कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशी संस्थासँगको सेवा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

काठमाडौँ — विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले एक निर्देशन जारी गरेको छ ।

विदेशी संस्थासँगको सेवा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

ट्राभल एजेन्सी, ट्रेकिङ ऐजेन्सी, कार्गो कुरियर ऐजेन्ट, होटललगायत संस्थाहरूले विदेशी संस्थाहरूसँग कारोबार गरी त्यसबाट प्राप्त हुने आर्जन १५ दिनभित्र देशमा अनिवार्य ल्याइसक्नुपर्ने निर्देशन दिएको हो । ‘यससम्बन्धी विवरण हरेक त्रयमास समाप्त भएको १५ दिनभित्र नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागमा पठाउनुपर्नेछ,’ राष्ट्र बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राष्ट्र बैंकका अनुसार मुलुकले आर्जन गर्नुपर्ने विदेशी मुद्रा उतै राखी त्यसलाई अनौपचारिक अर्थतन्त्रका क्षेत्रहरूमा प्रयोग गर्ने र मुलुकको विदेशी विनिमय सञ्चितिसमेत कम हुने भएकाले यसलाई कडाइ गरिएको हो । ‘बाहिर कारोबार गरेर पैसा उतै राख्ने, नेपाल नल्याउने गुनासो आयो । यस आधारमा त्यस्ता कारोबार नियन्त्रण गर्न नीतिगत व्यवस्था गरिएको हो,’ विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानाले भने । सेवा क्षेत्रभन्दा बाहेकका व्यापार व्यवसायमा राष्ट्र बैंकले यसअघि नै विभिन्न प्रक्रिया, मापदण्ड र समाय सीमा निर्धारण गरी कडाइ गरिरहेको छ । खुकुलो मानिएको सेवा क्षेत्रको आम्दानी समेत नेपालमा समयमै भित्र्याउन कडाइ गरेको हो ।

‘अब तोकिएको समयभन्दा ढिलो रकम ल्याउने, जानकारी नदिने गरे कानुनअनुसार कारबाही हुन्छ,’ ढुंगानाले भने, ‘त्यसका लागि आधार तयार गर्न यो व्यवस्था गरिएको हो ।’ साथै शिक्षा, स्वास्थ्य र विदेशमा बस्दा प्रयोग गर्न ५ हजार अमेरिकी डलर (५ लाख ६० हजार रुपैयाँ) भन्दा बढी विदेशी मुद्रा माग गर्नेले स्थायी लेखा नम्बर (प्यान) नम्बर लिनुपर्ने भएको छ । यसअघि यस्तो व्यवस्था थिएन । ‘धेरै रकमको कारोबार गर्नेहरूलाई करको दायरामा ल्याउन यो व्यवस्था गरिएको हो,’ विदेशी विनिमय विभाग प्रमुख ढुंगानाले भने ।

प्रकाशित : माघ ८, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?