कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नियमित भएनन् उडान

प्रदेश ब्युरो

विराटनगर — लामो समयदेखि विमानस्थल सञ्चालनमा रहे पनि प्रदेश १ का पहाडी जिल्लामा उडान नियमित हुन सकेका छैनन् । नियमित उडान हुन नसक्दा यात्रुहरू मर्कामा पर्ने गरेका छन् ।

नियमित भएनन् उडान

प्रदेशका १४ जिल्लामध्ये सुनसरी, धनकुटा, पाँचथर, तेह्रथुम र उदयपुरबाहेक सबै जिल्लामा विमानस्थल छन् । कतिपय निर्माणाधीन अवस्थामा पनि छन् ।


सोलुखुम्बु र खोटाङभित्र भने तीन–तीनवटा विमानस्थल छन् । अधिकांश पहाडी जिल्लामा उडान नियमित हुन सकेको छैन । सोलुखुम्बु र ओखलढुंगा जिल्लामा रहेका ५ वटा विमानस्थलमध्ये सोलुखुम्बुको लुक्ला र फाप्लुबाहेक सबै बन्द छन् । संखुवासभामा भएका विमानस्थल पहाडी क्षेत्रका सबैभन्दा लामो कालोपत्रे गरिएकामा पर्ने भए पनि उडान भने नियमित छैनन् ।


इलाम सदरमुकाममा निर्माणाधीन विमानस्थल निर्माण कछुवाको गतिमा छ । ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थल प्रयोग गर्ने यात्रुले मौसम र जहाज बिग्रँदा अनियमितता खेप्नुपर्छ । भोजपुरको एक मात्र विमानस्थल कहिले बन्द हुन्छ त कहिले सञ्चालनमा आउँछ । मौसमको खराबीको कारण देखाउँदै डेढ महिनाभन्दा बढी बन्द रहेको विमानस्थल दुई साताअघिबाट सञ्चालनमा आएको छ । खोटाङमा रहेका तीनै वटै विमानस्थलको स्तरोन्नति भइरहेकाले अहिले बन्द छन् ।


तीन वटै बन्द

खोटाङका तीनै वटा विमानस्थल बन्द छन् । खोटेहाङ गाउँपालिकाको थामखर्क विमानस्थल र रावाबेंसी गाउँपालिकाको लामीडाँडा विमानस्थलमा पिचको काम भइरहेकाले एक वर्षदेखि बन्द छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मनमायाँ राई विमानस्थलको टेवापर्खाल मर्मतले गत साउनदेखि उडान बन्द गरिएको छ ।


यसमध्ये थामखर्क विमानस्थलको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेकाले छिट्टै उडान हुने खोटाङका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए । लामीडाँडा र मनमायाँ राई विमानस्थलको भने अझै समय लाग्ने प्रजिअ पौडेलले सुनाए ।


स्याङबोचे बन्दको बन्दै

सोलुखुम्बुको स्याङबोचे, कांगेल विमानस्थलमा विमान सञ्चालन हुन छाडेको वर्षौं भएको छ । केही वर्षअघिसम्म ओखलढुंगाको रुम्जाटार विमानस्थलमा टिकट पाउनै मुस्किल हुन्थ्यो । कच्ची धावनमार्गमा विमानले उडान भर्थ्याे । ४० वर्ष पुरानो विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न वर्षौंसम्म जिल्लाबासीले माग गरे ।

जब धावनमार्ग कालोपत्रे भयो । त्यसपछि विमानस्थलमा नियमित उडान हुन सकेन । रुम्जाटारका लागि सबै विमान कम्पनीले उडान रद्द गरे । कार्यालय बन्द गरे । विमानस्थल पूर्ण रूपमा बन्द भयो । विमानस्थल कालोपत्रे सुरु हुँदा मध्यपहाडी राजमार्गअन्तर्गत घुर्मी–खुर्कोट बाटोको ट्रयाक धमाधम खुल्दै थियो । त्यसअघि यहाँका यात्रुहरू तीन दिन लगाएर राजधानी पुग्न उदयपुरको कटारी भएर जाने गर्थे । जब मध्यपहाडीको ट्रयाक खुल्यो तब यात्रुहरूलाई राजधानी जान आधाभन्दा बढी बाटो छोटियो ।


सुनकोसीमा पुल नबनेको कारण केही वर्ष विमान चलिरहेकै थियो । नेपाल एयरलाइन्स र तारा एयरले नियमित उडान गरिरहेका थिए । तीन वर्षअघि सुनकोसीको पक्की पुल सञ्चालनमा आयो । मध्यपहाडी सडकखण्ड अधिकांश कालोपत्रे भए । राजधानी जाने सवारीको भाडा २ हजार ५ सयदेखि घटेर ८ सयमा झर्‍यो । त्यसपछि भने यात्रुहरू सडकमार्ग भएर राजधानी जान थाले ।


एकातिर विमान कम्पनीले भाडा दर घटाएनन् । ३ हजार रुपैयाँभन्दा बढी भाडा तिर्नुभन्दा आधा सस्तोमा राजधानी पुगिने भएपछि विमानले यात्रु पाउनै छोडे । विमान कम्पनीले नियमित उडान र भरपर्दो सेवा दिन सकेनन् । बिहानको उडान हुने समयमा नआउने र दिउँसो हावा चलेपछि उडान रद्द गर्ने कारणले यात्रु विमानमा भर परेनन् ।


सरकारले करोडौं रकम खर्चेर विमानस्थलको भौतिक पूर्वाधारण निर्माण गरेको छ । हाल टर्मिनल भवन बनिसकेको छ । स्थानीयले विमानस्थल सञ्चालनको माग राखेका छन् । ओखलढुंगा सदरमुकामदेखि रुम्जाटारसम्मको सडक कालोपत्रेको काम सुरु भएको छ । कालोपत्रे भइसकेपछि सदरमुकामदेखि रुम्जाटार जान सहज हुनेछ ।


वर्षौंदेखि अलपत्र

सोलुखुम्बुको स्याङबोचे विमानस्थल वर्षौंदेखि अलपत्र छ । संसारकै सबैभन्दा अग्लो स्थानमा निर्माण गरिएको विमानस्थल सञ्चालन हुन नसक्दा अलपत्र परेको हो । सात वर्षअघिसम्म साना जहाज र पिलाटस पोर्टरले उडान गर्दै आएकामा हाल त्यो पनि बन्द भएको हो । स्थानीयले विमानस्थल सुचारु गर्न पटकपटक माग गरे पनि विमान कम्पनीहरूले उडान गर्न छाडेका हुन् ।


नागरिक उड्डयन प्राधिकरणले स्याङबोचे विमानस्थलको थप निर्माण तथा सञ्चालनका लागि सबै काम रोकेको छ । वर्षौंदेखि अलपत्र भएको स्याङबोचे विमानस्थल बिस्तारै जंगलका रूपमा परिणत हुन थालेको छ । सुरुमा नागरिक उड्डयनका केही कर्मचारी र हेलिकप्टर कम्पनीले कार्यालय सञ्चालन गरेको भए पनि हाल आएर कहिलेकाहीँ हेलिकप्टर अवतरण गर्नेभन्दा अरू कुनै काम भएको छैन ।


नागरिक उड्डयन प्राधिकरणले अझै पनि विमान कम्पनीहरूले पिलाटस पोर्टर र साना जहाज लानका लागि विमानस्थल खुला रहेको जनाएको छ । ठूला जहाजका लागि धावनमार्ग छोटो भएकाले अवतरण हुन नसक्ने प्राधिकरणको भनाइ छ ।


धावनमार्गलाई केही लम्ब्याएर सञ्चालन गर्न सकिन्छ कि भनेर प्रक्रिया अगाडि बढाए पनि सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा परेपछि काम रोकिएको हो । वन मन्त्रालयले धेरै दु:ख दिएपछि त्यत्तिकै छाडिएको प्राधिकरणका एक अधिकारीले नाम नखोल्ने सर्तमा बताए ।


विमानस्थल सञ्चालन भएपछि नाम्चेका स्थानीय र व्यापारीले समेत सुरुमा विरोध गरेका थिए । पर्यटकहरू नाम्चे नआईकनै स्याङबोचेबाटै राजधानी फर्किने र आफ्नो व्यापार नहुने सोचका कारण नाम्चेबासीले विरोध गरेका थिए । हाल आएर नाम्चे र खुम्जुङ दुवै गाविसका स्थानीयले विमानस्थल सञ्चालन हुनुपर्ने माग गरे पनि सञ्चालन हुन नसकेको हो ।


‘सञ्चालन गर्न सक्दाखेरि खुम्बुक्षेत्रको पर्यटन विकासमै धेरै ठूलो टेवा पुग्ने थियो,’ खुम्जुङका स्थानीय पासाङ छिरिङ शेर्पाले भने, ‘कम्तीमा मौसमले साथ दिएको बेला पर्यटक आउन र जान त सहज हुने थियो ।’ प्राधिकरणले सिंगल इन्जिनका जहाज उडानमा रोक लगाएपछि पनि स्याङबोचेका लागि आउने साना जहाजका लागि सधै बन्द भएको हो । यदि स्याङबोचे विमानस्थललाई विस्तार गरेर सञ्चालन गर्न सके तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हुने विमानको चापसमेत घट्ने थियो । यो विमानस्थल समुद्री सतहदेखि ३ हजार ७ मिटर उचाइमा अवस्थित छ ।


उडान गर्न आनाकानी

संखुवासभाको तुम्लिङटार विमानस्थलमा नागरिक उड्डयन कार्यालयले जेट इन्जिन भएका निजी र सरकारी विमान कम्पनीलाई उडान भर्न अनुमति दिएको छ । उडान भर्न एयरलाइन्स कम्पनीले आनाकानी गरिरहेका छन् ।


१४ सय मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम सकिएपछि ३ वर्षअघि नेपाल नागरिक उड्डयन कार्यालयले पूर्वाञ्चलकै व्यस्त मानिने यो विमानस्थलमा ठूला जहाजलाई उडान अनुमति दियो । अहिलेसम्म बुद्धको १८ सिटे र यतीको ३० सिटे विमानले मात्रै उडान गर्ने गरेको छन् ।


स्थानीय बासिन्दाको ठूलो जहाज चढ्ने धोको पूरा भएको छैन । ‘कालोपत्रे त भयो तर जहिल्यै महँगोमा प्लेन चढ्नुपर्छ,’ खाँदबारीका रमेश भट्टराईले भने, ‘जति ठूलो एयरपोर्ट भए पनि सानो प्लेनमा एयरलाइन्सले तोकेको भाडा तिर्नुपरिरहेको छ ।’


कछुवाको गतिमा निर्माण

इलाम सदरमुकाममा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माणको गति स्थानीय अपेक्षाभन्दा ढिलो भएकाले स्थानीय निराश देखिएका छन् । गएको साउनमा तारा एयरको विमान इलामको आकाशमा फन्को मार्दै सफल अवतरण हुँदा स्थानीयमा खुसीको सीमा रहेन । तारा एयरले पहिलो पटक उडानसमेत भरेको थियो । परीक्षणपछि अपेक्षाअनुसार बजेट विनीयोजन नहुँदा नियमित उडान कहिलेदेखि भन्ने अन्योल छ ।


यो वर्ष सरकारले विमानस्थलका लागि ५ करोड बजेट विनियोजन गरेको छ । त्यसमा यसअघि बाँकी रहेको काममा १ करोड रुपैयाँ खर्च भइसकेको छ । बाँकी रकमबाट धावनमार्ग ग्राभेल गर्ने काम हुने नगरिक उड्डयन प्राधिकरणका इन्जिनियर पुष्प न्यौपानेले जानकारी दिए ।


धावनमार्ग कालोपत्रे गर्न २० करोड रुपैयाँ लाग्नेछ । नियमित विमान उडानका लागि टावर, मेची राजमार्गसम्म जोड्ने सडक कालोपत्रे गर्ने लगायतका काम बाँकी नै छन् । इलाम बजारबाट ६ किलोमिटर दक्षिणको सुकिलुम्बामा विमानस्थल निर्माण थालिएको वर्षौं बित्दा पनि पूरा हुन नसकेको हो ।


इलाममा माई नगरपालिका हुँदै छोटो दूरीमा झापा जड्ने सडकलाई तत्काल स्तर वृद्धि गरेर चन्द्रगढी विमानस्थललाई प्रयोग गर्नुपर्ने तर्क गर्नेहरू पनि भेटिन थालेका छन् । सिङ्गो इलामको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण हुने ठानिएको विमानस्थलको विकल्प खोज्न नहुने स्थानीयको भनाइ छ ।


सुकिलुम्बाको एउटा बस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर विमानस्थल निर्माण थालिएको हो । २०५८ मा नै प्रक्रिया थालिएपछि विमान चढ्ने सपना सँगालेका स्थानीयले हेर्न मात्र पाउँदा पनि मन बुझाएका थिए । २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरे पनि निर्माण सुरु हुन अरू केही वर्ष कुर्नु पऱ्यो ।


धावनमार्गलाई ग्राभेल गर्ने र टर्मिनल भवनलगायत अत्यावश्यक पूर्वाधार वनाउने हो भने एक वर्षमा नियमित उडान गर्न सकिने इन्जिनियर पुष्प न्यौपानेले वताए । पूर्णरूपमा सवै पूर्वाधार निर्माण गरेर उडान भर्न अझै ४५ करोड आवश्यक पर्ने उनको भनाई छ । यो विमान स्थल पश्चिमवाट पूर्वतर्फ ढल्किएको छ ।


विमान पार्किङ गर्ने पश्चिमी भागभन्दा पूर्वतर्फ ४५ मिटर डाउन छ । जसकाकारण पनि यो विमानस्थललाई कालोपत्रे या ग्राभेलिङ अनिवार्य रहेको प्राविधिकको भनाई छ । ७ सय मिटर लम्बाइ र ६० मीटर चौडाइ रहेको विमानस्थलमा साना जाहाज उड्न सक्छन् ।


ताप्लेजुङमा नियमित

ताप्लेजुङको सुकेटार विमानस्थल प्रयोग गर्ने यात्रुले मौसम र जहाज बिग्रीएको अवस्थाबाहेक फर्कनु पर्दैन् । यो विमान स्थलमा नेपाल वायु सेवा निगमले सातामा तीन र समिट एयरले एक उडान गर्दै आएका छन् । शुक्रबार दुवैले उडान गर्छन् भने निगमले वुधवार र सोमवार पनि उडान गर्छ ।


समिटको तुलनामा निगमको भाडा १२ सय रुपैंया सस्तो छ । निगमले ६ हजार ४ सय र समिटिले ७ हजार ६ सयमा उडान गर्दै आएका छन । ढिलोमा ५५ मिनेटमा एकतर्फी उडान हुने भएकाले यात्रुहरू जहाजलाई पहिलो रोजाइ बनाउँछन ।


‘यो हिउँदमा एउटापनि जहाज केन्सिल भएको छैन’ निगमका स्टेशन इञ्चार्ज विकास राइले भने, ‘सबै उडान नियमित भइरहेको छ ।’ दिउँसो हावा चल्न भयले निगमले प्रत्येक उडान विहान गर्छ । सिट खाली भएर जहाज रित्तो पठाउनु नपरेको कहिलेकाँही बिरामीका लागि राखेको एउटा एउटा सिट खाली हुने निगमका कर्मचारी बताउँछन् ।


जहिल्यै अनियमित

भोजपुरको एकमात्र विमानस्थल कहिले बन्द हुन्छ त कहिले सञ्चालनमा आउँछ । मौसमको खराबीको कारण देखाउँदै डेढ महिनाभन्दा वढि बन्द रहेको विमानस्थल दुई साता अघिबाट सञ्चालनमा आएको हो । भोजपुर–काठमाडौं र भोजपुर–विराटनगरका लागि यहाँबाट उडान भरीन्छ । सातामा आइतबार र बिहीबार विराटनगरका लागि र दैनिक काठमाडौ उडान हुने गर्छ । यहाँबाट दुवै स्थानका लागि यात्रुको चाप उतिकै हुन्छ ।


भोजपुरको एकमात्र विमानस्थलमा नियमित उडान नहुँदा भोजपुरका हवाई यात्रुले समस्या झेल्नु पर्ने समस्या छ । भोजपुरको उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका बाहेकका यात्रुले भोजपुर विमानस्थलबाट हवाई यात्रा गर्छन् । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका यात्रुले भने संखुवासभाको तुम्लिङटार विमानस्थलबाट यात्रा गर्ने गरेका छन् ।


नियमित उडान नहुँदा कतिपय बिरामीले महँगो मूल्य तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्य हुन्छन् । भोजपुर सदरमुकामबाट सडक मार्गलाई प्रयोग गर्ने हो भने विराटनगर पुग्न एक दिन पुरौं लाग्छ ।


कुम्भराज राई (ओखलढुंगा), दीपेन्द्र शाक्य (संखुवासभा), विप्लव भट्टराई (इलाम), आन्नद गौतम (ताप्लेजुङ) एलिसा श्रेष्ठ (भोजपुर) र डम्बरसिं राई (खोटाङ)

प्रकाशित : माघ १०, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?