कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उखु किसान–मिल फेरि किचलो

महोत्तरी — उखुको मूल्य निर्धारण विवादले समयमै चिनी मिल सञ्चालनमा आउन सकेन । बल्ल मूल्य तोकिएपछि मिल सञ्चालनमा आयो । पछिल्लो समय फेरि एकलौटी र विवादास्पद निर्णय गरेको भन्दै उखु किसान र चिनी मिलबीच किचलो सुरु भएको छ । 

मिलले किसानलाई दु:ख दिने नियतले ढुवानी भाडा बढाउने तर उखुको तौल भने घटाउने निर्णय गरेको छ । किसान आक्रोशित बनेका छन् । मिल सञ्चालकले जानकारी नै नदिई आफूखुसी निर्णय गरेको भन्दै कृषक प्रतिनिधिले आपत्ति जनाएका छन् ।


उखु उत्पादक महासंघ अध्यक्ष कपिलमुनि मैनालीले महोत्तरी, सर्लाही र रौतहटका उखु उत्पादक कृषक संघको बैठकले चिनी मिलको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको जनाए । उनका अनुसार चिनी मिलले अघिल्लो वर्षकै निर्धारित मूल्यअनुसार भुक्तानी गरेका छैनन् । समस्या भने थपिएकै छ ।


सरकारले क्रसिङ सिजन ०७४/७५ का लागि उखुको मूल्य ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको थियो । त्यसमध्ये चिनी मिलले ४ सय ७१ रुपैयाँ २८ पैसा भुक्तानी गर्ने सहमति भएको थियो । सहमतिविपरीत मिलले प्रतिक्विन्टल ५ रुपैयाँ घटाएर ४ सय ६५ रुपैयाँ मात्र भुक्तानी दिएको छ ।


‘बाँकी ५ रुपैयाँ भुक्तानीका लागि आग्रह गर्दा मिल सञ्चालकले नसुनेझैं गर्छन्’ मैनालीले भने, ‘सुन्दा यो अंक थोरै देखिए पनि सबै किसानको जोडदा करोडौं रुपैयाँ हुन जान्छ ।’


किसान र तिनका प्रतिनिधिलाई जानकारी नै नदिई चालु क्रसिङ सिजनमा ढुवानी भाडामा १२ देखि १५ रुपैयाँ बृद्धि गरिएको छ । उखु उत्पादक महासंघका केन्द्रीय सदस्य महाशंकर थिङका अनुसार अघिल्लो वर्षसम्म खरिद केन्द्र (काँटा) मा आएका उखुको मिल गेटसम्मको ढुवानीबापत प्रतिक्विन्टल २५ रुपैयाँ मात्र काटिने गरिन्थ्यो ।


अहिले भने त्यही भाडालाई प्रतिक्विन्टल ३७ देखि ४० रुपैयाँ पुर्‍याइएको थिङले बताए । अर्कोतर्फ यही क्रसिङ सिजनदेखि उखुको खुद तौलमा २० प्रतिशतसम्म घटाएर नेट पुर्जा दिन थालेको मैनालीले बताए । उनले भने, ‘एउटा किसानले चिनी मिललाई सय क्विन्टल उखु बुझायो भने उसलाई ८० क्विन्टलको मात्र भुक्तानी दिएर नयाँ र अनौठो तरिकाले किसानलाई मर्कामा पार्दै छन् ।’


उनले यसको विरोध जनाउँदा ‘ल्याब टेस्ट’ का आधारमा उखुको गुणस्तर हेरी तौल घटाउनुपरेको जवाफ दिने गरेको प्रतिक्रिया दिए । थिङले भने, ‘घटी तौल आफैंमा कानुनी अपराध हो । अहिले भने मूल्यको ५ रुपैयाँ तत्काल भुक्तानी गर्न, पुरानै ढुवानी भाडा कायम गर्न र सही तौल कायम गर्ने माग राख्दै कारखानामा ७ दिने ज्ञापन दिइएको छ ।’


रामनगरस्थित एभरेस्ट सुगर मिलका उखु महाप्रबन्धक युगलकिशोर चौरसियाले चिनी मिल र खरिद केन्द्रको दूरीका आधारमा नयाँ ढुवानी भाडा कायम गरेको बताए । उनका अनुसार महोत्तरी र सर्लाहीको गौरीशंकरमा रहेको खरिद केन्द्रका लागि २५ रुपैयाँ नै भाडा कायम छ ।


त्यहाँदेखि टाढा रहेका खरिद केन्द्रका लागि भने दूरीका हिसाबले ३७ देखि ४० रुपैयाँ पुर्‍याइएको बताए । चौरसियाका अनुसार एभरेस्ट सुगर मिलको महोत्तरीमा ७ र सर्लाहीमा १३ खरिद केन्द्र (काँटा) छन् ।

प्रकाशित : माघ ११, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?