कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘उखुको सरकारी मूल्य दिन सक्दैनौं’

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीका चिनी मिल उद्योगीले सरकारले तोकेको उखुको मूल्य किसानलाई दिन नसक्ने बताएका छन् । चिनीको मूल्य नबढाउने तर उखुको मात्र बढाउँदा उद्योग चल्न सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ ।

बेलाटारीमा बुधबार आयोजित सर्वपक्षीय छलफलमा बढाएको मूल्य तिर्नुपर्ने भए उद्योग नचलाउने चेतावनी उद्योगीहरूले दिएका छन् । वाग्मती खाडसारी सुगर मिलका प्रबन्ध निर्देशक राम थापाले सरकारले तोके अनुसारको मूल्यमा उखु खरिद गरी उद्योग चलाए आफूहरू टाट पल्टिने बताए । ‘चिनीको मूल्य अनुपातमा किसानको उत्पादनको मूल्य तोकिनुपर्ने हो,’ उनले भने, ‘उद्योग चलाउनुभन्दा नचलाउँदा घाटा कम हुने देखिएको छ ।


किसान र उद्योगीबीच तत्काललाई सहमतिमा एउटा मूल्य कायम गरी उद्योग सञ्चालन गर्ने र सरकारले चिनीको मूल्य बढाएपछि मात्र तोकेको मूल्य दिन हामी तयार छौं ।’ सरकारले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल अनुदानसहित ५ सय ३६ रुपैयाँ तोकेको छ ।

उखु क्रसिङ समय करिब २ महिना बितिसक्दा पनि जिल्लामा रहेका तीन ठूला चिनी उद्योग सञ्चालनमा आएका छैनन् । किसानहरूले समयमा भुक्तानी पाउन नसकेकामा चिन्ता व्यक्त गरे ।


आफूहरूले ध्वनि प्रदूषण, वायु प्रदूषण, जल प्रदूषणको सामना गर्दै नगदे बालीका रूपमा उखु लगाउँदै आए पनि समस्याको सामाधान हुन नसकेकामा किसानको गुनासो छ । समयमा चिनी उद्योग नचल्दा पश्चिम नवलपरासीमा मात्र १० प्रतिशतभन्दा बढी उखु सुकेर खेर गएको छ । जसका कारण किसानलाई करिब ११ करोडभन्दा बढी रकम घाटा भएको छ ।


मंसिरको पहिलो साता नै सञ्चालन हुनुपर्ने उद्योग माघ पहिलो सातासम्म पनि सञ्चालनमा नआउँदा उखु सुकेको हो । किसानले घाटा सहनुपरेको छ । उद्योगी, किसान र जनप्रतिनिधिको सर्वपक्षीय भेलामा उद्योग सञ्चालनमा नआए खेतमा नै उखुमा आगो लगाएर विरोधमा उत्रिने किसानहरूले चेतावनी दिएका छन् ।


उद्योग नचलेमा थप घाटा सहनुपर्ने भन्दै तत्काल उद्योग चलाउन किसानले माग गरेका छन् । उखु उत्पादक किसान समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले सरकारले तोकेको मूल्य दिन आनाकानी गरेर सरकारको निर्देशन उद्योगीले पालना नगरेको बताए । ‘किसान ऋणमा डुबेर आत्तिसकेका छन् । लगाएको खेती नै सुक्ने अवस्था आउँदा पनि उद्योग नचलाईकन बस्न सुहाउँछ ?’ उनले भने, ‘तत्काल तोकिएको मूल्य दिएर उद्योग नचलाएमा कडा संघर्षमा उत्रन बाध्य हुनेछौं ।’


जिल्लामा ७ हजार ५ सय हेक्टर क्षेत्रफमा उखु खेती हुँदै आएको छ, जसबाट करिब २० लाख क्विन्टल उखु उत्पादन हुने अनुमान छ । जिल्लामा इन्दिरा सुगर इन्डस्ट्रिज, वाग्मती खाडसारी र लुम्बिनी चिनी मिल गरी तीन वटा ठूला उद्योग सञ्चालनमा छन् भने एक सयभन्दा बढी भेली बनाउने क्रसर सञ्चालनमा छन् ।

प्रकाशित : माघ ४, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?