२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

विश्व अर्थतन्त्र सुस्त : कोष 

रासस/एएफपी

डावोस — बेलायतको युरोपेली संघ (ईयू) बाट हुने बहिगर्मन, अमेरिका–चीन व्यापार विवादलगायतका गतिविधिका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप गिरावट आउने जोखिम देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले सोमबार प्रक्षेपण गरेको छ ।

मुद्रा कोषको विश्वव्यापी आर्थिक वृद्धिदर अनुमानबारे अद्यावधिक तथ्यांकमा भनिएको छ, ‘विश्वव्यापी आर्थिक वृद्धिदरमा यसअघि अनुमान गरिएकोभन्दा थप खराब अवस्था आउन सक्ने देखिएको छ ।’


मुद्रा कोषले करिब तीन महिना पहिले सार्वजनिक गरेको तथ्यांकमा विश्वव्यापी आर्थिक वृद्धि खस्किँदो अवस्थामा रहेको उल्लेख थियो ।


कोषको प्रक्षेपणले सन् २०१९ को विश्वको कुल गार्हस्थ उत्पादनमा ३.७ को वृद्धि हुने जनाइएकामा सोमबार सार्वजनिक प्रक्षेपणमा थप कटौती गरी कुल गार्हस्थ उत्पादनमा ३.५ मात्रले वृद्धि हुन सक्ने उल्लेख गरिएको छ । कोषले सन् २०२० मा पनि आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।


विश्वव्यापी आर्थिक वृद्धिदरमा ह्रास आउनुमा एक महिना लामो अमेरिकी राष्ट्रपति र डेमोक्रेटिक पार्टीका सांसदहरूबीचको विवादका कारण संघीय कार्यालयहरूमा सेवामा अवरोध, फ्रान्समा पहेलो पहिरनधारीको लामो हडताल, अमेरिका–चीन व्यापार विवाद, बेलायतको ईयूबाट हुने बहिर्गमन प्रक्रियामा अन्योल, इटाली, जर्मनी र मेक्सिकोले भोग्नुपरेका आप्रवासी समस्याहरूका कारण आर्थिक वृद्धिदरमा ह्रास आउने देखिएको मुद्रा कोषको भनाइ छ ।


तथ्यांकअनुसार विश्वकै दुई ठूला अर्थतन्त्र अमेरिका र चीनमा पनि आर्थिक वृद्धिदरमा कटौती हुने देखिएको छ । अमेरिकाको कुल गार्हस्थ उत्पादनमा सन् २०१९ मा २.५ र सन् २०२० मा १.५ प्रतिशतको वृद्धि हुने बताइएको छ । त्यसैगरी चीनको आर्थिक वृद्धि दरमा ६.२ प्रतिशतको विस्तार हुने अनुमान मुद्रा कोषको छ ।


‘वल्र्ड इकोनोमिक आउटलुक’ ले बेलायतमा सन् २०१९ मा आर्थिक वृद्धि १.५ प्रतिशत रहने देखाएको छ । यो तीन महिना पहिलेको तथ्यांकसँग दुरुस्तै रहेको छ । यद्यपि बहिर्गमन प्रक्रियामा देखिएको अन्योल थप बढेमा यसको थप प्रभाव पर्ने र आर्थिक वृद्धिदरमा कमी आउने बताइएको छ ।


त्यसैगरी मेक्सिकोको आर्थिक वृद्धिदर गत वर्षको ०.५ रहेको र अघिल्लो वर्ष ०.४ रहेकामा आगामी दुई वर्षमा २.१ र २.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । भेनेजुयलाको अवस्थामा आन्तरिक राजनीतिक विवादकै कारण थप संकुचन आउने प्रक्षेपण गरिएको छ ।


कोरियाको आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित

दक्षिण कोरियाको आर्थिक वृद्धिदर सन् २०१८ मा २.७ प्रतिशतमा सीमित भएको बैंक अफ कोरियाले जनाएको छ । यो वृद्धि विगत ६ वर्षयताकै सबैभन्दा कम हो । एसियाकै चौथो ठूलो अर्थतन्त्र दक्षिण कोरियाको सन् २०१७ मा आर्थिक वृद्धिदर ३.१ प्रतिशत थियो । सन् २०१२ यता यो सबैभन्दा कम वृद्धि हो । सन् २०१२ मा आर्थिक वृद्धिदर २.३ प्रतिशत थियो ।


केन्द्रीय बैंकले जारी गरेको मुलुकको पछिल्लो वित्तीय विवरणमा गत वर्ष प्रतिव्यक्ति आयमा अघिल्लो वर्षको तुलनामा सुधार भई ३१ हजार अमेरिकी डलर पुगेको उल्लेख छ । सन् २०१७ मा प्रतिव्यक्ति आय २९ हजार ७ सय ४५ डलर थियो ।


सन् २०१८ मा निजी उपभोग, सरकारी खर्च, निर्यातमा वृद्धि भएको छ, जब कि निर्माण र लगानीमा शिथिलता आएको छ । उपभोगमा सात वर्षयता सबैभन्दा बढी अर्थात् २.८ प्रतिशतले वृद्धि भएको छ । सरकारी खर्चमा पनि ५.६ प्रतिशत वृद्धि भएको छ । सन् २००७ यता सरकारी खर्चमा लगातार वृद्धि भइरहेको छ ।


दक्षिण कोरियाको अर्थतन्त्रको मुख्य आधारका रूपमा चिनिएको निर्यातमा गत वर्ष चार प्रतिशतले वृद्धि भएको छ तर कर्पोरेट लगानीमा कमी आएको छ ।


गत वर्ष निर्माणका क्षेत्रमा हुने लगानी चार प्रतिशतले घटेको छ । सन् २००८ को एसियाली वित्तीय संकटयताको यो सबैभन्दा ठूलो

गिरावट हो । कुल आन्तरिक आयमा गत वर्ष १.१ प्रतिशतले वृद्धि भएको छ । इन्धनको मूल्यमा वृद्धि भएका कारण सन् २००८ यताकै यो सबैभन्दा कमजोर वृद्धि हो ।


केन्द्रीय बैंकका महानिर्देशक पार्क याङ–सुले गत वर्षको अन्तिम चौमासिक अवधिमा निर्यातमा भएको नकारात्मक वृद्धिमा सुधार ल्याउन सरकारले प्रयत्न गरेको बताए । ‘यसबाहेक, कृषि र निर्माण उद्योगको उत्पादनमा पनि मौसम अनुकूल भएका कारण अक्टोबरमा निकै प्रगति भएको छ ।’

प्रकाशित : माघ ९, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?