कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपाली अलैंचीको मूल्य कतारमा छ गुणा बढी

ताप्लेजुङमा प्रतिकिलो ६ सय र कतारमा ३ हजार ६ सय रुपैयाँ
आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङलगायत नेपालमा उत्पादित अलैंचीको अन्तिम विन्दु कतारलगायत खाडी मुलुक हुन् । नेपालबाट भारत हुँदै समुद्री मार्गबाट ती मुलुकमा अलैंची पुग्ने गरेको छ । उत्पादक र खपतकर्ता बीचको अन्तर भने छ गुणाको पाइएको छ ।

नेपाली अलैंचीको मूल्य कतारमा छ गुणा बढी

अहिले कतारमा एक किलो अलैंचीको मूल्य ३६ सय रुपैयाँ छ । देशमै सबैभन्दा बढी अलैंची उत्पादन गर्ने ताप्लेजुङमा भने प्रतिकिलो छ सय रुपैयाँ । गाउँबाट सदरमुकाम ल्याइपुर्‍याउँदाको मूल्य हो यो ।


ताप्लेजुङ सदरमुकाम फुङलिङको मूल्य बिहीबार प्रतिमन (४० किलो) को २४ हजार र झापा बिर्तामोडको मूल्य २६ हजार रहेको अलैंची व्यवसायी संघका अध्यक्ष बालमणि बरालले बताए । कतार पुगेका सिरिजंगा गाउँपालिका ३ सिकैचाका चन्द्रप्रकाश भट्टराई (सीपी) ले भने ‘कतारका व्यापारीले एक किलो अलैंची १ सय २० दिराममा बेच्दा रहेछन् ।’ उनको नेतृत्वमा रहेको वातावरण संरक्षण तथा विकास मञ्चले इसिमोडसँगको सहकार्यमा ताप्लेजुङमा तीन वर्ष अलैंचीसम्बन्धी कार्यक्रम गरेको थियो ।


सीपीले मूल्यसहितको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘हाम्रो माटोमा उत्पादन भएको चीजलाई हाम्रो पनि भन्न नपाउनु’ भन्ने प्रश्न गरेका छन् ।’ कतारमा बिक्रीमा राखिएको अलैंची भारतमा उत्पादन भएको उल्लेख गरिएको छ । भट्टराईका अनुसार कतार र भारतीय व्यापारीले अलैंची बिक्रीमा राखेका छन् ।


कृषि मन्त्रालयको तथ्यांकअनुसार नेपालमा वार्षिक ५ हजार टन अलैंची उत्पादन हुन्छ । एक/दुई प्रतिशतबाहेक सबै बाहिर जाने अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई बताउँछन् । उनका अनुसार अहिले मुलुकका ४३ जिल्लामा उत्पादन हुन थालेको छ ।


पूर्वदेखि पश्चिम नेपालसम्म हरेक पहाडी जिल्लामा अलैंची उत्पादन हुने गरेको उनले बताए । सरकारले यसको निश्चित बजार मूल्य निर्धारण गर्न सकेको छैन । नेपाली ब्रान्ड पनि छैन । न त बजारको प्रवद्र्धनमै योगदान दिएको छ । किसानले उत्पादन गरेको अलैंची जस्ताको त्यस्तै झापा, सुनसरीलगायत तराईका जिल्लामा पुर्‍याउने र त्यहाँबाट झन्डी (पुच्छर) काटेर भारतीय व्यापारीलाइ जिम्मा लगाउने गरिएको छ । पछिल्ला दिन कम मूल्यमा पनि अलैंची बिक्री गर्न कठिन भएको भट्टराईले बताए । मूल्य पनि लगातार ओरालो लागिरहेको छ ।


अहिलेसम्म भारतकै उत्पादन बिक्री भइरहेकाले नेपालको अलैंची खासै बिक्री नभएको निर्मल बताउँछन् । ‘पहिला कति पठाउने भनेर इन्डियाबाट फोन आउँथ्यो,’ उनले भने, ‘यो वर्ष कति पठाऊँ भनेर प्रत्येक दिन नेपालबाट फोन गर्नुपरेको छ ।’


नेपालको अलैंचीको मूल्य किसानले एक मनको १ लाख २० हजार रुपैयाँसम्म पाएका छन् । राम्रो मूल्यको आसमा धान, मकै, कोदो, जौ, गहुँ फल्ने खेतबारी मासेर अलैंची लगाएका छन् ।

प्रकाशित : माघ १८, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?