कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद बजेट खर्च नगर्ने फुङलिङको निर्णय

बजेट विनियोजनमा सांसद र स्थानीय तहबीच विवाद 
आनन्द गौतम

ताप्लेजुङ — प्रतिनिधिसभा सांसद योगेश भट्टराईले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत विनियोजन गरेको रकम खर्च नगर्ने भनेर फुङलिङ नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गर्‍यो । ७७ लाख रुपैयाँ छुट्टिएको नगरपालिकामा प्राथमिकताभन्दा बाहिर आफूखुसी छुटयाइएको नगरपालिकाको गुनासो छ ।

भट्टराईले कुन–कुन योजनामा विनियोजन गरौं भनेर छलफल गरे पनि नगरपालिकाको प्रस्तावअनुसार बजेट नआएको र सांसदको योजनाअनुसार योजना लगाएको कार्यपालिकाका एक सदस्यले बताए । यसबारे कार्यपालिका बैठकमा भेला भएका जनप्रतिनिधिले छलफल गर्दै असन्तुष्टिसमेत जनाएका थिए ।


अहिले प्रदेश १ को सरकारले छुटयाएको २ करोडको योजना पनि खर्च नगर्ने मनस्थितिमा नगरपालिका छ । बुद्धचोक, सल्लेरी–कामीडाँडा–थेचम्बु सडक कालोपत्रेका लागि बजेट विनियोजन गरिएको छ । नगरपालिकाले बुद्धचोक मेची राजमार्गअन्तर्गत पर्ने र बजेट ‘डुब्लिकेसन’ हुने भन्दै काम नगर्ने तयारी गरेको स्रोतले जनायो ।


सांसद र प्रदेश सरकारले छुटयाएका यी रकम नगरपालिकाको खातामा आउँछ । यी योजनाको सम्झौता, स्टमेट, अनुगमन, भुक्तानी नगरपालिकाबाटै हुन्छ । आफूहरूसँग समन्वय नगरी राजनीतिक हिसाबले बजेट छुटयाएको स्थानीय तहको दाबी छ ।


नगरपालिका प्रमुख छत्रपति प्याकुरेलले बजेट ‘डुब्लिकेसन’ हुने र जनताको आवश्यकताअनुसार खर्च गर्नुपर्ने भएकाले समन्वयबिना आएका योजना सञ्चालन गर्न कठिन हुने बताउँछन् । नगरपालिकासँगको समन्वय र प्राथमिकताअनुसार योजना हुनुपर्ने उनको बुझाइ छ ।


निर्वाचन क्षेत्र विकास कार्यक्रमको समस्या समाधान नहुँदै प्रदेशको बजेट खर्चने विषयमा समस्या आएको हो । प्रदेश सांसदले विनियोजन गरेको प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकममा पनि यस्तै समस्या आउने भएको छ । प्रदेश सांसदहरूले बजेट विनियोजन गरेको जनाए पनि सम्बन्धित निकायमा पुगिनसकेकाले स्थानीय तहले टिप्पणी गर्न नचाहेको बताएका छन् ।


फरक दलका सांसद र जनप्रतिनिधि भएर यस्तो समस्या आएको भने होइन । प्रतिनिधिसभा र प्रदेससभा सांसद तथा फुङलिङ नगरपालिकाको प्रमुख र उपप्रमुख एकै दलका छन् । कार्यपालिकामा पनि नेकपाको बहुमत छ । समन्वय नभएको र बजेटबाट व्यक्तिले राजनीति गर्न खोजेको गुुनासो नगरपालिकाको छ ।


नगर प्रमुख प्याकुरेलले सार्वजनिक कार्यक्रममा जनताको प्रतिनिधि भएपछि कसैलाई काखा र पाखा गरेर काम नगर्ने र जनताको आवश्यकताअनुसारको काममा जोड दिने दाबी गर्दै आएका छन् ।


प्रदेश सांसद बलबहादुर साम्सोहाङ आफूहरू पनि जनताकै प्रतिनिधि भएको र जनताको मागअनुसारै बजेट विनियोजन गरेको बताउँछन् । ‘हामीले छुटयाएको बजेटले पनि जनताकै काम हुने हो र जनताकै मागअनुसार आएको हो, यसमा समस्या जन्माउनु जरुरी छैन,’ उनले भने, ‘स्थानीय तहसँग थप समन्वय गर्छौं ।’ भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले अधिकांश योजना स्थानीय तहसँगकै समन्वयमा छनोट गरिएको बताए ।


गाउँपालिकाले पनि प्रदेशबाट आएको बजेट कार्यान्वयनमा चुनौती रहेको बताए । आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्व सिटौलाले गाउँपालिकाको बजेट चैतसम्ममा सके पनि सांसद र प्रदेशको बजेट खर्च गर्नेमा भने चुनौती रहेको बताए ।

प्रकाशित : माघ ९, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?