स्याउ ‘हब’ बन्दै मनाङ

लमजुङ — हिमाली जिल्ला मनाङमा बर्सेनि स्याउ उत्पादन बढ्दै गएको छ । पछिल्लो हाइब्रिड (वर्णशंकर) जातका स्याउ परीक्षण सफल भएपछि स्याउमा किसानको आकर्षण बढेको छ ।

माथिल्लो मनाङको मनाङ ङिस्याङ, तल्लो मनाङको नासों, बीचको चामेमा केही वर्षयता वर्णशंकर जातका स्याउ खेती थालिएको छ । पहिलोपटक नार्पाभूमि गाउँपालिकामा समेत यसको परीक्षण थाल्ने तयारी गरिएको छ ।


यसअघि रैथाने स्याउमात्रै हुँदा यसको उत्पादन र क्षेत्रफल बढेको थिएन । अहिले किसान वर्णशंकर जातका स्याउ खेतीतर्फ आकर्षित भएको चामे गाउँपालिका २ का स्याउ कृषक नरेन्द्र घलेले बताए । उनका अनुसार गाउँमा रैथाने र वर्णशंकर जातका स्याउ सरिबरी छ ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (स्याउ जोन) कार्यालयका अनुसार चालु आर्थिक वर्षसम्म आइपुग्दा २ सय ७ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । ८९ हेक्टर उत्पादनशील क्षेत्रमा ९ सय १६ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।


गत आव २०७४/०७५ मा ८९ हेक्टर क्षेत्रफलमा ९ सय १० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । आव २०७३/०७४ मा ८७ हेक्टर क्षेत्रफलमा ८ सय २५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । आव २०७२/०७३ मा ७८ हेक्टर क्षेत्रफलमा ६ सय ६५ मेट्रिक टन उत्पादन भएको थियो ।


स्याउ जोन मनाङका प्रमुख कृषि अधिकृत राजेश्वर सिलवालका अनुसार किसानले वर्णशंकर जातका स्याउ लगाउन थालेपछि उत्पादन बढ्न थालेको हो । ‘धेरैले रैथाने स्याउ खेती गरिरहेका छन् । यीमध्ये अधिकांशको व्यावसायिक उत्पादन छ । उत्पादन राम्रो हुने भएकाले वर्णशंकर जातका स्याउ लगाउन थालिएको छ । यो क्रम बढ्दो छ’ उनले भने । मनाङमा १ सय बढी स्याउ किसान रहेको दाबी गरिएको छ ।


स्याउ जोन मनाङका प्राविधिक सहायक योवनकुमार सुनुवारका अनुसार स्याउ खेतीबाट राम्रो आम्दानी भएपछि किसानको चासो स्याउ खेतीमा छ । हिमाली भेगको तल्लो क्षेत्रमा हुने स्याउ खेतीका लागि किसानले लगानी गर्न थालेका छन् ।


‘फल क्षमता बढी भएका बिरुवा लगाइका छन् । उन्नत जातको बिरुवा लगाइएको छ । सिंचाइ, मलखादको व्यवस्था मिलाएका छन् । स्याउलाई चाहिने हावापानी भएमा यसको उत्पादन बढ्छ । मनाङको पछिल्लो हावापानी ठीक छ’ उनले भने । उनका अनुसार उही किसानले खेती गर्ने तरिका फेरेका छन् । स्याउका बोटको नियमित हेरचाह, औषधि उपचार गर्न थालेका छन् । ‘परम्परागत खेतीभन्दा सुधारोन्मुख खेतीले आम्दानी बढाएको छ’ उनले भने ।


मनाङका उत्पादित स्याउ ७० प्रतिशत काठमाडौं, पोखरा, चितवन, बेंसीसहरका बजारमा बिक्री हुने गरेको किसान तथा प्राविधिक बताउँछन् । पहिले ठेकेदार, कर्मचारी, पर्यटकमार्फत जिल्ला बाहिरी स्याउ अहिले सवारी साधनमार्फत जान थालेका छन् । स्याउ उत्पादनलाई बढावा दिन स्याउ जोनले मनाङका ४ वटै गाउँपालिका चामे, मनाङ ङिस्याङ, नार्पाभूमि र नासों गाउँपालिकाका सम्भावित क्षेत्रको पहिचान गरेको छ ।

प्रकाशित : माघ ६, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?