजय अवाले, श्रृजना रावत, लिवर्टी भण्डारी, महेशराज पाण्डे र रवीन केसी छन् । तर क्याप्टेन एकजना मात्रै हुँदा ती कोपाइलटहरुले पनि पालैपालो उडाइ रहेका छन् ।


निगम स्रोतका अनुसार यसरी क्याप्टेन नहुँदा निगमले विगत एक हप्तादेखि विभिन्न सेक्टरका उडानहरु गरिरहेको छ । निगमले दैनिक पोखरा, सिमरा र दाङ उडान गर्दै आएको छ भने आइतबार र बिहीबार भैरहवासहित ती गन्तव्यमा उडान भर्दै आएको छ ।


स्रोतका अनुसार अहिले निगमले एकजना क्याप्टेनको भरमा दिनमा एक उडान गर्दै आएको छ । बजार हिस्सा ओगट्दै मनग्ये आम्दानी गर्ने भन्दै ल्याइएका ती जहाज नउड्दा निगमलाई दैनिक करोडौं घाटा लागेको छ । स्रोतले भन्यो, ' निगम व्यवस्थापनले जानाजानी हेल्चेक्रयााइ गरेका कारण चिनियाँ जहाज थन्किने अवस्था आएको छ ।'


निगम प्रवक्ता तथा क्याप्टेन विजय लामाले भने वाइ १२ ई उडाउने ४ जनामध्ये २ जना विरामी बिदामा रहेका र एकजना इन्डोनेसिया तालिममा गएकोले केही दिनका लागि मात्रै उडान रद्द भएको बताए । उनले भने, 'हामीसँग भएका क्याप्टेन बिदा बस्दा गाह्रो भएको छ । तर पनि हामीले म्यानेज गरेर केही उडानहरु भरिरहेका छौं ।'


निगमका एक क्याप्टेनले भने निगमको व्यवस्थापनले क्याप्टेनमध्येका सबैभन्दा कनिष्ठ उद्धव घिमिरेलाई 'बेला न कुबेला' एयरबसको तालिममा पठाएकोले यस्तो अवस्था आएको बताए । निगम व्यवस्थापनले इन्डोनेसियमा एयरबसको तालिम दिन पालो मिचेर सबैभन्दा कनिष्ठ क्याप्टेनलाई पठाएको छ । ती क्याप्टेनले भने, '४ वटा जहाज उडाउन ४ जना क्याप्टेन छन् । तर यसलाई ख्यालै नगरी निगमले मनोमानी ढंगले तालिम दिन पठाएको छ । यही सिरिजका जहाज उडान सक्ने क्याप्टेन बनाउन तिर नलागी अन्तैतिर तालिम गर्न पठाएको छ । जुन वाई १२ ई प्रतिको बेवास्ता हो ।'


स्रोतका अनुसार बिरामी बिदामा बसेका क्याप्टेन अझै केहीदिन सन्चो नहुने हो भने वाई १२ ई सिरिजका सबै जहाज ग्राउन्डेड हुन्छन् । स्रोत भन्छ, 'शेर्पा एक्लैले पनि कति दिन जहाज उडाउने हुन् ठेगान छैन । ६ दिन उडाएपछि सातौं दिन अनिवार्य बिदा बस्नुपर्ने नियम छ । सातौं दिनमा त जहाज उडाउने क्याप्टैन त कोही हुँदैन ! अनि सबै जहाज ग्राउन्डेड हुन्छन् ।'


चारथान वाई१२-ई रहे पनि दर्ता नम्बर ‘९एन–एकेएस’ भएको एउटा भने वर्ष दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छ । उक्त जहाजको इन्जिन मर्मत गर्न भन्दै क्यानडा लगिए पनि हालसम्म फिर्ता ल्याइएको छैन ।

प्रकाशित : माघ २, २०७५ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?