छुट पुर्जी नपाउँदा सेतकचिनी सड्दै

हुम्ला — जडीबुटी व्यसायीले स्थानीयबासीबाट संकलन गरेको ठूलो परिमाणको सेतकचिनी (खिरौला) सड्ने अवस्थामा पुगेको छ । जिल्ला बाहिर लैजाने छुट पुर्जी नपाउँदा सेतकचिनी सड्ने अवस्थामा पुगेको हो । 

डिभिजन वन कार्यालयका अनुसार सेतक चिनी बाहिर लैजाने छुट पुर्जीका लागि व्यवसायीले १० हजार क्विन्टलभन्दा बढीको माग गरेका छन् । कानुनी जटिलताका कारण जिल्लाबाट बाहिर लैजान पाँच सय क्विन्टलभन्दा बढीको छुट पुर्जी दिन नसकिने बन कार्यालयले जनाएको छ ।


पाँच सयमध्ये पनि तीन सय राष्ट्रिय वनबाट संकलन गरेको र दुई सय सामुदायिक वनबाट संकलन गरेका व्यवसायीलाई मात्र दिन सकिने वन अधिकारीको भनाइ छ । छुट पुर्जीका लागि माग गर्ने व्यवसायीमध्ये हालसम्म प्रतिव्यवसायी १ सय ५० किलोग्रामका दरले दुई सय व्यवसायीलाई तीन सय क्विन्टलको मात्र छुट पुर्जी दिइएको छ ।


वनको स्रोत सर्भेक्षण (ईआईए) नभएका जडीबुटीका लागि कार्ययोजनाअनुसार पाँच सय क्विन्टलभन्दा बढी जिल्ला बाहिर लैजाने अनुमति नभएको अधिकारीको भनाइ छ । ‘ईआईए नभएका हरेक जडीबुटीको निश्चित परिमाण तोकिएको हुन्छ,’ कार्यालय प्रमुख तोयानाथ पौडेलले भने, ‘वन ऐन र नियमावलीअनुसार तोकिएको निश्चित परिमाणभन्दा बढीको छुट पुर्जी दिन सकिँदैन ।’ बढी आवश्यक भए वनको स्रोत सर्भेक्षण (एआईई) गर्नका लागि सम्बन्धित व्यवसायी वा उद्योगीले वन मन्त्रालयमा नै पहल गर्नुपर्ने उनको भनाइ छ ।


जिल्लामा व्यवसायीले पाँच सयदेखि दुई हजार क्विन्टलसम्म सेतकचिनी जम्मा गरेको डिभिजन वन कार्यालयका रेन्जर लोकजंग शाहीले बताए । उनका अनुसार जिल्लामा फार्म दर्ता गराएर व्यवसाय सुरु गरेका १ सय ४७ व्यवसायी छन् । सबै व्यवसायीसँग कम्तीमा पाँच सय र बढीमा दुई हजार क्विन्टल सेतकचिनी मौज्दात छ । बिक्रीका लागि लैजान नपाउँदा व्यवसायी मर्कामा परेका छन् ।


सेतकचिनी गत वर्षदेखि जिल्लामा खरिद बिक्री गर्न थालिएको हो । यो जडीबुटी चीन जान थालेपछि व्यवसायीले अन्य जडीबुटी छोडेर सेतकचिनी खरिद बिक्री गर्न थालेका हुन् । व्यवसायीले संकलन गर्न थालेपछि स्थानीय किसानले आफ्नो खेतबारीमा र राष्ट्रिय तथा सामुदायिक वनबाट संकलन गरी व्यवसायीलाई बिक्री गर्ने गरेका छन् । विगत वर्ष जडीबुटी व्यवसायीले जटामसी, कुटकी, अत्तिसजस्ता जडीबुटी खरिद बिक्री गर्ने गरेकामा गत वर्षदेखि सबै व्यवसायी सेतकचिनीमा लागेका छन् ।


सहजै संकलन गर्न सकिने यो जडीबुटी स्थानीय किसानले आफ्ना घरका छतछतमा सुकाएका छन् । जिल्ला बाहिर लैजाने छुट पुर्जी नपाएपछि व्यवसायीले स्थानीय किसानबाट खरिद गर्न छोडेका छन् । व्यवसायीले खरिद गर्न छोडेपछि संकलन गरेका स्थानीय किसान पनि मर्कामा परेका छन् । संकलन गरिसकेका सेतकचिनी बिक्री हुन नसके घरमै सड्ने उनीहरूको चिन्ता छ । वन ऐन तथा नियमावलीअनुसार ईआईए नभएका कारण पाँच सय क्विन्टलभन्दा बढीको छुट पुर्जी नपाउँदा व्यवसायीको गत वर्ष मात्रै ठूलो परिमाणमा जटामसी सडेर खेर गएको थियो ।

प्रकाशित : माघ ५, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?