कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

सडकले डोल्पालीको भान्सा सस्तो

जाजरकोट / डोल्पा — मंसिरमा यातायातका साधन चल्न थालेपछि दुनैबासीको थाप्लोमा भारी बोकेर सातासम्म पैदल हिँड्नुपर्ने बाध्यता टरेको छ । मान्छेको आवजावत र चहलपहल बढेको छ । दैनिक उपभोग्य वस्तुको मूल्य पनि सस्तिएको छ ।

सडकले डोल्पालीको भान्सा सस्तो

स्थानीय बजारमा रोजगारी सिर्जना भएका छन् । सस्तो ढुवानीले उपभोग्य वस्तुको मूल्य आधा घटेको व्यवसायीहरू बताउँछन । दुनैबासीको पहिलेको महँगो भान्सा अहिले सस्तो बन्न पुगेको छ । विगतमा दुनै बजारमा प्रतिकिलो डेढ सय पर्ने चिनी हाल सय रुपैयाँमा पाइन्छ ।


सेनाले जाजरकोट–डोल्पा सडकको खलंगादेखि दुनैसम्मको १ सय १८ किलोमिटर ट्रयाक खोल्ने कार्य पूरा गरेपछि दुनै सडक सञ्जालसँग जोडिएको हो । दुनैबाट यातायातका साधन चल्न थालेपछि डोल्पालीको दु:खका दिन गएको त्रिपुरासुन्दरी नगरपालिका ३ रसीका शेरबहादुर बुढाले बताए । ‘यसअघि जाजरकोट खलंगा पुग्न थाप्लामा भारी बोकेर सात–आठ दिन हिड्नुपथ्र्यो । सडक खुलेपछि एकैदिन खलंगा पुग्ने भएका छौं,’ उनले भने । सडक खुलेपछि यातायात मात्र हैन, उपभोग्य वस्तु तथा निर्माण सामग्रीको ढुवानी गर्न पनि सहज भएको बुढाले बताए ।


दुनैसम्म सडक यातायात सञ्चालनमा आएपछि चामल, दाल, तेल, चिनी, ग्यासलगायत दैनिक उपभोग्य वस्तुको मूल्य ३० देखि ४० प्रतिशतले घटेको उनले जनाए । ‘विगतमा ७० देखि ९० रुपैयाँ प्रतिकिलोमा ढुवानी हुने वस्तु हिजोआज ४५ देखि ५५ पर्न जान्छ,’ बुढाले भने । उनका अनुसार गत वर्ष प्रति सिलिन्डर ४ हजार ५ सय पर्ने ग्यास सिलिन्डर यो वर्ष घटेर तीन हजारमा पाइन थालेको छ । दैनिक उपभोग्य वस्तु मूल्य घटेपछि विपन्न परिवारको चुलो सस्तोमा बल्न थालेको छ ।


मोटरबाटो खुलेपछि रिम्ना, कालीमाटी, रारी जिउला, बगरा, तल्लुबगर, छहरेबगर, दामाचौर, त्रिवेणी, खदाङ, चुंगाड, लिकु, त्रिपुराकोट, जुफाललगायत दर्जन बजार विस्तार भएका छन् । नेपालगन्जमा पाइने धेरै वस्तु डोल्पाका बजारमा उपलब्ध हुन थालेका छन् । घोडा खच्चड, चौंरीगाई र भेंडाबाख्राका गोठालो लाग्ने र जटीबुडी संकलन तथा बिक्रीमा सीमित स्थानीयले अहिले होटल, ढुवानी व्यवसाय, पसललगायतमा लगानी गर्न थालेका छन् ।


‘सात–आठ वर्षअघिसम्म बाटो हिँडदा पानी पिउने ठाउँसमेत पाइँदैनथ्यो,’ तल्लुबगरका किशोर मल्लले भने, ‘त्यही बाटोमा हिजोआज जे खोज्यो त्यही पाइन्छ ।’ सडक पुगेपछि त्रिवेणी बजारले मुडेचुला गाउँपालिकाकाअन्तर्गतका कालिका, रिडिङ, इल, सुर, नर्कु, सर्मी, होर्त, ओक्टलगायत गाउँका बासिन्दालाई दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गर्न सहयोग गरेको छ । त्यस्तै त्रिपुराकोट बजारले लिकु, पाहाडा, रसी, करेलीकाँडा, सुंग, रंग, रुमलगायत गाउँलाई बजारसँग जोडेको छ ।


विभिन्न स्थानमा पुल नबन्दा उपभोग्य वस्तु तथा निर्माण सामग्रीको ढुवानीमा कठिनाइ भएको उद्योग वाणिज्य संघ डोल्पाका अध्यक्ष लालिमान बुढाले बताए । सडकअन्तर्गतका नदी तथा खोलमा पुल बनेमा डोल्पा पुग्ने सामानको मूल्य चार गुणाले घट्ने उनको भनाइ छ । खोलापिच्छे यातायातका साधन ढुवानी भाडा महँगो हुन गएको उनले जनाए ।


उनका अनुसार रुपगाड खोला, त्रिपुराकोट, गल्लीगार, छलगाड, चुंगाड, खदाङ, करपगार, त्रिवेणी, तल्लुबगर, तासुगाड, नलगाडलगायत खोला तथा भेरी नदीमा पुल नबन्दा सामान बोकेर गाडी फेर्नुपर्ने सास्ती हटेको छैन । सडकमा टयाक्टर, जिपलगायत हलुका सवारी साधन मात्र सञ्चालनमा छन् । ‘पुल नबन्दा गाडीमा सामान पल्टी गर्नुपर्ने, भरिया नपाइने, समान चोरी हुनेलगायत समस्याले उपभोग्य वस्तुको मूल्य खासै घट्न सकेको छैन,’ उनले भने, ‘पुल निर्माण तथा स्तरोन्नतिको काम तत्काल गर्नुपर्ने आवश्यकता छ ।’


जाजरकोट–डोल्पा सडकमा यातायात सुचारु भएपछि डोल्पा, रुकुम र पूर्वी जाजरकोटका बासिन्दालाई दैनिक उपभोग्य वस्तु ओसारपसार तथा आवतजावतमा सहज भएको छ । सडकले जाजरकोटका विकट बस्ती खगेनकेट, रग्दा, भगवती, रुकुमको खदी, गोतामकोट र डोल्पाका दर्जनौं गाउँका बासिन्दालाई सुविधा भएको हो ।


सडकको ट्रयाक खोल्ने कार्य पूरा भए पनि दर्जन नदी तथा खोलामा पुल निर्माण र स्तरोन्नतिको काम बाँकी रहेको नेपाली सेनाको सडक निर्माण कार्यदल प्रमुख, प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताए । नेपाली सेनाले आठ वर्षअघि जाजरकोट–डोल्पा सडकको खलंगाबाट निर्माण थालनी गरेको थियो ।


भेरी करिडोर मार्गमा पर्ने यो सडक राष्ट्रिय महत्त्वको आयोजना भएको पहाडीले बताए । दुनै बजारसम्म सडक पुगे पनि माथिल्लो डोल्पामा यातायातको सुविधा नहुँदा तिन्जे, छार्का भोट, सिमेन भोट, धोलगायत दर्जनौं विकट बस्तीका बासिन्दाको जनजीवन भने कठिन नै छ ।


डोल्पाका ती विकट बस्तीका बासिन्दालाई सातासम्मको पैदल हिँडाइ र थाप्लोमा भारी बोक्नुपर्ने बाध्यताले छाडेको छैन । खाद्यान्नलगायतको जोहो गर्न पाँच दिन पैदल हिँडेर सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता नटरेको उद्योग वाणिज्य संघका अध्यक्ष बुढाले बताए ।

प्रकाशित : माघ ६, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?