कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पाइपलाइनको काम निकुञ्जमा बाँकी

शंकर आचार्य

पर्सा — अमलेखजन्ज–रक्सौल–मोतीहारी तेल पाइपलाइन परियोजनाअन्तर्गत नेपालतर्फ पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रबाहेक अन्य क्षेत्रमा पाइप लाइन ओछयाउने काम सकिएको छ । 

पाइपलाइनको काम निकुञ्जमा बाँकी

परियोजनाका इन्जिनियर शरदप्रसाद पौडयालका अनुसार हाल वीरगन्ज पथलैया सडक खण्डअन्तर्गत वीरगन्जको गण्डकदेखि परवानीपुरतर्फ कंक्रिट पाइपमा फलामे पाइप हाल्ने काम अन्तिम चरणमा छ । त्यहाँ हिलो र पानी भएकाले जोगाउन कंक्रिट पाइपभित्र धातुको पाइप राखिएको उनले बताए ।


यसबाहेक वीरगन्जस्थित नेपाल भारत सीमामा रहेको सिर्सिया खोला मुनिबाट पाइप ओछयाउने काम पनि सम्पन्न भएको छ । हाल नेपाल गेट नजिक पाइप जडानको काम अन्तिम चरणमा रहेको उनले बताए ।


‘पर्सा र बारामा गरी करिब सबै स्थानमा पाइप जडानको काम सम्पन्न भएको छ,’ उनले भने, ‘अब बारामा पूर्व–पश्चिम राजमार्गको समानान्तर पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा मात्र पाइप लाइनको काम पूर्ण रूपले बाँकी रहेको छ ।’

निकुञ्ज क्षेत्र परेकाले रूख काट्न मन्त्रिपरिषद्को निर्णय चाहिने भएकाले उक्त निर्णय लगत्तै रूख कटान भएपछि त्यहाँ पनि पाइप लाइनको काम सुरु गरिने उनले बताए । परियोजनाको नौ किमि पाइप लाइन त्यस क्षेत्रमा पर्छ ।


यो परियोजनाअन्तर्गत फागुन २५ देखि पाइप लाइन ओछयाउने काम सुरु गरिएको थियो । पाइपलाइनको अधिकांश भाग हाल निर्माणाधीन वीरगन्ज पथलैया व्यापारिक मार्गमा पर्छ । हाल उक्त मार्ग छ लेनमा विस्तार हुँदै छ । छ लेन सडकसँगै पाइप लाइन पनि पुरिनेछ । पाइप जमिनमुनि अढाई मिटरभित्र गाडिनेछ ।


इन्डियन आयल कर्पोरेसनको लगानीमा सञ्चालित यो परियोजनाका लागि नेपालले पाइप लाइन ओछयाउने स्थान र वीरगन्जका केही स्थानमा नेपाल आयल निगमले मुआब्जा वितरणको कामबाहेक नेपाल सरकारको लगानी छैन ।

परियोजनाको लागत प्रतिकिमि भारु ४ देखि ५ करोड रुपैयाँ रहेकाले परियोजनाको कुल लागत झन्डै ३ सय ५० करोड भारु रहेको छ ।

प्रकाशित : माघ ६, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?