२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सुल्झिएन उखु किसानको समस्या

खेतमा उखु फुलेर तौल आधा घटयो, आगो लगाएर नष्ट गर्नुपर्ने अवस्था 
नवीन पौडेल

परासी — पश्चिम नवपरासीको सुस्ताका बिसमिल्लाहा अन्सारीको उखु खेतमै फुलिसकेको छ । समयमा काट्न नपाएपछि उखु फुलबारीजस्तो बनेको छ । केही सुक्न थालेको छ । अन्सारीले अझै काट्न पाएका छैनन् ।

सुल्झिएन उखु किसानको समस्या

चिनी मिल सञ्चालनमा नआएपछि काटेर बेच्ने ठाउँ छैन । ‘अन्य बालीजस्तो काटेर भण्डारण गर्न मिल्दैन,’ उनले भने, ‘उखु फुल्नु भनेको आधा तौल घट्नु हो ।’ किसानको यस्तो हालत हुँदा पनि उद्योगी र सरकार टुलुटुल हेरेर बसेको उनले बताए ।


पाल्हीनन्दनका राजीव चौधरीको अवस्था पनि उनको जस्तै छ । उखु काटेर गहुँ र मुसुरो छर्ने बेला भइसक्यो । चिनी मिल सञ्चालन नभएपछि उखु बारीमै छ । घरखर्च धान्न मुस्किल छ । ‘सन्तानको पढाइ शुल्क, खेती लगाउँदाको ऋण तिर्न बाँकी छ,’ उनले भने, ‘महँगो ब्याजमा ऋण लिएर जसोतसो काम चलाएका छौं ।’ व्यवसायी वा अन्य क्षेत्रको समस्या हुन्थ्यो भने तत्काल समाधान हुने उनले गुनासो गरे । ‘किसानसँग न पहुँच छ, न त पैसा नै,’ उनले भने, ‘हाम्रो दुखेसो कसैले सुनेनन् ।’


सुक्न र बगानमा फुल्न थालेपछि जिल्लाको दक्षिणी भेगका किसानको बेहाल भएको छ । गत वर्षसम्म उधारो भए पनि उद्योगलाई बेच्ने र पेस्कीबापत रकम बुझ्ने गरेका थिए । त्यसले घरखर्च धान्ने सजिलो हुन्थ्यो । यस पटक उद्योग सञ्चालन भएनन् । त्यसले स्थानीयलाई खेतमा आगो लगाएर उखु नष्ट गर्नुपर्ने अवस्था आएको छ ।


मंसिर पहिलो साता उद्योग सञ्चालन भइसक्नुपथ्र्यो । अझै उद्योग चल्ने/नचल्ने ठेगान छैन । चिनी मिल सञ्चालन र किसानले उत्पादन गरेका वस्तुको उचित मूल्य माग गर्दै किसानले दर्जनौं पटक जिल्ला प्रशासनदेखि नेताका घर धाइसकेका छन् । कतैबाट सुुनुवाइ नभएपछि मंगलबारबाट किसान संघर्षमा उत्रिएका छन् । मंगलबार वाग्मती चिनी मिलको गेटमा दबाबमूलक कार्यक्रम आयोजना गरेर मिल चलाउन आग्रह गरे ।


उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले महोत्तरीको बर्दिबासमा किसान, उद्योगी र सरकारबीचको छलफलमा उद्योगीले सरकारले तोकेको मूल्य दिने सहमति जनाएका थिए । अहिले मिल नचलाउनु धोका भएको यादवले बताए ।


‘वार्तामा बस्दा उद्योग चलाउँछाैं भन्ने अनि किसानको खेतमा पुगेर आधा मूल्यमा बिक्री गर्ने भए गर नत्र सुकेर जान्छ भन्ने,’ उनले भने, ‘किसान थर्काउने यो कस्तो प्रचलन हो ?’ खेतमा उखु जलाउनुपर्ने अवस्था आएमा चिनीको मूल्य बढे पनि उद्योगले कच्चा पदार्थ नपाउने उनले बताए । करोडौंको लगानी खेर जाने अवस्था आउनेतर्फ लगानीकर्ता सचेत हुनु आवश्यक रहेको उनले बताए ।


यस वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ६३ रुपैयाँ ६५ पैसा निर्धारण गरेको छ । उद्योगीले सरकारले उक्त मूल्यमा उखु किन्न नसक्ने अडान राखेका छन् । किसानलाई बाध्यतामा पारेर सस्तोमा खरिद गर्नका लागि उद्योग बन्द गरेर बसेका छन् ।


चिनीको मूल्य नबढाउने अनि उखुको मूल्य मात्र बढाउँदा उद्योग चल्ने अवस्था नरहेको उद्योगीको भनाइ छ । वाग्मती खाडसारी सुगर मिलका प्रबन्ध निर्देशक राम थापाले सरकारले तोके अनुसार मूल्यमा उखु खरिद गरेर उद्योग चलाएमा घाटा हुने बताए ।


‘चिनीको मूल्यको अनुपातमा किसानको उत्पादनको मूल्य तोकिनुपर्ने हो,’ उनले भने, ‘उद्योग चलाउनुभन्दा नचलाउँदा घाटा कम हुने देखिएको छ ।’ जिल्लामा इन्दिरा सुगर इन्डस्ट्रिज, वाग्मती खाडसारी र लुम्बिनी चिनी मिल सञ्चालनमा छन् । एक सयभन्दा बढी भेली बनाउने क्रसर सञ्चालनमा छन् ।


उखु राजनीति

किसान पृष्ठभूमिका कांग्रेस नेता देवकरण कलवार र स्वतन्त्र राजनीतिक समूहका हृदयेश त्रिपाठीको क्षेत्रमा उखु उत्पादन हुन्छ । वर्षौंदेखि किसानको मागबारे दुवै नेतालाई जानकारी छ । दुवै नेताको खेतमा उखु खेती हुन्छ ।


राष्ट्रिय बाली घोषणा भएमा समयमा मूल्य तोकिने र बिक्री सहज हुने आशाले किसान त्यस्तो घोषणा गर्न तम्सिए । समय–समयमा त्रिपाठी र कलवारले संघीय सदनमा कुरा पनि उठाएका थिए । समस्या घट्नुको साटो बर्सेनि बढिरहेको छ । कलवार संविधानसभा सदस्य थिए ।


गत निर्वाचनमा त्रिपाठीले कलवारलाई पराजित गरेर प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । त्रिपाठी अधिकांश समय काठमाडाैंमा व्यस्त हुन्छन् । कलवार अहिले जनप्रतिनिधि नभएका कारण गाउँमा छन् ।

प्रकाशित : माघ १०, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?