कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रसुवागढीबाट आयात उच्च

बलराम घिमिरे

रसुवा — चालु आवको छ महिनामा रसुवागढी नाकाबाट आयात उच्च दरमा बढेको छ । रसुवा भन्सारका अनुसार यस अवधिमा १७ अर्ब ३४ करोड ८१ लाख ५१ हजार मूल्य बराबरको सामान आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा १ सय २२ प्रतिशत बढी हो ।

रसुवागढीबाट आयात उच्च

अघिल्लो वर्षको सोही अवधिमा ७ अर्ब ८१ करोड १९ लाख मूल्य बराबरको सामान आयात भएको थियो । सोही अवधिमा ५३ करोड १६ लाख २८ लाख बराबरको सामान निर्यात भएको छ । रसुवागढी नाकाबाट बर्सेनि सामान आयात हुने क्रम बढ्दै गएको छ ।


रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । २०१३ सालमै नाकामा भन्सार कार्यालय स्थापना भएको थियो । २०७१ साल मंसिर १५ गतेदेखि उक्त नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । ०७२ वैशाख १२ गतेको भूकम्पले रसुवागढी नाकामा ठूलो क्षति हुन पुग्यो । केही महिना रसुवागढी नाका बन्द भयो ।


भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि तत्कालका लागि चीनसँगको प्रमुख व्यापारिक नाका यही नै हो । नाकालाई ०७४ भदौ १४ गते चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ । भूकम्पपछि रसुवागढी नाकाबाट बर्सेनि सामान आयात निर्यात हुने क्रम बढ्दै गएको छ ।


सामान आयातमा वृद्धि भएसँगै रसुवा भन्सार कार्यालय टिमुरेको राजस्व संकलनमा पनि वृद्धि हुँदै गएको छ । चालु आर्थक वर्षको छ महिनामा १७ अर्ब ३४ करोड ८१ लाख ५१ हजार मूल्य बराबरको सामान आयात भएको रसुवा भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । ‘छ महिनामा ५३ करोड १६ लाख २८ लाख मूल्य बराबरको सामान निर्यात भएको छ,’ उनले भने । रसुवा भन्सार कार्यालय टिमुरेले ६ महिनामा ५ अर्ब ६१ करोड ५१ लाख ६८ हजार राजस्व संकलन गरिसकेको छ ।


भन्सार विभागले आर्थिक वर्ष ०७५/०७६ का लागि रसुवा भन्सार कार्यालयलाई ७ अर्ब १५ करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको सूचना अधिकारी भूपेन्द्र कार्कीले बताए ।

प्रकाशित : माघ २४, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?