कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कालीगण्डकी करिडोर : चौडा पार्न २० करोड निकासा

प्रकाश बराल

बागलुङ — सरकारले कालीगण्डकी करिडोर चौडा पार्न २० करोड रुपैयाँ निकासा गरेको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको बागलुङ र गुल्मी खण्डका लागि उक्त रकम रकमान्तरण गराएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । 

कालीगण्डकी करिडोर : चौडा पार्न २० करोड निकासा

बागलुङको मालढुंगा नजिकैको कालाखोलामा सडक चौडा पार्ने कामको शनिबार खतिवडा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरे । चीन र भारत जोड्ने करिडोरलाई १० मिटर चौडा बनाउन उक्त बजेट छुटयाइएको हो ।


२०७२ असार १५ गते पहिलो पटक शिलान्यास भएपछि नेपाली सेनाले दुई वर्षमा करिडोरको अधिकांश ट्रयाक खोलेको थियो । अहिले करिडोरमा सवारी गुड्न थालेका छन् । हाल आठ मिटर चौडा यो सडकलाई १० मिटर बनाउने कामका लागि उक्त बजेट विनियोजन गरिएको हो । चालु वर्षकै बजेटमा गुल्मी खण्डमा चौडा पार्ने काम सुरु भइसकेको छ । बागलुङ खण्डमा पनि बजेट प्राप्त भएकाले तत्कालै काम थाल्ने सेनाको निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले बताए ।


धेरै स्थानमा बम पड्काएर पहरा फोडदै सडक बनाउनुपर्ने भएकाले सडक डिभिजनमार्फत सम्भव नभएपछि सेनालाई जिम्मा दिएको थियो । ‘कालीगण्डकी करिडोर अब आर्थिक विकासको मेरुदण्ड र आर्थिक करिडोर बन्छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘दुई छिमेकी देशमा व्यापार गर्ने प्रमुख राजमार्ग पनि हामीले बनाउनेछौं ।’ दुई देश जोड्ने यो सबैभन्दा छोटो करिडोर हो ।


सुनौलीदेखि कोरला नाकासम्म ४ सय १७ किमि खण्डमा यो सडकले भारत र चीन दुई देश जोड्छ । करिडोरमा नियमित सवारी चल्न थालेपछि आसपासका १० लाख ३० हजार जनसंख्यामा बसाइसराइ कम हुने विश्वास गरिएको छ । करिडोरले बलेवा, बिनामारे, जैदी, छिस्तीका फाँट, गुल्मी, पाल्पा र पर्वतका बस्तीले आफ्नो कृषि उपजलाई नारायणगढ, गैंडाकोटसम्म सहज बिक्रीका लागि पठाउन सक्छन् ।


शिलान्यास कार्यक्रममै अर्थमन्त्री खतिवडाले चालु वर्ष सडक चौडा पार्ने काम पछि आगामी वर्ष कोरलामा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन हुने बताए । ‘आगामी बजेटमा पूर्वाधार निर्माण हुने गरी रकम छुट्टयाइनेछ,’ उनले भने, ‘दुई देशबीचको व्यापार प्रवद्र्धनका लागि संरचनाहरू उपयोग गरिनेछ ।’ चीनका पर्यटक लुम्बिनी र भारतीय पर्यटकलाई मुक्तिनाथ लैजान यो मार्ग बढी उपयोगी हुने उनले बताए ।


निर्माण कार्यदलले पनि राष्ट्रिय गौरवको आयोजना भएकाले समयमै सक्ने दाबी गरेको छ । ‘असारभित्र बागलुङतर्फको ३६ किमिमध्ये आधा काम सक्ने र एक वर्षभित्र सबै काम सकिनेछ,’ भट्टराईले भने, ‘कामका लागि हामीले राति र दिन भन्ने छैनौं ।’ सेनाले ९५ करोडमा बागलुङ र गुल्मी खण्डको ८० किमि ट्रयाक खुलाएको थियो । चार वटा फलामे पुल (बेली ब्रिज) दुई वटा काठेपुलसमेत सेनाले बनाएको छ । यो सडक तुलनात्मक रूपमा ग्रेड मिलेको र सहज यात्रा गर्न सकिने बाटो भइसकेको यातायात व्यवसायीको भनाइ छ ।


शनिबार मालढुंगा नजिकैको कालाखोलामा गरिएको शिलान्यास स्थलदेखि बलेवा एयरपोर्टसम्मको चौडा बनाउन सेनाले सडक बन्द गर्ने योजना बनाएको छ । विकल्पको बाटो भएकाले सवारी रोकेर छिटो सडक चौडा पार्दा एयरपोर्ट सञ्चालनमा सहज हुनेछ । ‘तोकिएको मापदण्डअनुसारको ट्रयाक बनेपछि कालोपत्रे गरेर एयरपोर्टलाई नियमित सञ्चालन गर्ने सरकारी योजना छ । हाल सडक सहज नभएकोले एयरपोर्ट सञ्चालनमा कठिनाइ भएको हो ।


यो सडक बनेपछि धौलागिरिबाट बुटवल र स्याङजाको मिर्मी घुम्न जाने बढेका छन् । बुटवल तथा पाल्पाका अधिकांशले मुक्तिनाथ र बागलुङ कालिका आउने सडकका रूपमा प्रयोग गर्न थालिसकेका छन् । सडक चौडा पार्ने क्रममा नाली निर्माणको काम पनि सुरु भएको छ । सडक चौडा पार्ने काम सँगै सेनाले कल्भर्ट, कजवे, पक्की पर्खाललगायतका काम पनि गर्ने भट्टराईले बताए ।


सेनाको काम राम्रो देखिएकाले बजेट र सेनाकै निरन्तरताका लागि पहल भएको बागलुङ क्षेत्र नं. १ का सांसद सूर्य पाठकले बताए । करिडोरले जोडिएकाले दक्षिण बागलुङका छिस्ती, जैदी, अर्जेवा, धुल्लुबाँस्कोटलगायतका गाउँबाट सदरमुकाम आउने बाटो

छोटिएको छ ।

प्रकाशित : माघ २०, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?