हिमपातले किसान हर्षित

बझाङ — दशकयताकै ठूलो हिमपातका कारण बझाङका किसानहरू हर्षित भएका छन् । हिमपात नहुँदा खेतीपातीमा असर पर्न थालेकामा चिन्तित किसानहरू माघमा पटकपटकको बाक्लो हिमपातले खुसी भएका हुन् । 

पछिल्लो पटक बिहीबारबाट लगातार हिउँदे झरीसँगै जिल्लाका अधिकांश स्थानमा हिमपात भएको छ । ‘धेरै वर्षपछि गतिलो हिउँ परेको छ । यस वर्ष बालीनाली सप्रिन्छ,’ बित्थडचिर गाउँपालिका स्याडीका किसान मानबहादुर बोहराले भने, ‘यो वर्ष ८/१० वर्ष पछिको ठूलो हिउँ परेको हो ।’


वर्षौंसम्म पर्याप्त हिमपात नभएका कारण यहाँका हिमाली तथा उच्च पहाडी क्षेत्रका बासिन्दाहरूले पाखो जग्गामा खेती लगाउन छाडेका थिए । ‘यो वर्ष राम्रै हिउँ परेको छ । सबै किसानहरू वर्षे आलु लगाउने सुरसारमा छन्,’ बित्थडचिरकै अर्का किसान मन्नो बोहोराले भने, ‘यसै गरी प्रत्येक वर्ष हिउँ परिदिए त खेतीपाती राम्रै हुन्छ ।’ उनले जमिनमा धेरै समयसम्म बाक्लो हिउँ जमेका कारण हिउँदे बालीलाई पनि फाइदा हुने र वर्षेबालीमा पनि रोग किराको संक्रमण कम हुने आशा व्यक्त गरे ।


पटक पटकको हिमपातका कारण साविकका काँडा, सुर्मा, दौलीचौर, दहबगर, दाँतोला, मेलबिसौना, रिलु, मष्टा, धमेना, सुनिकोट, देउलेक स्याडी, लेकगाउँ, भामचौरलगायत गाविसहरूमा एकदेखि तीन फिटसम्म हिउँ जमेको छ ।


यार्सा तथा जडीबुटी संकलन क्षेत्रका रूपमा रहेको साइपाल गाउँपालिकाको राइढुंगी, माझा, फरालखेत, स्यांगवन र सुर्मा गाउँपालिकाअन्तर्गतका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखी, ठाडे, जर्सी, गोलढुंगालगायत क्षेत्रमा पाँच फिटसम्म हिउँ जमेको स्थानीयबासीले बताए ।


जडीबुटी उत्पादन बढ्ने

पाटन क्षेत्रमा पनि पर्याप्त हिउँ परेकाले यार्सालगायत जडीबुटीको उत्पादनमा पनि वृद्धि हुने संकलकहरूले बताएका छन् । ‘यो वर्ष पाटनमा पनि राम्रै हिउँ पर्‍यो,’ सुर्माका जडीबुटी संकलक गणेश बोहोराले भने, ‘अघिल्लो वर्षभन्दा यार्चागुम्बु पनि बढी पाइने हाम्रो अनुमान छ ।’ पाटनतिर बाक्लो हिउँ परेको वर्ष कम उचाइका ठाउँमा पनि राम्रो गुणस्तरको यार्चा पलाउने उनको अनुभव छ ।

यता निरन्तरको वर्षा र हिमपातसँगै जिल्लामा जाडो पनि हवात्तै बढेको छ । हिमाली भेगहरूमा बाक्लो हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर भएको छ । हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको सुर्मा गाउँका गोरखबहादुर बोहोराले बताए ।


‘जाडोले कोही पनि घरबाहिर निस्कन सकेको छैन,’ उनले भने, ‘पशुवस्तुको आहारा र चरनको पनि समस्या भएको छ ।’ पशुको चरन क्षेत्र पनि हिउँले पुरिएपछि खान नपाएर बाख्राहरू मर्न थालेको उनले बताए ।


लगातारको हिमपातले माघको सुरुमै बन्द भएका उत्तरी क्षेत्रका विद्यालयहरू अहिलेसम्म पनि खुल्न सकेका छैनन् । हिमपातका कारणले जिल्लाको टेलिफोन, इन्टरनेट र विद्युत् सेवा पनि अनियमित भएको छ ।


यस्तै जिल्लामा सञ्चालित ६ वटा रेडियोको प्रसारण सेवा बन्द भएको छ । रेडियोलाई उर्जा आपूर्ति गर्ने सोलार स्टेसनलाई हिउँले ढाकेपछि उर्जा आपूर्ति नहुँदा प्रसारण बन्द गर्नुपरेको रेडियो सेतीका स्टेसन प्रबन्धक रमेश केसीले जनाए ।


सौर्य प्रणालीबाट सञ्चालन भइरहेका यस जिल्लाका साइपाल एफएम, सेती एफएम, रेडियो बझाङ, खप्तड आवाज, सेरोफेरो र रेडियो जनमुखीका प्रसारण सातादेखि रोकिएको छन् 

प्रकाशित : माघ २७, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?