कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

चिया बगानले हटायो कर्मचारी

पर्वत पोर्तेल

काँकडभिट्टा — झापाको टोकला चिया बगान प्रशासनले सरकारले लागू गरेको श्रम ऐन कार्यान्वयन गर्नुको साटो स्थायी कर्मचारीलाई भटाभट हटाइरहेको छ ।

२०५७ सालमा टोकलासहित झापा र इलामका सात वटा चिया बगानलाई सरकारले निजीकरण गरेको थियो ।


त्रिवेणी ग्रुपले सञ्चालन गर्दै आएको यो बगानमा कार्यरत ३० भन्दा बढी स्थायी कर्मचारी हटाइएको छ । करिब दुई दशकदेखि बगानमा कार्यरत श्रमिक माहु उराउले करिब डेढ महिनाअघि जागिर छाडे । बगान प्रशासनको चर्को दबाबका कारण जागिर छाड्न बाध्य भएको बताए ।


‘कम्पनीले चौकीदारबाट निकालेर पत्ती टिप्न पठायो,’ करिब २२ वर्षदेखि कार्यरत उराउले दुखेसो पोखे, ‘पत्ती टिप्दाटिप्दा बल्ल तल्ल चौकीदार भएको थिएँ, फेरि पत्ती नै टिप्न जान मन मानेन ।’


तोकिएको नयाँ काममा नजाने भए अन्यत्र सरुवा गर्ने चेतावनी आएपछि यिनले बाध्य भएर राजीनामा दिए । ‘अन्त गएर काम गर्नुभन्दा बरु जागिरै छाडिदन्छु भन्ने लाग्यो,’ उनले भने, ‘राजीनामा बुझाएँ ।’ खासमा टोकला बगानको कारखानामा नौ जना चौकीदार थिए । त्यसमध्ये छ जनालाई अन्यत्रै खटाइएको थियो । अन्य ५ कर्मचारी नाली खन्ने र पाइप बोक्ने काममा खटाइएको छ ।


बोल्न नसक्ने तर काम गर्न ज्यानै दिनसम्म पछि नपर्ने बुदिनी उराउले पनि महिना दिन अघि हुँदा खादाको जागिरबाट हात धुनुपर्‍यो । करिब अढाई दशक बगानमा पसिना बगाएकी उनलाई बगान प्रशासनले हठात हटायो । यिनी स्थायी श्रमिकको सूचीमा थिइन् ।


माहु र बुदिनी उराउ प्रतिनिधि पात्र मात्रै हुन् । बगानले उनीहरू जस्तै लामो समयदेखि कार्यरत ३० बढी श्रमिकलाई राजनीनामा दिन बाध्य पार्दै हटाइरहेको छ । सरकारले लागू गरेको श्रम ऐन कार्यान्वयन गर्नुको साटो उल्टै स्थायी तथा अस्थायी दुवै दर्ताका कर्मचारी र श्रमिक हटाइँदा बगानभित्रका श्रमिकहरू ज्यादै सशंकित बनेका छन् ।


‘छिसिक्क बोल्यो कि जागिर जाने अवस्था छ,’ एक कर्मचारीले नाम नछाप्ने सर्तमा भने, ‘विरोध गर्नु त निकै परको कुरा भइसक्यो ।’ बगानले अख्तियार गरेको नयाँ नीतिका कारण कार्यरत श्रमिक नेताहरूसमेत ‘तैं चुप मै चुप’ बनेका छन् ।

प्रकाशित : माघ ६, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?