कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

खुला सीमाबाट भित्रियो चिनियाँ मदिरा

हुम्ला — खुला सीमा नाकाका कारण जिल्लामा चिनियाँ मदिरा भित्रिने क्रम बढदै गएको छ । प्रहरीले मदिरा नियन्त्रण अभियान सञ्चालन गरेसँगै चिनियाँ अवैध मदिरा बरामद हुने क्रम बढेको छ ।

सबै मदिरा बेवारिसे अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।


पछिल्लो समय हुम्ला प्रहरीले सिमकोट गाउँपालिका ६ मुङरधारा नजिक बेवारिसे अवस्थामा फेला पारेको चिनियाँ मदिरा नष्ट गरेको छ । अवैध तरिकाले भित्रिएको १५ कार्टुन मदिरा र ४२ वटा क्यान बियर कार्यालयका हाताभित्र नष्ट गरिएको हो । अवैध तरिकाले भित्रिएको मदिरा ओसारपसार गर्ने व्यक्ति भने फेला नपरेको कार्यालयले जनाएको छ ।


यसअघि सिमकोट गाउँपालिकाको चुवाखोला नाका हुँदै अवैध तरिकाले भित्र्याइएको १ सय ६० कार्टुन चिनियाँ मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको थियो । मदिरा बेवारिसे अवस्थामा फेला परेका भन्दै प्रहरीले ओसारपसार गर्ने व्यक्तिको नाम सार्वजनिक गरेको थिएन ।


गत भदौमा जिल्ला प्रहरीले चंखेली गाउँपालिका ५ को टाँके नाकामा गस्तीले बेवारिसे अवस्थामा फेला पारेको २ हजार ९ सय ८ कार्टुन चिनियाँ मदिरा बरामद गरी नष्ट गरेको थियो । प्रहरीले तीन महिनाको अवधिमा ३ हजार ८६ कार्टुन चिनियाँ मदिरा बरामद गरी नष्ट गरिसकेको छ । जिल्लास्थित सञ्चारकर्मीले मदिरा व्यापारीको नाम सार्वजनिक गर्न नचाहेको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिहर खडकाले हालसम्म बरामद भएका चिनियाँ मदिरा बेवारिसे अवस्थामै भेटिएको बताए ।


प्रहरी देख्नेबितिकै व्यापारीले मदिरा छोडेर भाग्ने गरेकाले समात्न नसकिएको प्रहरीको दाबी छ । ‘भौगोलिक विकटता, यातायातका साधन नहुनु, रातिको समयलगायत कारण व्यवसायीलाई पक्राउ गर्न समस्या भएको प्रहरीले जनाएको छ । ‘सदरमुकाम सिमकोटमै फेला परेको मदिरासमेत राति १२ बजेको समयमा गस्तीले फेला परेको हो,’ खड्काले भने, ‘रातिको समय भएकाले अँध्यारोमा व्यापारी समाउन समस्या भयो ।’

हुम्लामा चिनियाँ मदिराबाट राम्रो मुनाफा हुने गरेकाले अवैध तरिकाले भित्रिने गरेको छ । स्थानीयले छोटो समय र कम लगानीबाट बढी नाफा कमाउन अवैध तरिकाले चिनियाँ मदिरा ओसारपसार गर्ने गरेका छन् । स्थानीय बिक्रेताले प्रतिबोतल पाँच सय रुपैयाँमा चिनियाँ मदिरा बिक्री गर्ने गरेका छन् । सीमापारिको चिनियाँ बजारमा एक बोतलको करिब एक सय रुपैयाँ पर्ने स्थानीयले जनाएका छन् ।

प्रकाशित : माघ ६, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?