ब्याज घटाउन आनाकानी

उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको निर्देशनअनुसार राष्ट्र बैंकले आधार ब्याजदरमा सम्पत्तिको प्रतिफलबापत ०.७५ प्रतिशत घटाउन बैंकलाई परिपत्र गरेको थियो
यज्ञ बञ्जाडे

काठमाडौँ — आधार ब्याजदर घटेकाले ऋणको (पुराना नयाँ सबै) ब्याज घट्ने अनुमान गरिए पनि पुराना ऋणीले त्यो सुविधा नपाउने देखिएको छ । घटेको आधार ब्याजदर (बेसरेट) अनुसार बैंकले पुराना ऋणीको ब्याजदर घटाउन नमानेपछि यस्तो सम्भावना बढेको हो ।

उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको निर्देशनअनुसार राष्ट्र बैंकले आधार ब्याजदरमा सम्पत्तिको प्रतिफल (रिटर्न अन एसेट) बापत ०.७५ प्रतिशत घटाउन बैंकलाई परिपत्र गरेको थियो ।


यो निर्देशनपछि हरेक बैंकको आधार ब्याजदरमा ०.७५ प्रतिशत विन्दुले घट्नुपर्छ । राष्ट्र बैंककै यसअघिको निर्देशनअनुसार आधार ब्याजदर परिवर्तन भएअनुसार सबै ऋण (नयाँ पुराना दुवै) को ब्याजदर पनि समायोजन गर्नुपर्छ । उक्त निर्देशन विपरीत वाणिज्य बैंकको छाता संगठन नेपाल बैंर्कस संघले राष्ट्र बैंकलाई पत्र लेखेर आधार ब्याजदरबाट घटाइएको ०.७५ प्रतिशत प्रिमियममा जोड्न पाउने माग गरेको हो ।


यसको अर्थ आधारदर घटे पनि ऋणको ब्याजदर घटाउन नपरोस् र घुमाउरो बाटोबाट ब्याजमै जोड्न पाइयोस् भन्ने हो । हाल पुराना ऋणको ब्याज घटाउँदा नाफा घट्ने भएकाले बैंकले यस्तो सुविधा माग गरेको जानकारहरू बताउँछन् ।


आधार दरमा आएको कमीअनुसार नयाँ ऋणको ब्याजदर घटाउन सकिए पनि पुरानो ऋणीको ब्याज घटाउन संघले अस्वीकार गरेको छ । यसकारण पुराना ऋणीको हकमा ब्याजदरमा आएको (०.७५ प्रतिशत) प्रिमियममा जोड्न पाउने माग संघको छ । यद्यपि राष्ट्र बैंकले संघको माग सम्बोधन गरिसकेको छैन ।


जब कि यसअघि मुद्रा तथा पुँजी बजारको अध्ययन गर्न अर्थमन्त्री खतिवडाले गठन गरेको कार्यदलको सदस्यमा बैंकर्स संघ पनि सदस्य थियो । सोही समितिको प्रतिवेदनमा बजारमा ब्याजदर घटाउन आधार दर गणना सूत्र परिमार्जन गरी सम्पत्तिको प्रतिफलबापतको ०.७५ प्रतिशत हटाउने सुझाव दिएको छ । सोही सुझावअनुसार राष्ट्र बैंकको निर्देशन आएको भोलिपल्ट संघले पत्र लेखेर घटाइएको रकम घुमाउरो बाटोबाट ब्याजमै समावेश गर्न सुविधा माग गरिरहेको छ ।


जसरी भए पनि नाफा कुम्ल्याउने ध्याउन्नमा बैंकहरू रहेकाले ब्याजदर नघटाउन यस्तो चाल चलेको हुन सक्ने पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बताए । ‘अहिले मात्र होइन, विगतमा पनि यस्ता धेरै घटना भएका छन्,’ उनले भने, ‘बैंकले जताबाट भए पनि आफ्नो दुनो मात्र सोझाउन खोज्छन् ।’ बैंकले नाफाबाहेक अरू कुनै कुरा नदेख्ने भएकाले यस्तो अवस्था आएको उनले बताए ।


‘बैंकको ध्यान तीन कुरामा छ– त्यो हो नाफा, नाफा र नाफा,’ उनले थपे, ‘यसको अर्थ नाफा प्राप्तिका लागि बैंक जे पनि गर्न तयार हुन्छन् भन्ने हो ।’ नियामक निकायले प्रभावकारी रूपमा नियमन गर्न नसक्दा यस्तो अवस्था आएको उनको भनाइ छ । ‘राष्ट्र बैंकले नीतिगत स्थिरता देखाउन सकेन,’ उनले थपे, ‘यसकारण बैंक तथा वित्तीय संस्थामा अराजकता देखिन थाल्यो ।’


उच्च दरमा प्रवाह भएको ऋणको ब्याजदर घटाउँदा नाफा घट्ने भएकाले बैंकलाई त्यो मान्य नभएको एक पूर्वबैंकरले बताए । ‘नयाँलाई घटेको ब्याजदरमा ऋण दिन्छौं, पुराना ऋणीको ब्याज घटाउँदैनौं भन्नुले पनि यो पुष्टि हुन्छ,’ ती अधिकारीले भने, ‘हेर्दै जानुस् पुराना ऋणीको ब्याज बैंकले घटाउँदैनन्, कथंकदाचित् घटाइहाले पनि धेरै कम र सीमित ऋणको मात्र घटाउँछन् ।’


मुलुकको जुनसुकै परिस्थितिमा पनि बैंकले उच्च नाफा कमाउनुको कारण यही भएको उनले प्रस्टयाए । ‘राष्ट्र बैंकले आधार ब्याजदर घटाउन निर्देशन दिए जस्तै गरी बढाउन निर्देशन दिएको भए पत्र आएकै दिनदेखि बैंकले ब्याज बढाइसकेका हुन्थे,’ उनले भने, ‘अहिले ब्याज घटाउनुपरेकाले आनाकानी गरेका छन् ।’ राष्ट्र बैंकले प्रभावकारी रूपमा नियमन गर्न नसकेकै कारण बैंक तथा वित्तीय संस्थामा अटेर गर्ने प्रवृत्ति बढ्दै गएको उनको निष्कर्ष छ ।


बैंकले ब्याज घटाउन आनाकानी गरेको नभई आधार दरबाट घटाइएको ०.७५ प्रतिशत एक पटकका लागि प्रिमियममा जोड्न पाउने माग गरेको संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘नयाँ ऋणको ब्याजदर घटिसकेको छ, त्यो अझै घट्छ,’ उनले भने, ‘पुराना ऋणीको हकमा एक पटकका लागि ०.७५ प्रतिशत प्रिमियममा जोड्न पाउने सुविधा माग गरेका हौं ।’


पुराना ऋणीको हकमा यसअघि नै ब्याजदर तय भएकाले तत्काल परिवर्तन गर्न अप्ठयारो हुने उनको भनाइ छ । ‘अहिले आधार ब्याजदरमा ऋण दिँदा सिधै घाटा हुन्छ,’ उनले भने, ‘यसकारण एक पटकका लागि आधार दरमा आएको कमी प्रिमियममा जोड्न पाउने माग गरिएको हो ।’


नेपालमा स्वतन्त्र रूपमा बजार संयन्त्रले ब्याजदर निर्धारण गर्ने अवस्था नरहेकाले बैंकको हालीमुहाली चल्दै आएको राष्ट्र बैंकका एक पूर्वकार्यकारी निर्देशकले बताए । ‘अहिले पुराना ऋणीको ब्याज नघटाउने हो भने उनीहरूको ऋणको ब्याज पनि बढाउनु भएन,’ ती अधिकारीले भने, ‘ब्याज बढाउने बेलामा सामान्य एसएमएसकै भरमा बढाउन मिल्ने घटाउने बेलामा अप्ठयारो हुने पनि कहीँ हुन्छ ?’ बैंकले अहिले पुराना ऋणीको ब्याजदर नघटाउने हो भने कुनै बहानामा आउँदा दिनमा ब्याज बढाउन पनि नमिल्ने उनको तर्क छ ।

‘निक्षेप महँगो भएकाले लागत बढयो भन्दै पुराना ऋणीको पनि ब्याज बढाउँछन् । अहिले ब्याज महँगो भए नयाँको मात्र बढाउनु नि, पुरानाको किन बढाएको ? पुरानाले ऋण लिँदा त निक्षेप दर सस्तो थियो त ?’ उनले थपे, ‘यो अरू केही होइन । बैंकको नाफा कुम्ल्याउन सोच मात्र हो । सर्वसाधारणलाई सुविधा दिने विषयमा न त बैंकको ध्यान छ न त नियामक निकायको ।’


ठूला र पहुँचवालाले सधैभरि सुविधा पाउँदै आएको स्मरण गर्दै उनले थपे, ‘यसकारण बैंक सर्वसाधारण र निमुखाको सारथी बन्न सक्दैन ।’ यसअघि ७ प्रतिशतमा प्रवाह गरेको ऋणको ब्याज एक वर्षमै दोब्बर बनाउन सक्ने बैंकले अहिले एक प्रतिशत ब्याज घटाउन आनाकानी गर्नुले बैंकको स्वार्थ प्रस्ट देखिने उनको बुझाइ छ ।


आधार दरबाट घटाइएको रकम प्रिमियममा जोड्न पाउने सुविधा माग गरेको पत्र प्राप्त भएको राष्ट्र बैंकले स्वीकार गरेको छ । ब्याज घटाउन नपरोस् भनेर बैंकले सुविधा माग गरे पनि त्यसबारेमा कुनै निर्णय भइनसकेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।

प्रकाशित : माघ ९, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?