कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कोलकाता हडतालले राजस्वमा असर

शंकर आचार्य

पर्सा — भारतको कोलकातास्थित ‘कस्टम हाउस एजेन्ट’ को आन्दोलनका कारण वीरगन्ज नाकाबाट आयात निर्यात प्रभावित भएको छ । वीरगन्जका २ भन्सार कार्यालयको राजस्व असुलीमा समेत असर परेको छ । 

कोलकाता हडतालले राजस्वमा असर

नेपालको समुद्रपार व्यापारका लागि सर्वाधिक प्रयोग हुने कोलकाता बन्दरगाहमा नेपालका लागि कन्टेनर ढुवानी गरिरहेका व्यवसायीको संस्था भारत–नेपाल ट्रक एन्ड टेलर अनर्स एसोसिएसन र एजेन्टको संगठन नेपाल–भारत कस्टम हाउस एजेन्ट एसोसिएनले संयुक्त रूपमा आन्दोलनमा छन् ।


माघमा ७ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको वीरगन्ज भन्सारले बुधबारसम्ममा जम्मा ७ अर्ब ५८ करोड रुपैयाँ राजस्व मात्र संकलन गर्न सकेको छ । कार्यालयका सूचना अधिकारी मनीष महतोले यो असुली मासिक लक्ष्यको ५५ प्रतिशत मात्र रहेको उनले बताए ।


माघमा यो भन्सारले १३ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको छ ।

तेस्रो मुलुकको कन्साइन्मेट हाल भन्सारमा आउनै छोडेको उनले बताए । कोलकाता तथा अन्य बन्दरगाहबाट हडताल सुरु हुनुभन्दा अघि हिँडेका र बाटोमा रहेका केही कन्साइन्मेन्ट आएर मात्र थोर बहुत कामकाज भन्सारमा भइरहेको उनले बताए । समग्रमै आईसीपी/वीरगन्ज भन्सारको रौनक घटेको छ ।


पछिल्लो समय बैंकहरूले लोन दिन कडाइ गरेको, अटो लोन पनि घटाएकाले सवारी साधनको आयात घटेर पनि त्यसको प्रभाव राजस्व असुलीमा परेको उनले बताए । यसबाहेक समग्र आर्थिक गतिविधि नै सुस्त भएकाले पनि त्यसको असरसमेत परेको उनले बताए ।


यता सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले बिहीबारदेखि कोलकाता बन्दरगाहबाट बल्ल रेल्वे र्‍याक आउन थालेको बताए । ‘पाँच दिनपछि कोलकाताबाट रेल्वे र्‍याक आउन थालेको हो,’ उनले भने, ‘हडतालले कार्यालयको राजस्व असुलीमा पनि असर गरेको छ ।’


सामान्य दिनमा दैनिक १० करोड रुपैयाँसम्म संकलन गर्ने यो कार्यालयले हालका दिनहरूमा ३ देखि ६ करोड रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको उनले बताए । माघका लागि २ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको भन्सारले बुधबारसम्ममा २ अर्ब ५ करोड रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको छ । जुन लक्ष्यको ७१ दशमलव ३ प्रतिशत मात्र हो ।


माघ २९ दिनको मात्र रहेकाले ६ दिनमा मासिक राजस्व असुली लक्ष्य भेटाउन करिब असम्भव झैं रहेको छ । उनले बिहीबारदेखि आयातको प्रवाह बढेकाले केही आशावादी भने रहेको बताए ।


भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) ले नेपालका लागि कोलकाता बन्दरगाहबाट रेलमार्फत हुने कन्टेनर ढुवानीमा ईसीटीएस लगाएर बन्दरगाहको भन्सार प्रक्रिया हटाउने तयारी गरेपछि त्यसको विरोधमा ढुवानी व्यवसायी र एजेन्ट आन्दोलनमा उत्रिएका थिए ।


नेपालको तेस्रो मुलुकसँगको व्यापारका अवरोध न्यूनीकरणमा सहजीकरण गरिरहेको कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र सरोकारवाला भारतीय निकायको चेतावनीपछि व्यवसायीहरू सोमबारदेखि आआफ्नो काममा फर्किएका छन् । रेलमार्फत हुने ढुवानी सोमबारदेखि सुरु भए पनि सडकबाट हुने ढुवानी शनिबारबाटै सुरु भएको छ । अब फागुन ३ देखि इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम कार्यान्वयनसमेत हुने भएको छ ।


ढुवानी व्यवसायी र एजेन्टको आन्दोलनका कारण कोलकाता बन्दरगाहमा चार सयभन्दा बढी कन्टेनर थुप्रिएका छन् । वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहबाट फिर्ता गएका आधा दर्जन बढी र्‍याकमा रहेका कन्टेनर समयमा अनलोड हुन पाएनन् । कतिपय रेल बाटोमै रोकिए । हडतालको प्रभाव यहाँका दुवै भन्सारको राजस्व असुलीमा पर्न गयो ।

प्रकाशित : माघ २५, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?