१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

महँगी घटयो : राष्ट्र बैंक

काठमाडौँ — महँगी अघिल्लो वर्षको तुलनामा कम भएको राष्ट्र बैंकले जनाएको छ । बैंकको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति ३.७ प्रतिशत रहेको छ ।

महँगी घटयो : राष्ट्र बैंक

अघिल्लो वर्ष सोही अवधिमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सीमान्त रूपले मात्र बढेका कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा न्यून रहेको हो ।


चालु खाता र विदेशी लगानी

राष्ट्र बैंकका अनुसार यस अवधिमा चालु खाता घाटा विस्तार भई १ खर्ब १९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा ६४ अर्ब ११ करोड थियो । शोधनान्तर स्थिति पनि ८५ अर्ब ३२ करोडले घाटामा छ ।


अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ अर्ब ४८ करोडले घाटामा थियो । पुँजीगत ट्रान्सफर ५ अर्ब २७ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ६ अर्ब ७८ करोड रहेको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ८ अर्ब ८६ करोड र प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब १२ करोड रुपैयाँ थियो ।


कुल विदेशी विनिमय सञ्चिति असार मसान्तको ११ खर्ब २ अर्ब ५९ करोडबाट घटेर मंसिर मसान्तमा १० खर्ब ६५ अर्ब ८० करोडमा सीमित भएको छ । विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.७ प्रतिशत छ । बैंकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले नौ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।


निर्यात ११ प्रतिशत र आयात ३४ प्रतिशतले वृद्धि

पाँच महिनामा वस्तु निर्यात ११.२ प्रतिशतले वृद्धि भई ३७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । गन्तव्यका आधारमा भारततर्फ २०.७ प्रतिशत र अन्य मुलुकतर्फ ३.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ३०.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोसाक, पस्मिना, जुटका सामानलगायत वस्तुको निर्यात बढेको छ भने अलैंची, रोजिन, छाला र जुत्ता–चप्पललगायतका वस्तुहरूको निर्यात घटेको छ ।


वर्ष ०७५/७६ को पाँच महिनामा कुल वस्तु आयात ३४.२ प्रतिशतले बढेर ६ खर्ब ७ अर्ब पुगेको छ ।


वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ३१.७ प्रतिशत, चीनबाट ४७.७ प्रतिशत र अन्य मुलुकबाट ३३.७ प्रतिशतले आयात बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्टस, हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, अन्य उपकरण तथा पार्टपुर्जा, तरकारी, फलफूल तथा चामललगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, सिमेन्ट, स्वास्थ्य उपकरण तथा औजारलगायत वस्तुहरूको आयात घटेको छ ।


पाँच महिनामा कुल वस्तु व्यापार घाटा ३६.१ प्रतिशतले विस्तार भई ५ खर्ब ६९ अर्ब ४९ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.२ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त अनुपात ७.५ प्रतिशत रहेको थियो ।

यस अवधिमा आन्तरिक कर्जा ९.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.९ प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७५ मंसिर मसान्तमा यस्तो कर्जा ३४.६ प्रतिशतले बढेको छ । मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ११.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ९.९ प्रतिशतले बढेको थियो ।


वार्षिक विन्दुगत आधारमा ०७५ मंसिर मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २३.९ प्रतिशतले बढेको छ । निक्षेप संकलन समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ५.६ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा ०७५ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९.८ प्रतिशतले बढेको छ ।


रेमिटयान्स बढयो

बाहिरिने कामदारको संख्यामा कमी आए पनि उनीहरूले पठाउने रेमिटयान्स भने बढेको छ । पाँच महिनामा रेमिटयान्स आप्रवाह ३२ प्रतिशतले बढेर ३ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।


अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । पहिले गएकै कामदारले पठाएकाले रेमिटयान्स रकम बढी देखिएको रोजगार व्यवसायी बताउँछन् । उनीहरूका अनुसार हाल १७ देखि २० लाख नेपाली वैदेशिक रोजगारीमा छन् ।

प्रकाशित : माघ ४, २०७५ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?