कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

९० प्रतिशत अम्रिसो भारत निर्यात

मोरङसहित पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको स्रोत
देवनारायण साह

मोरङ — पूर्वी पहाडका किसानले यस वर्ष अम्रिसोको मूल्य पाएनन् । गत वर्ष ५० रुपैयाँ प्रतिकिलो बिक्री भएको अम्रिसो यस वर्ष ४०/४२ रुपैयाँमा मात्रै बिक्री भइरहेको उनीहरूको भनाइ छ ।

९० प्रतिशत अम्रिसो भारत निर्यात


अम्रिसो किन्न आउने भारतीय व्यापारीको संख्यामा कमी आएदेखि कृषकहरूले अम्रिसोको राम्रो मूल्य पाउन सकेका छैनन् । लेटाङ नगरपालिकाको वारंगीका कृषक काजीमान लिम्बुले यस वर्ष अम्रिसोको भाउ नै नपाएको गुनासो पोखे ।


‘सबै वस्तुको मूल्य बर्सेनि बढदै गएको छ तर हाम्रो उत्पादनको मूल्य बर्सेनि घटदै गएको छ,’ उनले भने, ‘गत वर्ष ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको अम्रिसो यसपालि ४०/४२ रुपैयाँमा किन्न व्यापारीले मानेका छैनन् ।’ उनले १० रोपनीमा अम्रिसो लगाएका छन् । किसानबाट किनेको अम्रिसो व्यापारीहरूले ६० रुपैयाँ प्रतिकिलोमा बेच्ने गरेका छन् ।


केराबारी गाउँपालिका २ सिंहदेवीस्थित संगमटोलका खगेन्द्रप्रसाद जमरकट्टेलले मकै, तोरी, तरकारी फल्ने आठ रोपनी खेतमा अम्रिसो खेती गरेका छन् । यस वर्ष मूल्य नै नपाएको बताए । ‘अम्रिसो कृषकहरूका लागि बचत कोषसरह हो,’ उनले भने, ‘यसको आम्दानीले वर्षभरलाई अन्न किन्न र छोराछोरी पढाउन पुग्ने गरेको थियो तर यस वर्ष मूल्य नपाएर घाटा व्यहोर्नुपरेको छ ।’


नेपालमा उत्पादित ९० प्रतिशत अम्रिसो भारत निर्यात हुन्छ । मोरङको उत्तरी क्षेत्र, धनकुटा, इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, संखुवासभा, झापालगायत जिल्लाका कृषकहरू कोदो, फापर, मकैजस्ता बाली छाडेर अम्रिसोको व्यावसायिक खेती गर्दै आएका छन् ।


सिंहदेवीकै फाइबा टोलकी इन्द्रकुमारी लिम्बुले विगतमा सय रुपैयाँ प्रतिकिलोसम्म अम्रिसो बिक्री गरेको बताइन् । लेटाङ बजारमा मोरङको उत्तरी क्षेत्र, धनकुटा, इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, संखुवासभालगायत ठाउँबाट कृषकहरू अम्रिसो बिक्री गर्न आउने गरेका छन् । लेटाङ बजार अम्रिसो संकलन केन्द्र बनेको छ ।


लेटाङ ४ का अम्रिसो व्यापारी महेश मण्डलले लेटाङमा ३/४ जना अम्रिसोका व्यापारी रहेको बताए । उनले स्थानीय गोपाल बाह्रकोटीसँग मिलेर अम्रिसोको व्यापार गर्दै आएका छन् । ‘हामी कृषकसँग काँचो अम्रिसो खरिद गर्छौं,’ उनले भने, ‘त्यसलाई सुकाएर भारतीय व्यापारीलाई बेच्दै आएका छौं ।’ उनले यस वर्ष २ हजार ५ सय अम्रिसो खरिद गर्ने लक्ष्य लिएको बताए । मण्डलले गत वर्ष खरिद गरेको अम्रिसो नपाएर गोदाममै थन्किरहेको गुनासो पोखे ।


‘गत वर्ष २ हजार क्विन्टल अम्रिसो प्रतिकिलो ५० रुपैयाँको दरले खरिद गरेका थियौं,’ उनले भने, ‘भारतीय व्यापारीले ४०/४५ रुपैयाँ प्रतिकिलोको दरमा मात्रै किन्ने भएकाले घाटामा बिक्री गर्नुभन्दा थन्काएर राखेका छौं ।’


लेटाङका लोकबहादुर लिम्बु र विराटनगरका मनोज साहले पनि संयुक्त रूपमा अम्रिसोको व्यापार गर्दै आएका छन् । उनीहरूले यस वर्ष तीन हजार क्विन्टल अम्रिसो खरिद गर्ने बताए ।

प्रकाशित : माघ २५, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?