कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निगमका सबै चिनियाँ विमान ग्राउन्डेड

काठमाडौँ — नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण निगमका ६ वटै चिनियाँ विमान ग्राउन्डेड भएका छन् । निगमसँग रहेका ४ साना वाई १२ ई र दुइटा मझौला एमए ६० ग्राउन्डेड भएका हुन् । चिनियाँसहित ग्राउन्डेड भएका निगमका जहाजको संख्या १० पुगेको छ । २ वटा टीनअटर, २ वटा एमए ६० र २ वटा जेट विमान यसअघि नै ग्राउन्डेड छन् ।

निगमका सबै चिनियाँ विमान ग्राउन्डेड

निगमको विमानस्थल स्रोतका अनुसार आन्तरिक उडानका लागि जहाज नै नभएपपछि बिहीबार निगमले कुनै पनि आन्तरिक रुटमा उडान तालिका सार्वजनिक गरेन ।


‘बिहीबार उडान तालिका नै प्रकाशित भएन,’ २२ वटा सेक्टरमा आन्तरिक उडान गर्ने निगमका एक पाइलटले कान्तिपुरसँग भने । निगमसँग आन्तरिक सेक्टरमा उडानका लागि दुइटा चिनियाँ विमान एमए ६०, चारवटा वाई १२ ई र तीनवटा क्यानेडियन टीनअटर गरी नौ विमान छन् । अन्तर्राष्ट्रियतर्फ ५ वटा जेट विमान छन् । यीमध्ये आन्तरिकको एउटा टीनअटर र अन्तर्राष्ट्रियतर्फका ३ वटा जेट मात्र चल्ने अवस्थामा छन् ।


सानो चिनियाँ विमान उडाउने तीन क्याप्टेनमध्ये निपेन्द्र भट्टराई र सञ्जयबादे श्रेष्ठ लामो समयदेखि बिरामी बिदामा छन् । करारमा लिइएका अर्का क्याप्टेन आङनुरी शेर्पाको लाइसेन्सको ८ महिनाभित्र गरिने अनिवार्य जाँच नभएकाले बुधबारदेखि उनी पनि उडानका लागि ‘अयोग्य’ भएका छन् । प्रशिक्षक पाइलटको सहायतामा क्याप्टेन शेर्पाले लाइसेन्स जाँच (पाइलट प्रोफिसेन्सी चेक) गर्नुपर्छ । नेपालमा यस्तो जाँच नहुने भएकाले उनी बाहिरी मुलुक जानुपर्छ ।


क्याप्टेन नै नभएपछि वाई १२ ई का लागि लिइएका ७ कोपाइलट पनि फुर्सदिला बनेका छन् । कार्यकारी अध्यक्षमा मदन खरेल आएपछि ‘अपरेसन म्यानुअल’ संशोधन गरिएको थियो । उक्त संशोधनले १५ सय घण्टा विमान उडाइसकेका क्याप्टेन र कोपाइलटलाई एयरबसमा सरुवा गर्न सकिने प्रावधान राखेपछि वाई १२ ई उडाउने दुई जना वरिष्ठ क्याप्टेनहरू भट्टराई र श्रेष्ठ असन्तुष्ट हुँदै बिरामी बिदामा बस्दै आएको एक निर्देशकले बताए । उनका अनुसार भट्टराई र श्रेष्ठभन्दा कनिष्ठ तर १५ सय घण्टा उडान गर्नेलगायत मापदण्ड पूरा गरेका नौ जुनियर पाइलट र कोपाइलट एयरबसको तालिममा गइसकेका छन् ।


प्रकाशित : माघ १८, २०७५ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?