कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशी लगानी घटयो

पाँच महिनामा पौने ७ अर्ब मात्रै

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक लगानी घटेको छ । यस अवधिमा भित्रिएको ६ अर्ब ७८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो वर्षको तुलनामा करिब ३९ प्रतिशतले कम हो ।

०७४ को पहिलो पाँच महिनामा ११ अर्ब १२ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।


स्थिर सरकार बनेपछि राजनीतिक अस्थिरता अन्त्य भएको र विदेशी लगानी प्रोत्साहन हुने खालका नीति बनेकाले ठूलो मात्रमा विदेशी लगानी भित्रने अनुमान गरिएका थियो । यद्यपि चालु वर्षको पाँच महिनासम्मको तथ्यांकले त्यो अपेक्षा पूरा नहुने विज्ञहरू बताउँछन् । चालु आर्थिक वर्षका गएका सबै महिनामा गत वर्षको सोही महिनाको भन्दा कम मात्र विदेशी लगानी नेपाल आएकाले अपेक्षित रूपमा एफडीआई आउन नसकेको पुष्टि हुने उनीहरूको भनाइ छ ।

मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको समयमा ठूलो मात्रामा लगानी घट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । गएको पाँच महिनाको तथ्यांकको आधारमा समग्र विदेशी लगानी घटयो भनेर विश्लेषण गर्न अप्ठयारो भए पनि एकै पटक ठूलो परिणाममा एफडीआई घट्नुलाई अर्थपूर्ण रूपमा हेर्नुपर्ने अर्थविद् केशव आचार्यले बताए । नयाँ सरकार गठनपछि राजनीतिक अस्थिरतामा सुधारसँगै श्रम सम्बन्धित र इन्धनको समस्या समाधान भएकाले विदेशी लगानी बढ्नुपर्ने उनको अनुमान छ ।


‘अहिले मुलुकमा लगानी वातावरण राम्रो छ, यस्तो अवस्थामा पनि एफडीआई बढ्न नसक्नुले राम्रो संकेत गर्दैन,’ उनले भने, ‘लगानी किन आएन, अझै केही कमी कमजोरी छन् ?’ लगानी घटयो भनेर आत्तिहाल्नुपर्ने अवस्था नभए पनि आरामले बस्ने अवस्था पनि नरहेको उनले बताए । यद्यपि विदेशी लगानी किन घटेको छ भन्ने कुराको कारण र परिणामबारे बेलैमा विशेष अध्ययन गरी निष्कर्षको खोजी गर्नुपर्ने उनको सुझाव छ ।


राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष १७ अर्ब ५१ करोड ५१ लख रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यो २९.६८ प्रतिशतले बढेको हो ।


पछिल्ला वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये अधिकांश जलविद्युत्, पर्यटन र सिमेन्ट उद्योगमा आएको छ । यसले ती क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढदै गएको पुष्टि हुन्छ । प्रसस्त सम्भावना हुँदाहुँदै पनि अधिकांश जलस्रोत उपयोग हुन नसकेको, पर्यटन विकासका लागि पर्याप्त अवसर रहेको तथा सिमेन्ट उत्पादनको सम्भावना अत्यधिक देखिएकाले यी क्षेत्र विदेशी लगानीकर्ताको रोजाइमा परेको विज्ञहरू बताउँछन् ।


पछिल्ला वर्षमा आर्थिक वृद्धिदर बढदै गएको, लगानीसम्बन्धी नीति बनेको, राजनीतिक दल तथा नेताबाट आर्थिक विकासको प्रतिबद्धता आएकोलगायत कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको बताइएको छ । गत वर्ष एकै वर्ष तीन तहको चुनाव सम्पन्न भएको भएको, स्थिर सरकार बनेकाले लामो समयदेखिको राजनीतिक संक्रमण अन्त्य भएको छ ।


अब मुलुकमा आर्थिक गतिविधिले प्राथमिकता पाउने, लगानी बढ्ने भएकाले ठूलो मात्रामा विदेशी लगानी भित्रिने जानकारहरूको दाबी छ । नेपालमा खासगरी जलविद्युत्, पर्यटन, प्राविधिक शिक्षा, स्वास्थ्यमा विदेशी लगानीको ठूलो सम्भावना छ । ती क्षेत्रमा लगानी बढाउनका लागि एकद्वार लगानी नीति र लगानी परिचालन तथा व्यवस्थापनसम्बन्धी व्यवस्थामा सरलीकरण गर्नुपर्ने उनीहरूको सुझाव छ ।

प्रकाशित : माघ १०, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?