कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

‘लगानी ल्याएँ, विदेश लगेको छैन’

काठमाडौँ — गैरआवासीय नेपाली उपेन्द्र महतोले विदेशबाट नेपालमा लगानी ल्याएको तर नेपालबाट उता भने नलगेको प्रतिक्रिया दिएका छन् ।

‘लगानी ल्याएँ, विदेश लगेको छैन’

खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेका विवरणहरूमाथि टिप्पणी गर्दै प्रेस विज्ञप्तिमार्फत नेपालमा लगानी भित्र्याइरहेको तर उता नलगेको बताएका हुन् । ‘म करिब चार दशकदेखि अध्ययन र व्यवसायको सिलसिलामा विदेशमा बस्दै आएको सर्वविदितै छ ।


मूलत: व्यापार–व्यवसायमा संलग्न रहेको हुँदा नेपालबाहेक विभिन्न देशमा मेरा व्यावसायिक प्रतिष्ठानहरू र तदनुरूपका लगानी थिए र अझै पनि छन्,’ उनले विज्ञप्तिमा भनेका छन् । नेपालमा गरिएको लगानी नेपालीकै नाताले गरेको उनले उल्लेख गरेका छन् । ‘नेपालमा कुनै पनि परियोजनामा मैले विदेशीको नाताले लगानी गरेको छैन,’ विज्ञप्तिमा छ, ‘मैले आजसम्म विदेशबाट जति लगानी ल्याए पनि नेपालबाट चाहिँ विदेशमा लगानी गर्नका लागि रेमिटययान्सका रूपमा जम्मा गर्नका लागि एक डलर पनि लिएर गएको छैन ।’


उनले कर छलीका लागि अनुकूल भएका टयाक्स हेवन देशमा गरिएको लगानी, एनसेलको कर छली प्रकरणलगायत विषयमा भने उल्लेख गरेका छैनन् । नेपालिक्स नाम दिइएको खुलासाअनुसार महतो एनसेल बिक्रीको कर छलीमा मुछिएका छन् । उनको नाममा टयाक्स हेवन मुलुकमा आधा दर्जन कम्पनी रहेको खुलासा भएको छ । ती कम्पनीबाट विवादास्पद व्यापारी अजेयराज सुमार्गीको कम्पनीमा विदेशी लगानीका रूपमा रकम भित्र्याएको छ । टयाक्स हेवनकै अन्य केही कम्पनीबाट समेत लगानी भित्र्याएको खुलासमा उल्लेख छ । यसबारे विज्ञप्तिमा उल्लेख छैन ।


नेपालमा गरेको लगानी विदेशबाटै ल्याएको जनाउँदै अझै ल्याउने संकल्प र समर्पणका साथ काम गरिरहेको महतोले उल्लेख गरेका छन् । ‘म अन्तर्राष्ट्रिय व्यापार–व्यवसायमा छु । म व्यवसायमा भएको हुनाले मेरो परिवार खास गरेर भाइ वीरेन्द्रप्रसाद महतो र बहिनी जुलीकुमारी महतोको नाम अनावश्यक रूपमा जोडिदिँदा मलाई दु:ख लागेको छ,’ विज्ञप्तिमा भनिएको छ ।


गैरआवासीय अभियानअन्तर्गत सेवा गरिरहेको उनले उल्लेख गरेका छन् । ‘विदेशमा छरिएर रहेका नेपालीलाई संगठित गर्दै मातृभूमिसँग जोड्ने र समृद्धिमा क्षमताअनुरूपको योगदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले सञ्चालित गैरआवासीय नेपाली अभियानको नेतृत्व गर्दै मैले सन् २००३ देखि २००९ सम्म गैरआवासीय नेपाली संघको अध्यक्षको हैसियतमा समुदाय र मुलुकको सेवा गर्ने सौभाग्य पनि पाएको छु,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : माघ ५, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?