२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बंगलादेश बैंकमा जग्गा खरिद विवाद

विवादकै कारण बैंकले लामो समयदेखि जग्गा खरिद गर्न सकेको छैन

काठमाडौँ — नेपाल बंगलादेश बैंकले झन्डै एक अर्ब रुपैयाँमा किन्न लागेको जग्गा खरिद प्रक्रिया विवादमा परेको छ । एक सञ्चालकले खरिद प्रक्रियामा असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेपछि विवाद बाहिर आएको हो ।

मुक्तिश्री प्रालिको नाममा रहेको काठमाडौं ५ विशालनगरस्थित जग्गा खरिद प्रक्रियामा सञ्चालकबीच कुरा नमिलेपछि विवाद चुलिएको हो । उक्त जग्गा व्यापारी अजेयराज सुमार्गीको हो । मुक्तिश्री प्रालि उनकै कम्पनी हो ।


बैंकले केन्द्रीय कार्यालय निर्माणका लागि धेरै वर्ष पहिलेदेखि जग्गा खरिद प्रक्रिया थालेको हो । विवादकै कारण बैंकले अझै जग्गा खरिद गर्न सकेको छैन । पछिल्लो पटक ०६५ भदौ १४ मा बैंकले जग्गा खरिदका लागि सिलबन्दी बोलपत्र सूचना आहवान गरेको थियो । सोही सूचनाका आधारमा ६/७ वटा व्यक्ति तथा संस्थाबाट बोलपत्र प्राप्त भएको थियो ।


उपलब्ध जग्गामध्ये मूल्य, स्थानलगायत सबै पक्षबाट मुक्तिश्रीको नाममा रहेको जग्गा उपयुक्त देखिएकाले प्रक्रिया अघि बढाइएको सर्वसाधारण (पब्लिक) समूहबाट सञ्चालक बनेका इन्द्रबहादुर थापाले बताए । ‘त्यसपछि सम्बन्धित जग्गाधनीलाई बैंकमै बोलाएर थप छलफल गरी सकेसम्म न्यून मूल्यमा खरिद बिक्री गर्ने सहमति भएको हो,’ उनले भने । यो प्रक्रियामा एक जना सञ्चालकले ‘नोट अफ डिसेन्ट’ लेखे पनि बाँकी सबैको सहमतिमा खरिद गर्ने निर्णय भएको उनको दाबी छ ।


‘चाहेर पनि विभिन्न कारणले ४/५ वर्षदेखि बैंकले जग्गा खरिद गर्न सकेको छैन, जग्गाको मूल्य निरन्तर बढिरहेकाले अब ढिलाइ गर्न हुँदैन,’ उनले भने, ‘जग्गा खरिद प्रक्रिया पूर्ण रूपमा स्वच्छ र पारदर्शी रहेकाले एक जना सञ्चालकको असहमति आउँदैमा रोकिँदैन ।’ चित्त नबुझेको कुरामा असहमति राख्न पाउने अधिकार सबै सञ्चालकमा हुने भएकाले ‘नोट अफ डिसेन्ट’ आउनु स्वाभाविक भएको उनले बताए ।


‘विवादकै कारण लामो समयसम्म जग्गा खरिद गर्न सकिएको छैन, अब विवादमा अल्झेर हुँदैन । दिनानुदिन मूल्य बढिरहेको छ,’ उनले थपे, ‘अब खोजेको स्थानमा जग्गा पाउनै मुस्किल छ ।’ केन्द्रीय कार्यालयका लागि बैंकको आफ्नो जग्गा नहुँदा भाडामा बस्नुपरेकाले जग्गा खरिद गर्नुपर्ने आवश्यकता खटकिएको उनले बताए ।


सबै सञ्चालकको सहमतिमा खरिद प्रक्रिया अघि बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘एक जना सञ्चालकको असहमति छ भन्ने सुनेको छु । त्यो उहाँको अधिकार हो,’ उनले भने, ‘जग्गा खरिद गर्ने निर्णय भइसकेको छ ।’


चार वर्षदेखि जग्गा खरिद गर्ने भनिए पनि विभिन्न कारणले किन्न नसकिएको जनाउँदै उनले भने, ‘हाल केन्द्रीय कार्यालय रहेको भवनसँगको सम्झौता सकिन जम्मा ३ वर्ष मात्र बाँकी छ । यसकारण कार्यालयका लागि जग्गा नखोजी हुँदैन ।’ बैंकले सबै प्रक्रिया पुर्‍याएर कानुनबमोजिम नै खरिद प्रक्रिया अघि बढाएकाले कुनै शंका नगर्न उनले आग्रह गरे ।


नोट अफ डिसेन्ट लेख्ने सञ्चालकलाई इंगित उनले थपे, ‘उहाँको इन्ट्रेस्ट के हो बुझ्न सकिएन । उक्त जग्गामा सुरुमा उहाँले नै नेगोसिएसन गरेको हो । पछि आएर के भो त्यो थाहा भएन ।’ सुरुमा प्रतिआना ८४ लाख रुपैयाँमा सिलबन्दी बोलपत्र आए पनि बैंकले त्यसलाई घटाएर करिब ७८ लाख रुपैयाँमा खरिद गर्ने निर्णय गरेको उनले बताए ।


‘जग्गा खरिदका लागि बैंकले निर्णय गरिसकेको छ,’ उनले भने, ‘जग्गावालाले तयार भएपछि स्वामित्व हस्तान्तरण प्रक्रिया अघि बढछ ।’ बैंकले काठमाडौं विशालनगरस्थित करिब ८ रोपनी (७–९–१–३) क्षेत्रफलको जग्गा खरिद गर्न लागेको हो ।


खरिद प्रक्रियामा असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट लेख्ने सञ्चालक दीपक कार्की हुन् । उनले सर्वसाधारणका तर्फबाट बैंकमा प्रतिनिधित्व गरिरहेका छन् । उनले खरिद प्रक्रिया पारदर्शी नभएको, खरिद प्रक्रियामा व्यवस्थापन हाबी भएको, प्रचलित मूल्यभन्दा बढी तिर्न लागिएको, बोलपत्रमा माग गरिएभन्दा धेरै जग्गा खरिद गर्न लागिएको लगायत कारण आफूले ‘नोट अफ डिसेन्ट’ लेखेको दाबी गरेका छन् ।

प्रकाशित : माघ ७, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?