३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बिकेन गाउँमै प्रशोधित चिया

तयारी अवस्थाको चिया बिक्री नहुँदा जिल्लाका २ सयभन्दा बढी किसानको झन्डै ३५ लाख रुपैयाँ जाम 
चन्द्र कार्की

सोल्मा, तेह्रथुम — गाउँमै कारखाना खुलेपछि राम्रो मूल्य पाइने आशामा हौसिएका जिल्लाका साना चिया किसान उत्पादित तयारी चिया बिक्री नभएपछि निरास बनेका छन् ।

गाउँमै खुलेको कारखानामा प्रशोधनपछि बिक्रीका लागि तयारी अवस्थामा रहेको ३ हजार ५ सय केजी अर्थोडक्स तयारी चिया बिक्री नभएको हो ।


बजार पठाउन तयारी अवस्थाको यति धेरै परिमाणको अर्थोडक्स चिया बिक्री नभएपछि अहिले कारखानाकै गोदाममा थन्क्याएर राखिएको कारखानामा चिया प्रशोधन प्राविधक वीरबहादुर बस्नेतले बताए । तयारी अवस्थाको चिया बिक्री नहुँदा जिल्लाका दुई सयभन्दा बढी किसानको झन्डै ३५ लाख रुपैयाँ जाम भएको उनले बताए ।


कारखानाले प्रशोधनपछि तयारी अर्थोडक्स चिया प्रतिकिलो १ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ । चार दशकअघिदेखि बारीका कान्लामा चियाका बिरुवा रोपेर खेती गरिरहेका जिल्लाभरका १ हजार बढी साना चिया किसान उत्पादित तयारी चिया नै बिक्री नभएपछि फेरि पनि निरास भएका छन् ।


गाउँमै सुविधायुक्त चिया प्रशोधन कारखाना खुलेपछि उत्पादित चियाले राम्रो मूल्य पाउने आशा गरेका किसान अहिले निरास भएको सोल्माका अगुवा चिया किसान रत्न कार्कीले बताए । उनले आफूले उत्पादन गरेको १ हजार ५ सय किलो हरियो पत्ती कारखानालाई दिएका थिए । कारखानाले प्रशोधन गरेको तयारी चिया नै बिक्री नभएपछि आफूले गत जेठ महिनादेखि पत्तीको मूल्य नपाएको किसान कार्कीले बताए ।


जिल्लाका पाँच सय बढी चिया किसान र नौ वटा चिया सहकारीले उत्पादन गरेको हरियो पत्ती कारखानामा बिक्री गर्दै आएका थिए । सोल्मामै रहेको सिंहदेवी चिया उत्पादक सहकारी संस्थाले चिया किसानसमेतको लागतमा गत वैशाखमा कारखाना सञ्चालनमा ल्याएको थियो ।


कारखाना सञ्चालनका लागि डेनमार्क सरकारको सहयोगमा उन्नति समावेशी वृद्धि सहयोग कार्यक्रमले समेत सहयोग गरिदिएको थियो । कारखाना सञ्चालनमा आएपछि प्रशोधन गरिएको ६ हजार किलो तयारी अर्थोडक्स चियामध्ये २ हजार ५ सय किलो मात्र बिक्री भएको कारखानाले जनाएको छ । बाँकी तयारी चिया कारखानाको गोदामै थन्काएर राखिएको छ ।


चियाको हरियो पत्ती प्रशोधन गर्ने कारखाना जिल्लामै खुलेपछि सोल्मासहित सुङनाम, जिरीखिम्ती, मोराहाङ, श्रीजुङ, हमुरजुङ, पञ्चकन्या, आङदिम वसन्तपुर, फुलेक, दांगपा र छिमेकी जिल्ला धनकुटा र संखुवासभाका साना चिया किसानले हरियो पत्ती यहीँ बिक्री गर्दै आएका थिए । कारखानालाई प्रतिकिलो ६५ रुपैयाँमा हरियो पत्ती बिक्री गरेका दुई सय किसानले गत जेठदेखि पैसा नपाएको गुनासो गरेका छन् ।


अर्थोडक्स चिया अन्य चियाको तुलनामा केही महँगो पर्ने र उत्पादित चियाको प्रचारप्रसार गर्न नसक्दा चियाले बजार नपाएको कारखानका प्राविधिक बस्नेतले बताए । अर्थोडक्स चिया उत्पादनमा लागत मूल्य बढी हुने गरेको र सस्तोमा बिक्री गर्दा लागत मूल्यसमेत नउठ्ने हुँदा समस्या भएको सहकारीले जनाएको छ ।


जिल्लामै कारखाना खुलेपछि किसानले प्रतिकेजी ९ रुपैयाँ बढी मूल्य पाउन थालेका थिए । प्रशोधनपछिको तयारी चिया बिक्रीमा समस्या भएपछि किसानको पैसा भुक्तानी गर्न समस्या भएको कारखाना सञ्चालक सिंहदेवी चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक शंकर खनालले बताए ।


कारखानामा जडान गरिएको अत्याधुनिक सर्टिङ मेसिनबाट चिया प्रशोधन हुने गरेको छ । किसानसमेतको लागत सहभागितामा तीन करोड रुपैयाँ लागतमा सञ्चालनमा ल्याइएको कारखानाबाट उत्पादित चियाको बजार प्रवद्र्धनमा सरकारी सहयोगको आवश्यक परेको किसानको भनाइ छ ।


कारखाना सञ्चालनमा आएपछि सोल्मासहित जिल्लाभर उत्पादन भएको हरियो पत्ती कारखानामा ल्याएर प्रशोधन भइरहेको छ । उत्पादित चिया ग्रेडिङ, प्याकेजिङ र बजारीकरणमा सरकारी सहयोग भए तयारी चिया बिक्रीमा समस्या नहुने किसान निलम खनालले बताए । उनले सिजनमा १ हजार २ सय किलो हरियो पत्ती चिया कारखानामा बिक्री गर्दै आएको बताए ।


कारखानाको दैनिक तीन सय केजी हरियो पत्ती प्रशोधन गर्ने क्षमता छ । सुरुमा वार्षिक ४० हजार केजी तयारी चिया प्रशोधन गर्ने लक्ष्यका साथ कारखाना स्थापना गरिएको सहकारी संस्थाले जनाएको छ । त्यसका लागि वार्षिक दुई लाख केजी हरियो पत्ती आवश्यक पर्ने कारखानाले जनाएको छ ।


१ लाख ५० हजार किलो हरियो पत्ती सोल्मामा उत्पादन हुने र बाँकी पत्ती जिल्लाका अन्य क्षेत्रबाट ल्याइने व्यवस्थापक खनालले जानकारी दिए । जिल्लाका साना चिया किसानले वार्षिक दुई लाख किलो हरियो पत्ती उत्पादन गर्दै आएका छन् ।

प्रकाशित : माघ ६, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?