घरैपिच्छे डेरी उद्योग

विप्लव भट्टराई

इलाम — इलामका कृषक दुग्ध व्यवसायमा आफैं उद्यमी बनेका छन् । यहाँ उत्पादित छुर्पी अमेरिका, जापानलगायत देशमा बिक्री भएकाले डेरी उद्योग सञ्चालन गर्ने लहर नै चलेको हो । हाल छुर्पीको बजार भने अनिश्चित भएको भन्दै उद्यमी चिन्तामा छन् । 

घरैपिच्छे डेरी उद्योग

विभिन्न कम्पनीको नाममा पश्चिमा मुलुकमा निर्यात हुने छुर्पी जाने क्रम नरोकिए पनि ढिलो मात्र पेइमेन्ट हुने भएकाले समस्या छ । ४/५ महिनासम्म पनि कम्पनीले पैसा नदिंदा उद्योग सञ्चालनमै कठिनाइ भएको उद्यमीहरूको भनाइ छ ।


एकातिर चिज उद्योगले पनि बजारको अभावमा दूध कम प्रशोधन गरेको अवस्थामा डेरी उद्योग फस्टाएको थियो । यसै सिजनमा जिल्लामा रहेका १० वटा चिज उद्योग बन्द भएका छन् । निजी स्तरका अरू १८ उद्योगले पनि कम मात्र प्रशोधन गरिरहेका छन् । त्यस्तै, दुग्ध संस्थानअन्तर्गतका चिज कारखानाले पनि कम मात्र दूध प्रशोधन गर्न थालेपछि कृषकले वैकल्पिक बाटो खोजेका हुन् ।


‘४/५ महिनासम्म दूधको भुक्तान नपाएपछि कसरी थेग्ने,’ सूर्योदय नगरपालिकास्थित बरेबोटेका डेरी उद्योग सञ्चालक दिनेश महतले भने, ‘मासिक १५/१६ लाख रुपैयाँ कृषकलाई ऋण काढेर दिएपछि कसरी टिक्ने ।’ महतले आफ्नो डेरी उद्योगमा दैनिक ४ हजार ५ सय लिटरसम्म दूध प्रशोधन गर्ने गरेकोमा अहिले घटाएर हजार लिटरमा पुर्‍याएका छन् । मनोरम हिमालयन हेन्डिक्राफ्ट मार्फत यस क्षेत्रको छुर्पी बाहिर जाने गरेको हो । तर, अमेरिकाबाटै रकम ढिलो आउने गरेकाले समयमा भुक्तान गर्न नसकिएको कम्पनीले जानकारी गराउने गरेको महत बताउँछन् ।


उनका अनुसार ग्रामीण क्षेत्रमा रहेका थुप्रै डेरी उद्योगहरू बन्द भएको र बन्द हुने अवस्थामा पुगेका छन् । यता जिल्ला घरेलु कार्यालयमा ४ सय २१ डेरी र ललिपप उद्योग सञ्चालनमा छन् । यीबाहेक नगरपालिकाका र गाउँपालिकामा दर्ता गराएर चलाउने क्रममा उत्तिकै छ ।


जिल्लाको उत्तरी र पूर्वी गाउँमा आफैं स्वरोजगार बन्ने ध्याउन्नमा घरैपिच्छेजस्तो डेरी उद्योग खुलेका हुन् । यसमध्ये धेरै डेरी उद्योग नै छन् । स्थानीय बजार र सीमापारि भारतीय बजारमा बिक्री हुँदै आएको छुर्पी अमेरिकालागयत देश जान थालेपछि राम्रो मूल्य पाएका थिए । ‘त्यही मूल्यका कारण पनि डेरी सञ्चालकले महँगोमा दूध खरिद गरेर उत्पादन बढाए,’ सन्दकपुर ५ जमुनाका व्यवसायी ठाकुर गुरुङले भने, ‘अहिले उच्च मूल्य दिएर दूध खरिद गर्ने अवस्था छैन ।’ यता कृषक भने त्यसभन्दा तलको भाउमा दूध बिक्री गर्न नै समस्या हुने बताउँछन् ।


बजारले पुरानै रूप लिने भएपछि स्थानीय बजारमा घिउछुर्पी बेचेर व्यवसाय चलाउन कठिन भएको हो । इलामबाट मासिक ५० हजार किलो छुर्पी बाहिर देश जाने गरेकोमा हाल १० हजार किलोको हाराहारीमा मात्र रहेको व्यवसायीको अनुमान छ । जिल्लाबाट दैनिक २२ हजार लिटर दूध संस्थानको विराटनगरस्थित दुग्ध वितरण आयोजनामा जाने गर्छ । ‘ इलामबाट सामान्य ढंगले नै दूध आइरहेकाले कुनै समस्या छैन,’ विराटनगरस्थित दुग्ध वितरण आयोजनाका संकलन शाखा प्रमुख शिवकुमार श्रेष्ठले भने, ‘गुणस्तरीय दूध आए थप गर्न सकिन्छ ।’


इलाममा वार्षिक ११ करोड ६० लाख लिटर दूध उत्पादन हुने अनुमान छ । त्यसमध्ये सरदर दुई करोड १९ लाख लिटर दूध बिक्री हुन्छ । बाँकी दूधको चीज, घ्यू, छुर्पी, ललीपप, कुराउनीलगायतका परिकार बनिने गरेको छ । ‘संस्थान या निजी कारखाना जसलाई दूध बिक्री गरे पनि कृषकको समस्या जटिल छ’ बरबोटेका कृषक प्रमोद भण्डारीले भने, ‘एउटै गाईलाई ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म मूल्य तिरेर दूध बिक्रीबाट घर खर्च चलाउने कृषक एक दिन दूध नबिक्दा पनि संकटमा पर्छन् ।’


भूकम्पपछि नै काठमाडौं, पोखरालगायत क्षेत्रमा घिउ, छुर्पी र चिजको बिक्री नभएपछि यस्ता व्यवसायी र सम्बद्ध कृषक मारमा परेका थिए । बीचमा त्यो अवस्थामा सुधार आए पनि फेरि समस्या देखिएको हो ।


दैनिक एक कृषक परिवारले १० देखि २५ लिटरसम्म दूध उत्पादन गर्छन् । फार्म स्थापना गरेका कृषकले दैनिक दुई सय लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएका छन् । व्यावसायिक रूपमा पशुपालन गर्ने किसानमध्ये झन्डै ९० प्रतिशतले निजी डेरीमा दूध बिक्री गर्छन् । डेरीको उत्पादन थन्किँदा प्रत्यक्ष असर किसानलाई परेको छ । डेरी उद्योगमा कार्यरत मजदुरलाई पारिश्रमिक दिन समस्या छ । व्यवसायी र कृषकलाई बैंकबाट लिएको कर्जाको ब्याज तिर्न अप्ठ्यारो छ ।

प्रकाशित : माघ १३, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?