पञ्चासेमा केबुलकार : हजारलाई रोजगारीको घोषणा

भीम घिमिरे

पोखरा — पर्वत, कास्की र स्याङ्जाको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीय स्थल पञ्चासेमा निर्माण हुने केबुलकारले हजार जना स्थानीयलाई रोजगारी दिने घोषणा गरेको छ । 

पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडले योगदानमा अधारित सेयर वितरण कार्यविधि पारित गरेर रोजगारी र सेयर लगानीको अवसर दिने कार्यक्रम अघि सारेको हो ।


कम्पनीका अध्यक्ष रामचन्द्र शर्माका अनुसार करिब ११ अर्बको लगानी रहने परियोजनाले स्थानीयलाई साझेदारका रूपमा अघि लैजाने योजना बनाएको छ । ‘हामीले वातावरणीय प्रभाव मूल्यांकन, डीपीआर र आर्किटेक्ट डिजाइनको काम सँगसँगै अघि बढएका छौं,’ उनले भने, ‘पञ्चासेसँग जोडिएको क्षेत्रका बासिन्दा सबैलाई लगानी र रोजगारीको अवसर दिने नीति छ ।’ डीपीआर र परियोजनाको नक्सांकनका लागि भारतीय र अस्ट्रियाका कम्पनीले काम गरिरहेको उनले बताए ।


पञ्चासे क्षेत्रका स्थायी बसोबास गर्ने तर कम्पनीले खुला गर्ने न्यूनतम सेयर पुँजी लगानी गर्न नसक्नेलाई रोजगारी दिइने उनले बताए । पोखरा ८ घाँटीछिनादेखि पर्वतको मोदी गापा ८ को चित्रेसम्म ८.६ किमिको दूरीमा निर्माण हुने केबुलकारका लागि कम्पनीले केही समयअघि स्थानीयलाई पनि सेयर लगानी गर्न दिने जनाएको थियो ।


‘कम्पनीमा लगानी गर्न इच्छुक भए पनि न्यून आय भएका प्रभावित क्षेत्रका बासिन्दाका यो योजना लागू गरेका हौं,’ शर्माले भने, ‘यो सुविधा लिन चाहने र रोजगारी गर्न चाहनेको आवेदन हामी उहाँहरूको वडा कार्यालयमार्फत संकलन गर्छौं ।’ रोजगारीका लागि गाउँलेलाई सम्बद्ध स्थानीय तहसँगको सहकार्यमा छनोट गरिने उनले बताए । कम्पनीमा न्यूनत १ लाख रुपैयाँ लगानी नसक्नेले पनि रोजगारी गरेर त्यसैबाट पनि सेयर सदस्य बनी मुनाफामा सहभागी बन्न सक्ने उनले बताए ।


कम्पनीले ९ हजार ७ सय जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिने योजना बनाएको छ । सेयर योजनामा भने १ हजार जनालाई सहभागी बनाउनेछ । एकाघर परिवारले बढीमा १ लाखसम्मको सेयर लगानी गर्न सक्नेछन् । प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि शर्मा तिमिल्सिनाका अनुसार कम्पनीले स्थापना गरेको टुरिज्म इन्भेस्टमेन्ट फन्डमार्फत लगानी गर्ने योजना छ ।


यसको भुक्तानी तीन वर्षभित्र परियोजनाले उपलब्ध गराएको रोजगारीबापत पाउने पारिश्रामिकको हिस्साबाट किस्ताबन्दीमा गर्न सकिनेछ । ‘परियोजनाको रोजगारी उपयोग नगरी पनि स्थानीयले यो सुविधा लिन सकिने व्यवस्था गरेका छौं,’ उनले भने, ‘वार्षिक ५० हजारभन्दा कम आम्दानी भएकाहरूलाई पहिलो प्राथमिकतामा राख्छौं ।’ केबुलकारसँगै होमस्टे, रिसोर्ट र फनपार्क पनि आफ्ना योजनामा राखेको छ ।

प्रकाशित : माघ २१, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?