अरुण तेस्रोको पावर हाउसमा बम विस्फोट, सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति

प्रजिअसहितको टोली घटनास्थलमा
दिपेन्द्र शाक्य

संखुवासभा — ९ सय मेगावाटको संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस पुखुवामा अज्ञात समूहले बम विस्फोटन गराएका छन् । बिहीबार राति चिचिला गाउँपालिका–३, पुखुवामा रहेको पावरहाउसस्थलमा ३ वटा बम विस्फोट गराएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए ।

अरुण तेस्रोको पावर हाउसमा बम विस्फोट, सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति

घटनाको थप जानकारी लिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्ला प्रहरी कार्यालयका डिएसपी श्याम सारुमगर मगर घटनास्थल पुगेका छन् ।



बम विस्फोटनबाट पानी निकाल्ने सुरुङमा रहेको सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ । पावरहाउस रहेको कार्यालयको करिब १ सय ५० मिटर टाढा तीन वटा बम विस्फोट भएको प्रहरीको भनाइ छ । बम विस्फोटन गराउने समूहको खोजी भइरहेको प्रहरी निरीक्षक पण्डितले बताए । विष्फोट किन र कस्ले गर्‍यो भन्ने अझै खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी र सेनाको टोली राखिएको छ । पटकपटक बम बिस्फोट भएपछि पुखुवामा सेना र प्रहरी सुरक्षाका लागि राखिएको थियो ।


बम बिस्फोट गराउने समूह सुरक्षा निकायको घेरा नाघेर जानसक्ने अवस्था नरहेको स्थानीयले बताए । घटनास्थल सदरमुकाम खाँदबारीबाट ५ घण्टा टाढा पर्छ । सञ्चार सेवा नभएका कारण अझै घटनास्थलको बिस्तृत विवरण आइसकेको छैन । घटनाको जिम्मा अहिलेसम्म कसैले लिएका छैनन् ।


सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत् उत्पादन हुनेछ । यस बहुचर्चित परियोजनामा भारतीय सतलज कम्पनीले काम गरिरहेको छ ।


भारत भ्रमणको समयमा वैशाख २८ गते प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नुमको फ्याक्सिन्दामा रहेको अरुण तेस्रोको शिलान्यास गरेका थिए । त्यसयता सतलज कम्पनीले कामलाई तीव्रता दिएको छ ।

प्रकाशित : माघ २५, २०७५ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?