९० प्रतिशत अम्रिसो भारत निर्यात

मोरङसहित पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको स्रोत
देवनारायण साह

मोरङ — पूर्वी पहाडका किसानले यस वर्ष अम्रिसोको मूल्य पाएनन् । गत वर्ष ५० रुपैयाँ प्रतिकिलो बिक्री भएको अम्रिसो यस वर्ष ४०/४२ रुपैयाँमा मात्रै बिक्री भइरहेको उनीहरूको भनाइ छ ।

मोरङको लेटाङ बजारमा अम्रिसो बिक्री गर्दै कृषक । तस्बिर : देवनारायण/कान्तिपुर


अम्रिसो किन्न आउने भारतीय व्यापारीको संख्यामा कमी आएदेखि कृषकहरूले अम्रिसोको राम्रो मूल्य पाउन सकेका छैनन् । लेटाङ नगरपालिकाको वारंगीका कृषक काजीमान लिम्बुले यस वर्ष अम्रिसोको भाउ नै नपाएको गुनासो पोखे ।

Citizen


‘सबै वस्तुको मूल्य बर्सेनि बढदै गएको छ तर हाम्रो उत्पादनको मूल्य बर्सेनि घटदै गएको छ,’ उनले भने, ‘गत वर्ष ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको अम्रिसो यसपालि ४०/४२ रुपैयाँमा किन्न व्यापारीले मानेका छैनन् ।’ उनले १० रोपनीमा अम्रिसो लगाएका छन् । किसानबाट किनेको अम्रिसो व्यापारीहरूले ६० रुपैयाँ प्रतिकिलोमा बेच्ने गरेका छन् ।

केराबारी गाउँपालिका २ सिंहदेवीस्थित संगमटोलका खगेन्द्रप्रसाद जमरकट्टेलले मकै, तोरी, तरकारी फल्ने आठ रोपनी खेतमा अम्रिसो खेती गरेका छन् । यस वर्ष मूल्य नै नपाएको बताए । ‘अम्रिसो कृषकहरूका लागि बचत कोषसरह हो,’ उनले भने, ‘यसको आम्दानीले वर्षभरलाई अन्न किन्न र छोराछोरी पढाउन पुग्ने गरेको थियो तर यस वर्ष मूल्य नपाएर घाटा व्यहोर्नुपरेको छ ।’

नेपालमा उत्पादित ९० प्रतिशत अम्रिसो भारत निर्यात हुन्छ । मोरङको उत्तरी क्षेत्र, धनकुटा, इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, संखुवासभा, झापालगायत जिल्लाका कृषकहरू कोदो, फापर, मकैजस्ता बाली छाडेर अम्रिसोको व्यावसायिक खेती गर्दै आएका छन् ।

सिंहदेवीकै फाइबा टोलकी इन्द्रकुमारी लिम्बुले विगतमा सय रुपैयाँ प्रतिकिलोसम्म अम्रिसो बिक्री गरेको बताइन् । लेटाङ बजारमा मोरङको उत्तरी क्षेत्र, धनकुटा, इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, संखुवासभालगायत ठाउँबाट कृषकहरू अम्रिसो बिक्री गर्न आउने गरेका छन् । लेटाङ बजार अम्रिसो संकलन केन्द्र बनेको छ ।

लेटाङ ४ का अम्रिसो व्यापारी महेश मण्डलले लेटाङमा ३/४ जना अम्रिसोका व्यापारी रहेको बताए । उनले स्थानीय गोपाल बाह्रकोटीसँग मिलेर अम्रिसोको व्यापार गर्दै आएका छन् । ‘हामी कृषकसँग काँचो अम्रिसो खरिद गर्छौं,’ उनले भने, ‘त्यसलाई सुकाएर भारतीय व्यापारीलाई बेच्दै आएका छौं ।’ उनले यस वर्ष २ हजार ५ सय अम्रिसो खरिद गर्ने लक्ष्य लिएको बताए । मण्डलले गत वर्ष खरिद गरेको अम्रिसो नपाएर गोदाममै थन्किरहेको गुनासो पोखे ।

‘गत वर्ष २ हजार क्विन्टल अम्रिसो प्रतिकिलो ५० रुपैयाँको दरले खरिद गरेका थियौं,’ उनले भने, ‘भारतीय व्यापारीले ४०/४५ रुपैयाँ प्रतिकिलोको दरमा मात्रै किन्ने भएकाले घाटामा बिक्री गर्नुभन्दा थन्काएर राखेका छौं ।’

लेटाङका लोकबहादुर लिम्बु र विराटनगरका मनोज साहले पनि संयुक्त रूपमा अम्रिसोको व्यापार गर्दै आएका छन् । उनीहरूले यस वर्ष तीन हजार क्विन्टल अम्रिसो खरिद गर्ने बताए ।

प्रकाशित : माघ २५, २०७५ ०८:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपाल–भारत वाणिज्य सहसचिवस्तरीय वार्ता, व्यापार घाटामा भारतको चासो

कान्तिपुर संवाददाता

पोखरा — नेपाल–भारत वाणिज्य सन्धिसम्बन्धी सहसचिवस्तरीय दोस्रो बैठक बिहीबार पोखरामा सुरु भएको छ । परराष्ट्र, कानुन, अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सम्मिलित बैठकमा नेपाली टोलीको नेतृत्व रविशंकर सैंजु र भारतीय टोलीको नेतृत्व भुपिन्दरसिंह भल्लाले गरेका छन् ।

पोखरामा बिहीबार सुरु नेपाल–भारत वाणिज्य सन्धिसम्बन्धी सहसचिवस्तरीय दोस्रो बैठकका सहभागी । परराष्ट्र, कानुन, अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित बैठकमा दुवै देशका १६ जना सहभागी छन् । तस्बिर : भीम घिमिरे/कान्तिपुर 

शुक्रबारसम्म चल्ने बैठकले दुई देशबीच व्यापार सहजीकरणकरणका साझा एजेन्डा तय गर्ने नेपाली टोली संयोजक सैंजुले बताए । ‘गएको साउनमा दिल्लीमा पहिलो बैठक भएको हो,’ उनले भने, ‘धेरै कुरा नयाँ छैनन्, हामीलाई चाहिएका कुरामा यतिबेला भारतीय पक्ष सकारात्मक छ ।’

पारस्परिक रूपमा सुविधा दिनेसम्बन्धीकेही बुँदामा संशोधन गर्नुपर्ने र नेपालमा भारतीय लगानीसमेत प्रवद्र्धन हुने गरी वाणिज्य सन्धि पुनरावलोकन गर्नुपर्ने विषयमा छलफल भइरहेको उनले बताए । ‘भारतसँगको व्यापारमा आएका अवरोधका विषयहरूमा हामीले गर्नुपर्ने तयारीका कुराहरूमा पनि छलफल भइरहेको छ,’ उनले भने, ‘एजेन्डा थुप्रै भएकाले यो बैठकले मात्रै सबै समेट्छ भन्ने लागेको छैन । तर, तुलनात्मक रूपमा भारतीय पक्ष लचिलो देखिएकाले हामीले वाणिज्य सन्धिलगत्तै पारवहन सन्धि र रेलसेवा सम्झौतासमेत नवीकरण गर्नुपर्ने भएकाले त्यहीअुनसारको तयारी गरेका छौं ।’

२०६६ कात्तिकमा संशोधनसहित पुनरावलोकन भएको नेपाल–भारत वाणिज्य सन्धि २०७३ कात्तिकमा नवीकरणभएको थियो ।

वाणिज्य सन्धि सात/सात वर्षमा नवीकरण हुँदा संशोधन गर्दै जाने अभ्यास भए पनि बीचमा राजनीतिक संवादमा आएको समस्या अहिले हटेको उनलेबताए । ‘हामीसँग मुख्य एजेन्डा हाम्रा कृषि उत्पादन भारतीय बजारमा पठाउँदा सजिलो हुनुपर्‍यो, व्यापार घाटामा सुधार, व्यापारिक उत्पादनका लागि पूर्वाधार सुधारका कुरा पनि छन्,’ उनले भने, ‘यो बैठकमा उठेका एजेन्डामा हामी दुवै पक्षले आआफ्ना स्टेक होल्डरमा लगेर केके गर्न सकिन्छ भनेर पुन: छलफमा बस्छौं ।’

नेपालको बढदो व्यापार घाटा कसरी कम गराउन सकिन्छ भन्नेमा भारतीय पक्ष गम्भीर रहेको पाइएको उनले बताए ।

प्रकाशित : माघ २५, २०७५ ०८:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT