भारतमा घट्यो ब्याजदर

नयाँदिल्ली — नेपालमा बैंकको ब्याजदर घटाउन दबाब दिन व्यवसायीहरू आन्दोलित रहेका बेला यता भारतमा भने रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ब्याजदर घटाउने निर्णय गरेको छ ।

भारतमा घट्यो ब्याजदर

बिहीबार आरबीआई गभर्नर शक्तिकान्त दासको अध्यक्षतामा बसेको मौद्रिक नीति समितिको बैठकले ० दशमलव २५ बिन्दुले ब्याजदर घटाउने निर्णय गरेको हो । यो निर्णयपछि रिपो दर ६.२५ कायम भएको छ ।


आरबीआईको बैंकहरूलाई प्रवाह हुने ऋणको ब्याजदर (रिपो दर) घटाउने बिहीबारको निर्णयले बैंकहरूको लागत घट्न गई सर्वसाधारणले लिने रिटेल कर्जाको ब्याज पनि कम हुने अपेक्षा गरिएको छ । यसबाट विशेष गरी घर कर्जा सस्तो हुन गई मन्दीको अवस्थाबाट गुज्रिरहेको भारतको रियल स्टेट क्षेत्रमा पुन: चहलपहल बढ्ने अनुमान पनि गरिएको छ ।


ब्याज दरमा आएको कमीले अतिरिक्त सवारी र व्यक्तिगत कर्जासमेत सस्तो हुने आकलन गरिएको छ । त्यसैगरी समग्र उपभोग वृद्धि हुने र त्यसबाट पूरै अर्थतन्त्रलाई थप गति दिने विश्वास आरबीआईले गरेको छ ।


यद्यपि ब्याजदरमा भएको गिरावट सिधै आमसर्वसाधारसम्म प्रवाह हुनेछ भन्ने निश्चित भने छैन ।

आजको निर्णयसँगै आरबीआई कसिलो मौद्रिक नीतिको आफ्नो पूर्व अडानबाट समेत पछि हटेको छ । दासका पूर्ववर्तीहरू रघुराम राजन र उर्जित पटेलले ब्याजदर घटाउन चौतर्फी दबाब परे पनि टसमस भएका थिएनन् ।


त्यही अडानका कारण नरेन्द्र मोदी नेतृत्वको सरकार र आरबीआईबीचको सम्बन्ध सहज बन्न सकेको थिएन । कतिपय विश्लेषहरू गत महिना पूर्वगर्भनर पटेलले पदबाट आकस्मिक राजीनामा दिनुलाई त्यही असहज सम्बन्धको उत्कर्षका रूपमा समेत अथ्र्याएका छन् ।

प्रकाशित : माघ २५, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?