कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फेसबुक ‘चुरोट जस्तै’ हानिकारक

‘सामाजिक सञ्जालले व्यसन र विकर्षणजस्ता अनेक समस्या सिर्जना गर्छन् : मार्क बेनिअफ
एजेन्सी

डावोस — विश्व आर्थिक मञ्चको समापन समारोहमा गत वर्ष अमेरिकी खर्बपति एवं प्रविधि व्यवसायी मार्क बेनिअफले फेसबुकप्रति खरो टिप्पणी गरेका थिए ।

फेसबुक ‘चुरोट जस्तै’ हानिकारक

उनले मार्क जुकरबर्गको सामाजिक सञ्जाललाई चुरोट उद्योग नियमन गर्ने अमेरिकी कानुनकै दायरामा ल्याउनुपर्ने बताएका थिए । यो कुरा उनी अझै दोहोर्‍याइरहेका छन् । गत नोभेम्बरमा उनले भनेका थिए, ‘फेसबुक नयाँ चुरोट हो । यो नशालु छ । यो हाम्रा लागि राम्रो चिज होइन ।’


उनका टिप्पणीपछि फेसबुकको छवि थप बिग्रियो, जब यसलाई प्रजातान्त्रिक हस्तक्षेपका लागि महत्त्वपूर्ण हतियारका रूपमा प्रयोग गरियो । यो डेटा स्क्यान्डलको विवादमा पनि पर्‍यो । बेनिअफले प्रजातन्त्रका लागि फेसबुक चुरोट जत्तिकै हानिकरक भएकाले यसबारे कदम चाल्न आवश्यक रहेको बताएका छन् । बालबालिकालाई इन्टरनेटको विकृतिबाट बचाउन आवाज उठाउँदै आएको ‘कमन सेन्स मिडिया’ का संस्थापक जिम स्टेयर पनि बेनिअफकै पक्षमा उभिएका छन् ।


‘सामाजिक सञ्जालले व्यसन र विकर्षणजस्ता अनेक समस्या सिर्जना गर्छ,’ बेनिअफले बिजनेस इन्साइडर अनलाइनलाई भनेका छन्, ‘फेसबुक र अन्यले हाम्रा प्रजातान्त्रिक संगठनमाथि पनि धावा बोलिरहेका छन् ।’

फेसबुकका सुरुवाती लगानीकर्ता एवं जुकरबर्गका पूर्वगुरुसमेत रहेका रोजर म्याकनेमले समेत सामाजिक सञ्जाललाई खैनी–चुरोटको संज्ञा दिएका छन् ।


‘बेनिअफले यसलाई सार्वजनिक स्वास्थको दृष्टिले हेर्न खोजेका छन्,’ रोजर भन्छन्, ‘त्यसमा मेरो विचार उनीसँग हुबहु मिल्छ ।’ फेसबुकले प्रयोगकर्ताको ध्यान खिच्न अनेक प्रोत्साहनहरू दिँदै आएको छ । यसलाई रोजरले ‘प्रयोगकर्ताको भावनामाथि नमिठो प्रहार’ भन्न रुचाएका छन् ।


प्रविधिको नियमनका लागि पर्याप्त उपाय भएको बेनिअफको धारणा छ । सामाजिक सञ्जालहरूले प्रयोगकर्ताको इच्छाबमोजिम काम गर्दै तिनका विचार सुरक्षित राख्छन् भन्नु वा उनीहरूले स्वनियमनको नीति अवलम्बन गर्छन् ठान्नु मुर्खता भएको उनले बताएका छन् । ‘फेसबुक, गुगल र अमाजनजस्ता कम्पनीको शक्ति नियन्त्रण गरिनुपर्छ,’ उनले भनेका छन्, ‘तिनलाई आरोप–प्रत्यारोप गर्नबाट रोक लगाउनुपर्छ । तिनले आफ्ना सहायक कम्पनीसँग डाटा सेयर गर्न नपाउने नियम हुनुपर्छ ।’


सहायक कम्पनीसँगको सम्बन्ध विच्छेदले सामाजिक सञ्जाललाई सभ्य बनाउन मद्दत पुग्ने विज्ञहरूको धारणा छ । यसो गर्दा विश्व अर्थतन्त्रलाई पनि सहयोग पुग्ने अडकल गरिएको छ । ‘फेसबुक र इन्स्टाग्रामको ब्रेकअप खराब उपाय होइन,’ रोजरले भनेका छन्, ‘उनीहरूलाई आफ्नो प्रमुख उद्देश्यमा केन्द्रित गराऊ न ।’ यसबारे प्रतिक्रिया दिन फेसबुकले आनाकानी गरेको बिजनेस इन्साइडरले उल्लेख गरेको छ । तथापि उसले तथ्यांक सुरक्षामाथि अभिव्यक्ति दिएको छ ।


आफूहरू नियमनमा बस्न तयार रहेको र सुधारका लागि तत्पर रहेको फेसबुककी मुख्य कार्यकारी अधिकारी सेरिल स्यान्डबर्गले बताएकी छन् । ‘हामीले आफ्नो भूल स्विकारेका छौं,’ उनले भनेकी छन्, ‘प्रयोगकर्ताको डेटा सुरक्षित राख्न चाहन्छौं । यसप्रति गम्भीर छौं ।’

प्रकाशित : माघ १०, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?