हिमपातपछि खेतीको चटारो

कालिकोट / मुगु — खाडाचक्रका कृषक अविराम पाण्डेलाई अहिले आलु खेतीलाई जग्गा खनजोत गर्न भ्याइनभ्याइ छ । उनी हिउँसँगै पानी परेपछि घर पछाडीको बाँझो सम्याउन अरू छिमेकीसँगै बिहानदेखि काममा जोतिने गर्छन् । 

‘हिउँदभरि पानी नै परेन,’ अविरामले भने ‘आलु लगाउने बेला भएकाले बाँझो खनजोत गरेर तयारी गर्छौं ।’ माघमा जग्गा खनजोत गरेर फागुनमा आलु लगाउने उनले सुनाए । उनी मात्र होइन, छिमेकी पुरीलाल पाण्डे पनि आलु लगाउने जग्गा तयारी गर्न अचेल व्यस्त छन् । ‘पानी परेकाले बाँझो खनजोत गर्न सजिलो छ,’ पुरीलालले भने, ‘फागुनमा स्याउला सोत्तर पनि झर्ने भएकाले आलुबालीमा स्याउलाको मल हाल्न सजिलो हुन्छ ।’


गत साता हिउँसँगै पानी परेपछि कालिकोटका धेरैजसो आलु कृषक जग्गा खनजोतमा व्यस्त छन् । ‘हिउँ परेकाले आलुमा रोग किराको प्रकोप पनि उति सारो हुँदैन,’ तिलागुफा ३ फोइमहादेवका कृषक भक्तिप्रसाद पाण्डेले भने, ‘यसपाली स्याउ पनि राम्रै हुन्छ होला ।’ कृषकका अनुसार हिउँ परेको वर्ष स्याउ बढी फल्ने गर्छ । असिना पनि कम पर्छ । उनले स्याउ बारीमै आलु र सिमीखेती गरिन्छ ।


कालिकोटमा कति क्षेत्रफलमा आलु खेती हुन्छ भन्ने यकीन तथ्यांक मान्मस्थित कृषि ज्ञान केन्द्रसग नभए पनि ९ वटै पालिकामा आलु खेती हुने गरेको प्रमुख भरत बस्नेतले बताए । ‘पहिले गाविस हुने बेलाको प्रोफाइल पनि भेटिएको छैन,’ बस्नेतले भने ‘नयाँ संरचनामा कसैको पनि प्रोफाइल बनेकै छैन ।’


जिल्ला कृषिसँग भएको तथ्यांक आफूले नभेटेको उनले सुनाए । उनका अनुसार तिला गुफाका फोइमहादेव, राचुलीको रतडा, चिल्खाया, दाहा, भर्ता, मान्मलगायत ठाउँमा आलु खेती प्रशस्त हुने गर्छ ।


केन्द्रका अनुसार आलुको पकेट क्षेत्र हुन १० हेक्टरमा खेती गरिएको हुनपर्ने मापदण्ड रहेको छ । यस वर्ष आलु पकेट क्षेत्रका लागि ५ लाख बजेट छ । आलुको उन्नत बीउ, उपकरण, कृषकलाई तालिम, अनुगमनलगायतमा उक्त रकम खर्च हुनेछ ।


उच्च लेकाली भेकको आलु विउका लागि राम्रो मानिने भएकाले कृषकहरूले खाडलमा राखेको आलु फागुनमा निकालेर बेच्ने गर्छन् । कालीकोटको फोइमहादेव, भर्ता, दाहालगायतका ठाउँको आलु बीउको लागि राम्रो मानिन्छ ।


बाली लगाउने चटारो

जिल्लाका अधिकांश स्थानमा हिमपात भएपछि किसानहरू अन्नबाली लगाउने तयारीमा जुटेका छन् । अन्नबाली लगाउन खेतबारी खनजोतमा किसानको व्यस्तता बढेको हो । हिउँ परेपछि जमिन ओसिलो भएका कारण राम्रो उत्पादन हुने आशामा किसानको व्यस्तता बढेको हो ।


जौ र गहुँ नलगाएको पाखो जग्गा जोत्ने, वर्षाले भत्काएको खेतबारीमा पर्खाल लगाउने काममा किसान जुटेका हुन् । अन्नबाली लगाउन खेतबारी र पाखो जग्गा खनजोत गर्ने काम सुरु भएको छायाँनाथरारा नगरपालिकास्थित रुघा गाउँका बलबहादुर थापाले बताए । यो पटक हिउँ र झरी धेरै परेकाले सुबिकाल हुने आशा रहेको उनको भनाइ छ ।


हिउँले गर्दा खेतबारी खनजोत गर्न सजिलो भएको किसानको भनाइ छ । चैते बाली कोदो, पाखे धान, आलु, मकै, कपास, लगाउन किसानले सुरु गरेको उनले जनाए ।


अब चैते अन्नबाली लगाउन कात्तिकमा बाँझो राखिएको जग्गा खनजोत गर्न थालिएको सोरु गाउँपालिकास्थित सोरुकोटका भक्त मल्लको भनाइ छ । अहिले लेकाली बस्तीभन्दा औलमा किसानले जग्गा खनजोत गरिरहेका छन् । लेक बेंसीमा हिउँ पग्लिएपछि फागुन महिनामा जग्गा खनजोत सुरु गर्ने किसानको भनाइ छ ।


सोरु गाउँपालिकाको पुरुमुरु, बन्जाहा, नार्थपु, जिमा, नार्थपु, भीई, फोतु नेरलगायत गाउँबस्तीका किसान अन्नबाली लगाउन पाखो जग्गा खनजोतमा जुटेका छन् ।

प्रकाशित : माघ २२, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?