कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

अब आउँदैन टाटाको नानो

‘हामी नानो कारमा थप सुधार गर्न लगानी थप्ने स्थितिमा छैनौं : टाटा अध्यक्ष
रासस/एएफपी

मुम्बई — विश्वकै सबैभन्दा सस्तो मानिएको टाटा नानो कारको उत्पादन बन्द हुने भएको छ । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारको नानो कारको उत्पादन गर्दै आएको थियो ।

अब आउँदैन टाटाको नानो

अर्को वर्षको अप्रिलदेखि नानो कारको उत्पादन र बिक्री बन्द गर्न लागेको टाटा मोटर्सले जनाएको छ । भारतीय उपभोक्ताले त्यति नरुचाएको यस कारको उत्पादन लागत बढी रहेको बताइन्छ । ‘हामी नानो कारमा थप सुधार गर्न लगानी थप्ने स्थितिमा छैनौं,’ टाटा मोटर्सका अध्यक्ष मयंक पारिकले भने ।


टाटाले सन् २००९ मा तामझामका साथ नानो कार बजारमा ल्याएको थियो । सुरुका दिनमा यसको बजार मूल्य २ हजार २ सय अमेरिकी डलर थियो । भारतीय प्रसिद्ध उद्योगी एवं टाटा समूहका पूर्वअध्यक्ष रतन टाटाको योजनामा उक्त कारको उत्पादन थालिएको थियो । ठूलो संख्याका भारतीयलाई सस्तोमा कार दिने सपना उनको थियो । अहिले ८१ वर्ष पुगिसकेका रतनले मोटरसाइकल, स्कुटरजस्ता दुईपांग्रे सवारी चढ्ने ठूलो संख्याका भारतीय नागरिकलाई कार चढाउने सपना बुनेका थियो ।


विश्लेषकहरू पनि रतनको योजनामा सहमत देखिन्थे किनभने लाखौं भारतीयलाई यो कार वरदान सावित हुने अपेक्षा थियो । त्यसलगत्तै, ‘विश्वकै सस्तो कार’ को उपनाम पाएको थियो तर बिक्रीमा मन्दी आयो । ‘यो मार्केटिङमा भएको असफलता हो,’ अटोकार इन्डिया म्यागेजिनका सम्पादक होरमाज्द सोब्रब्जीले भने, ‘यो कारलाई गरिबको कार भनियो र भारतीयहरू आफ्नो इज्जत, प्रतिष्ठाप्रति ज्यादै सचेत छन् । मोटरसाइकलको विकल्पमा यो कारले बजार लिन सक्थ्यो तर बजार प्रवद्र्धन त्यस किसिमबाट भएन ।’


यो कारमा सुरक्षा पनि अर्को चासोको विषय थियो । कारको इन्जिनमा आगलागीका कैयौं घटना भएका थिए । सुरुका दिनमा यो कार प्रतिमहिना २५ हजार थान बिक्री गर्ने योजना थियो तर एक दुई वर्षभित्रै यसको प्रतिमहिना बिक्री एक सयमा झरेको थियो ।


सन् २०१३ मा टाटा मोटर्सले बिक्री बढाउन यो कारमा स्तरोन्नति गरेको थियो । भारतमा नानोसमेतका सानो मोडेलका अरू कारको पनि बिक्री बढ्न सकेन । ‘एउटा सपनाको अन्त्य,’ दैनिक पत्रिका मिन्टको मुख्य समाचारको शीर्षकमा भनिएको छ ।

प्रकाशित : माघ १४, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?